स्कूटरको हेरचाह यसरी गर्न सकिन्छ :-


Share This


नेपालबहस संवाददाता    127 Views

५ साउन, काठमाडौं । महिलाहरूको शौख र आवश्यकताको साधनको रूपमा रहेको स्कूटरप्रति विस्तारै पुरुष वर्ग पनि आकर्षित हुँदै गएका छन् । चलाउन सजिलो भएकै कारण यो साधन अब सबैको प्यारो बनिसकेको छ । अगाडिको भागमा ग्यास सिलिण्डर, चामलको बोरासम्म राख्न मिल्ने भएकाले पनि घरायसी साधनको रूपमा यो लोकप्रिय हुँदै हुन थालेको छ ।

बच्चादेखि बुढापाकासम्मले सजिलै चलाउन मिल्ने भएकाले घरको शपिङ र अन्य प्रयोजनका लागि स्कूटर अपरिहार्यजस्तै भइसकेको छ । बजारमा अहिले धेरै अटोमेटिक स्कूटर उपलब्ध छन् । चलाउन सजिलो भएको कारण पनि यसको लोकप्रियता बढेको हो । केही वर्ष अघिदेखि अटोमेटिक स्कूटरको बजार तीव्र गतिमा बढिरहेको छ । यही स्कूटर दुर्घटना भयो भने काम नै नलाग्नेगरी बिग्रन्छ । त्यसैले, यसलाई अलि बढी जतनपूर्वक चलाउनुपर्छ । हेरचाहमा ध्यान दिइएन भने स्कूटरकै कारण पनि दुर्घटनाको खतरा हुन्छ ।

सर्भिसिङ
हरेक मेशिनरी सामानको समय–समयमा सर्भिसिङ गर्नु जरुरी छ । सर्भिसिङ गरेमा बाटोमो बिग्रिने सम्भावना कमै मात्र हुन्छ । यसो गर्दा कुनै पार्ट्स फेर्नुपर्ने भए पूर्व जानकारी पनि मिल्छ । स्कूटरलाई पनि मोटरसाइकललाई जस्तै २ हजारदेखि २ हजार ५ सय किलोमिटर चलाइसकेपछि सर्भिसिङ गुर्नपर्छ । सर्भिसिङ गर्दा इञ्जिन आयल पनि परिवर्तन गर्नुपर्छ । सर्भिसिङ भरसक आधिकारिक सर्भिस सेण्टरमा गराउँदा जोखीम कम हुन्छ ।

ब्याट्री
स्कूटरको ब्याट्री पनि नियमित चेक गर्न आवश्यक छ । अटोमेटिक स्कूटरमा किकको प्रयोग कम हुने र सेल्फ स्टार्टको प्रयोग धेरै हुने कारण यस्ता स्कूटरको ब्याट्रीको आयु कम हुने गर्छ । त्यसैले, सानो समस्या हुनेबित्तिकै ब्याट्रीको जाँच गराउनु राम्रो हुन्छ । यसको झन्झट हुन नदिन अहिलेका नयाँ स्कूटरमा मेण्टिनेन्स फ्री ब्याट्रीको प्रयोग गरिन्छ ।

किक गर्ने तरीका
ब्याट्री खराब भएर सेल्फ स्टार्ट नभएमा स्कूटर स्टार्ट गर्न किक गर्नुपर्छ । किक गर्ने पनि तरीका हुन्छ । तरीका मिलेन भने किक गरेर स्टार्ट गर्न मुश्किल पर्छ । किक गर्नुभन्दा अघि स्कूटरलाई डबल स्ट्याण्डमा पार्क गर्नुपर्छ । त्यसपछि किक हान्नुपर्छ । किक गर्नुअघि पछाडिको पाङ्ग्राले भुइँ छोएको छ कि छैन हेर्नुपर्छ । किनभने, किक गर्द पछाडिको पाङ्ग्रा घुमेपछि मात्र स्टार्ट हुन्छ । स्कूटर भएको जमीन समतल हुनु पनि जरुरी हुन्छ । यसले किक गर्न सजिलो हुन्छ ।

एक्सिलेटर
अटोमेटिक स्कूटर स्टार्ट गर्दा एक्सिलरेटर दबाउनु जरुरी छैन । किनभने, यस्ता स्कूटरहरू एक अथवा दुई किकमै स्टार्ट हुन्छन् । स्कूटर स्टार्ट भइसकेपछि यसलाई २–४ मिनेट त्यसै छोडिदिनुपर्छ । यसले स्कूटरको इञ्जिन तात्छ अनि आरामसँग यात्रा गर्न सकिन्छ ।

सेल्फ स्टार्ट
ब्याट्री खराब भएपछि सेल्फ स्टार्टले काम गर्दैन । त्यसैले, स्कूटरको ब्याट्री परिवर्तन गर्न जरुरी हुन्छ । यसो नगरिएमा किक गरेर स्कूटर स्टार्ट गर्नुपर्ने हुन्छ । यसले अटोमेटिक स्कूटर चलाउने इच्छा पूरा हुँदैन । यो एक सजिलो कम्युटिङ साधन भएकाले यसलाई राम्ररी प्रयोग गरेमा यसले लामो समयसम्म साथ दिन्छ ।

ब्रेक
यदि तपाईं स्कूटर चलाउँदै हुनुहुन्छ भने आकस्मिक अवस्था आउँदा आफ्नो खुट्टा स्कूटरमै राखेर ब्रेक लगाउनुहोस् । यस्तो बेला आत्तिनु हुँदैन । स्कूटर थोरै यताउता भए पनि केही समयमै पुनः आफ्नो लाइनमा आउँछ । धेरै मानिस यस्तो अवस्थामा पहिले खुट्टा भुइँमा राख्छन् अनि ब्रेक लगाउने गर्छन् । यस्तो गर्दा कारण चोट लाग्ने सम्भावना बढी हुन्छ ।

साइड मिरर
आजभोलि स्कूटर अथवा मोटरसाइकलमा स्टाइल दिन साइड मिरर निकालेर चलाउने गरेको पाइन्छ । तर, यात्रा गर्दा यस मिररको पनि मुख्य भूमिका हुन्छ । स्कूटरको गति अन्य सवारीसाधनको तुलनामा कम हुन्छ । यस्तो अवस्थामा पछाडि आइरहेको सवारीसाधनलाई ध्यान दिन सकिएन भने दुर्घटना हुने सम्भावना बढी हुन्छ । साइड मिरर सुरक्षाको साधन हो, जसले चालकलाई यात्रामा धेरै सहज बनाइदिन्छ । त्यसैले, यसको प्रयोग गरेमा दुर्घटनाबाट जोगिन सघाउ पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार