कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन


Share This


नेपालबहस संवाददाता    47 Views

३० असार काठमाडौं । कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन भएको छ । निमोनियाबाट पीडित उनको उपचारका क्रममा बिहीबार बेलुका ग्रान्डी अस्पतालमा निधन भएको हो ।

ब्रोङकाइटिस, श्वासप्रश्वास, पिसाबलगायतका समस्याले ग्रस्त ९२ वर्षीय जोशीको पछिल्लो समय निमोनिया बिग्रेको थियो । २१ असारसम्म ललितपुरको अल्का अस्पतालमा उपचार गरेका उनलाई एक साताअघि ग्रान्डीमा भर्ना गरिएको थियो । भतिजा विष्णुका अनुसार केही समयता जोशीको स्मरण शक्ति पनि कमजोर बन्दैै गएको थियो । मिर्गौला र फोक्सोमा समेत असर देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

जोशीको पार्थिव शरीर शुक्रबार बिहान श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिनेछ । शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरेको छ ।

भारत स्वतन्त्र हुनुअघि नेपालमा प्रजातन्त्र स्थापनार्थ बिपी कोइरालाले संघर्षका लागि युवाहरूलाई संगठित हुन आह्वान गरे । प्रवासमा रहेका गणेशमान सिंहसहित अन्य नेताहरूसँग छलफल गरेपछि सबैको सल्लाहमा सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरियो । त्यसमा जोशीको पनि योगदान रहेको थियो । टंकप्रसाद आचार्यलाई सर्वसम्मत पार्टी सभापति बनाउन उनले पहल गरेका थिए । आचार्य काठमाडौंमा जेल परेपछि बिपीलाई कार्यबाहक सभापति बनाइयो । १२ सदस्यीय कार्यसमिति गठन हुँदा जोशीले अरूलाई मौका दिएर आफू सदस्य नभई पार्टीमा क्रियाशील रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार