एन्फा बैठक निष्कर्षविहीन , कारबाहीको प्रसंग उठेपछि बैठकमा चर्काचर्की


Share This


नेपालबहस संवाददाता    96 Views

१२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग तथा थ्री स्टार क्लबको मागसम्बोधनलगायत अन्य समसामयिक तथा विभिन्न फुटबल गतिविधिहरूमाथि छलफल गर्न बोलाएको बैठक बुधबार निष्कर्षविहीन भएको छ । थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा सबैजसो सदस्यहरू सहमत भए पनि त्यसबेला गल्ती गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने माग उठेपछि बैठकमा चर्काचर्की भएको थियो ।

एन्फा बैठकमा लामो समयदेखि एन्फा लिग हुन नसक्दा फुटबल गतिविधि नै अवरुद्ध भएको भन्दै नेतृत्वको कडा आलोचना भएको थियो । बैठकमा लिग, महिला लिग, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू, एसियन कप छनोटलगायतका विषयहरूले प्रवेश पाए पनि विशेष गरेर बैठकमा थ्री स्टारको मुद्दा नै विशेष रूपमा उठेको थियो । यद्यपि बुधबारको बैठक निष्कर्षमा पुग्न नसकेको भन्दै पुनः बिहीबारका १ बजेका लागि बैठक बोलाइएको एन्फाका सीईओ इन्द्रमान तुलाधरले जानकारी दिए । उनले भने, ‘बैठक बुधबार नै एउटा निष्कर्षमा पुग्ने विश्वास गरिएको थियो यद्यपि विषयहरू जटिल भएकाले थप समय आवश्यक भएपछि बिहीबार फेरि बस्ने गरेर उठेका हौं ।’

विगत लामो समयदेखि फुटबल गतिविधिहरू कमजोर बनेको भन्दै पछिल्लो समय एन्फाको कडा आलोचना हुँदै आएको छ । ‘ए’ डिभिजन क्लबहरूले क्लबको मेरुदण्डका रूपमा रहेको लिग नै नहुँदा क्लबहरू कसरी चल्ने भनेर प्रश्न उठाउँदै आएका छन् । उनीहरूले नियमित प्रतियोगिता नहुँदा क्लबलाई आर्थिक भार बढ्दै गएको भन्दै पटक–पटक एन्फाको ध्यान आकर्षण गराइरहे पनि विभिन्न कारण देखाउँदै एन्फाले लिग गर्न सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार