थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार ८:४०:२
३० फागुन, महेन्द्रनगर (कञ्चनपुर) । कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।
सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, पहिरन र परिवारसहितको थारू गाउँ मेला–महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारू समुदाय यतिबेला सुदूर, लुम्बिनी र कर्णाली प्रदेशमा सक्रिय छन् । पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारू गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारू समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राखिने बताएका छन् ।
“यहाँबाट कैलालीको बौनिया र चिसापानी सोल्टामा पनि महोत्सव आयोजकले बोलाइसकेका छन्”, कुश्मीले भने, “थारूको परम्परागत नृत्यदेखि परिकारसम्म एउटै थलोमा पाउँदा मेला अवलोकनकर्ताको प्रमुख आकर्षण नै थारू गाउँ बन्छ ।” थारू गाउँको सञ्चालक बन्नुअघि मेलामा लत्ताकपडाको व्यापार गरेका कुश्मीले गर्मीयाम सुरु भएसँगै मेला–महोत्सवमा कमी आउने भएपछि आफूहरू खेतीपातीमा लाग्ने गरेको बताए ।
“महेन्द्रनगरमा अहिले १२ स्टलको थारू गाउँ छ भने आठ स्टल सुर्खेत र बाँकी दिपायलमा गएको छ”, उनले भने, “अब दार्चुलामा जाने कुरा भइरहेको छ ।” उनले महोत्सवमा चहलपहल बढी भएका बेला प्रतिस्टलले रु एकदेखि रु एक लाख ५० हजारसम्मको कारोबार गर्ने गरेको बताइन् । थारू गाउँमा परम्परागत पहिरनमा थारू युवायुवतीले नृत्य देखाउनुका साथै परिकारको स्वाद दिने गर्छन् ।
“थारू परिकार घोङ्गी, गङ्गटा, मुसा, ढिक्री, माछा र मासुका अन्य परिकार, अन्धी चामलको भात, जाँड र घोङ्गीलगायतका परिकार थारू गाउँमा उपलब्ध हुन्छ”, कुश्मीले भने, “ परिकार बिक्रीवितरण गर्दा यिनै परिकारको स्वादले धेरैलाई तान्छ ।”
मेलामा स्टल राख्ने क्रममा कैलाली, कञ्चनपुरका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट पूर्वमा दाङसम्म पुगेको उनीहरूको भनाइ छ । “अब वैशाखपछि हामी खेतीपातीमा लाग्छौँ । मेला–महोत्सवबाट भएको आम्दानीले घरखर्च चलाउँछौँ, ” उनले भने ।
कञ्चनपुर पर्यटन महोत्सवमा थारू संस्कृति झल्काउनुका साथै संरक्षणका लागि थारू गाउँ राखिएको थारू गाउँ स्टल संयोजक बेदप्रकाश चौधरीले बताए । “थारू कला, संस्कृतिसमेत प्रदर्शन गर्ने भएकाले गाउँमा प्रवेशका लागि प्रतिव्यक्ति रु २५ टिकट राखिएको हो”, उनले भने, “गाउँगाउँभित्र हाम्रो समुदायको सबैखाले पहिचान झल्किने कुरा हेर्न पाइन्छ ।” उनले थारू गाउँबाट थारू समुदायको आयस्रोत पनि बनिरहेको बताउँदै महोत्सवहरूमा थारू गाउँलाई महत्व दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ का लक्ष्मी चौधरीले पनि थारू गाउँमा मिसिएर होटल व्यवसायमा लागेको चार वर्ष भयो । “यो व्यवसायमा लाग्नुअघि धनगढीमा मजदुरी गर्थेँ”, उनले भनिन्, “श्रीमान् अहिले पनि मजदुरी गर्छन् म मेला–महोत्सवमा स्टल राखेर खटिएको छु ।” उनले विभिन्न थारू परिकारका लागि कच्चा पदार्थ पाउन मुस्किल हुने गरेको बताइन् ।
“कतिपय खानेकुरा त अहिले पनि भारतबाट मगाउनुपर्छ । यसपालि लम्कीबाट ल्याइरहेका छौँ,” उनले भनिन् । उनले थारू गाउँमा परम्परागत परिकार अवलोकनकर्तालाई खुवाउन पाउँदा खुसी लाग्ने गरेको बताइन् । “मेला सकिएपछि धनगढीमा भाडामा लिएको १० कठ्ठा जमिनमा खेतीको तयारीमा लाग्छु”, उनले थपिन्, “पछिल्लो समय मेला–महोत्सवमा प्रदर्शनी कक्ष लगाउँदा ठिकै आम्दानी हुने गर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार