राजपाको कमजोर आन्दोलनको अवस्था


Share This


नेपालबहस संवाददाता    192 Views

उपेन्द्र झा

प्रदेश नं. २ बाहेक सबै प्रदेशमा चुनाव भई सकेको छ । अहिलेसम्मको नतिजा अनुसार एमाले पहिलो, नेपाली काँग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थान लिन सफल भएका छन् । लोकतान्त्रिक फोरम, संसफो नेपाल र नयाँ शक्तिले लिएको आशा पूरा हुन सकेन, तथापि आफनो उपस्थिति भने दर्ज गराएका छन् ।

राजपा मधेश मुद्दा समातेर चुनावको विरूद्ध आन्दोलनमा एक्लै होमिएको छ । दोश्रो चरणको चुनावको मत गणना चलि रहँदा एमालेले संशोधन प्रस्ताव पास गरि २ नं. प्रदेशको चुनाव गराउने भने पनि मतगणनाको आखिरमा संशोधन प्रस्ताव पास गराउने आश्वासनबाट स्खलित भएको छ । स्थानिय चुनावमा शीर्ष स्थानमा उक्लेपछि चुनावपछि नै संशोधन प्रस्तावमा विचार गरिने कुरा बोल्न थालेको छ । नेपाली काँग्रेसको सरकारले एमाले सहयोग नगरेपनि एक हप्ताभित्र संशोधन प्रस्ताव पास गरि राजपाका साथ चुनाव गराउने प्रतिबद्धता जनाएको छ । कमजोर दुई तिहाईको भरमा यो आश्वासनप्रति मधेश विश्वस्त भई रहेको छैन ।

स्थानिय चुनाव गराउने प्रदेश सरकारको अधिकार खोसी केन्द्र सरकारले बलपूर्वक चुनाव गराउनुको अर्थ प्रदेशमा आफनो एकाधिकार जमाउनु हो, यसमा शीर्ष तीन दल सफल पनि भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस अन्तर्वेदनाका कारण एमाले प्रतिपक्षमा बसेपनि स्थानिय चुनावमा धरातलीय एकाधिकार कायम गर्न पहिलो पार्टी बनेको छ । दोश्रो र तेश्रो स्थानमा नेपाली काँग्रेस र माओवादी केन्द्रलाई राखेर देशको लिडिङ पार्टीको रूपमा आई सकेपछि एमाले बिना यहाँ अब पत्ता पनि हल्लिन सक्दैन । नेपाली काँग्रेस दोश्रो स्थानमा आएपनि सशक्तता नभएका कारण संशोधन प्रस्ताव पास गराउन सफल होला जस्तो लाग्दैन । कमजोर दुईतिहाई जुटाउने प्रयास गरेपनि चरमपंथी एमालेको अगाडि नेपाली काँग्रेसको प्रयास एकछिन पनि टिक्न सक्दैन ।

एमालेको सल्लाहबिना ल्याईएको संशोधन प्रस्ताव फिर्ता गरि सहमतिमा आउने प्रस्तावमाथि मात्र एमाले छलफल गर्न सक्ने नेताहरूको अभिव्यक्ति आई रहेको छ । प्रदेश नं. १, ५ र ७ मा चुनावभन्दा पूर्व शक्तिकेन्द्रसंग समेत सहयोगका लागि झुक्ने एमाले दोश्रो चरणको चुनावमा नतिजा आफनो पक्षमा आएदेखि अब ऊ शक्तिकेन्द्रलाई पनि नटेरि कठोर निर्णय कायम राखेको छ । नतिजा आफनो पक्षमा आएको र यसमा आफनो प्रभाव मात्र देखेकोले सहयोगीहरू तीन छक्क परेका छन् । मधेशमा आफनो प्रभूत्व कायम गराउन अनेक शक्तिलाई गुहारेर नतिजा निकाल्न सफल एमाले आफनो सबै आश्वासन बिर्सेर अब नेपाली काँग्रेसलाई पनि धम्काउन थालेको छ ।

राजनीतिको विकट परिस्थितिमा नेपाली काँग्रेस र माओवादी सहजता ल्याउने प्रयास गरेपनि एमालेको विजयोन्मादले केही हुन दिंदैन । एमालेमा देखिएका सबै लचकता उसको विजयसंगै हटेको छ । मधेशलाई आत्मसमर्पण गराउने एमालेको रणनीति कायम छ । यसै रणनीतिमा सरकारलाई पनि ल्याउने उसको जिद्द कायम छ । एमालेलाई चुनौती दिएर नेपाली काँग्रेस दुईतिहाईको मत संसदमा जुटाउन सक्दैन । सके ठूलो विजय मानिने छ ।

अप्ठ्यारामा सहयोग लिएर अगाडि बढ्ने र मनोकाँक्षा पूर्ण हुँदै लत्याउने एमालेको चरमपंथी विचार स्थानिय स्तरमा फेरि एकपल्ट आफनो प्रभूत्व कायम गर्न सफल देखिएको छ । प्रदेश नं. २ को चुनाव सबैको लागि अग्निपरीक्षाको रूपमा रह्ने छ । चुनाव हुने वातावरण बन्यो भने एमाले, नेपाली काँग्रेस, राजपा, ससफो, माओवादी र फोरम लोकतान्त्रिकको प्रदेश नं. २ मा कस्तो अवस्था रह्ने होला । पहिलो पार्टीको रूपमा उदाएको एमालेलाई यो प्रदेशको जनताले कतिको विश्वास गर्दछ, नेपाली काँग्रेस यस क्षेत्रबाट सभन्दा बढि सीट पाएकोले उसको अवस्था कस्तो हुनेछ र मधेशको लागि लडि रह्ने राजपा र ससफोलाई जनताले कति पत्याउँछ, यी सबैको लेखाजोखा प्रदेश नं. २ को चुनावले गर्छ ।

संशोधन प्रस्ताव पास नभई चुनावमा नजाने राजपाको अडान अद्यावधि कायम छ । ससफोले संशोधन प्रस्तावमा सघाउने कुरा गरेको छ । राप्रपा पनि संशोधन प्रस्तावको पक्षमा उभिने कुरा गरेको छ । नेपाली काँग्रेस पनि संशोधन प्रस्ताव पास गरेर चुनावमा जाने कुरा गरेको छ । दुई तिहाई जुट्ने सम्भावना पनि छ । एमाले संशोधन प्रस्तावको विरूद्धमा रहेकोले संशोधन हुने सम्भावना कम छ । बिना संशोधन राजपाले चुनावमा भाग लिंदैन । त्यसपछि आन्दोलनलाई अगाडि बढाउने राजपाको बाध्यता हुनेछ ।

आन्दोलनको अवस्था कस्तो होला— राज्यले चुनावमा प्रहरी, सशस्त्र तथा सेना सबैलाई उतारेको छ । राज्य संचालक तीनै शीर्ष दलहरू नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत नयाँ शक्ति, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम आदि सबै चुनाव लडि रहेका छन् । राजपा एक्लै संशोधन प्रस्ताव पास गराउन आन्दोलनमा उत्रेको छ । दोश्रो चरणको चुनावमा राजपाका कार्यकर्ताहरू विद्रोह गरि चुनावमा भाग लिएको दृश्य पनि देखियो । कतिपय नेताहरू पनि आन्दोलनप्रति आस्थावान देखिएका छैनन् । प्रदेश नंं. १ र ५ मा आन्दोलनको शिथिलताले चुनावलाई खासै प्रभाव पार्न सकेन । नेताहरूको द्वैध मानसिकताको परिणाम थियो । कमजोर आन्दोलनको अवस्थालाई हेरि मानव क्षति नगराउने उद्देश्यले निस्तेज पार्नु राजपाको बाध्यता थियो तैपनि सुन्सरीमा एकजना शहीद भएका छन् । दर्जनौं घाईते अवस्थामा उपचाररत छन् ।

मधेशको मुद्दा लिएर संघर्ष गरि रहेको राजपाको राजनीतिक वातावरण बिलकुल प्रतिकूल अवस्थामा छ । सबै शक्तिको विरूद्ध लड्नु पर्ने बाध्यता छ । मधेशको राजनीतिमा उदाएका ससफो पनि साथ दिने पक्षमा छैन् । दुवै मधेशी दलहरू पारस्परिक झगडामा उत्रेका छन् । ससफोले संशोधन प्रस्तावलाई पास गर्न सहयोग गर्ने भन्ने अभिव्यक्ति दिएका छन् । प्रक्रिया अगाडि बढ्यो भने मात्र । साना दलहरू संशोधन प्रस्तावको पक्षमा समर्थन दिएपनि प्रक्रियालाई दृढताका साथ अगाडि बढाउने नेपाली काँग्रेसमा ईच्छाशक्तिको अभाव छ । भएपनि ठीक नभएपनि ठीकको मनःस्थितिमा रहेको नेपाली काँग्रेस संशोधन प्रस्ताव पास गराउने प्रतिबद्धता देखाएपनि एमालेको दबावमा पर्न सक्ने सम्भावना छ । प्रदेश नं. २ मा संशोधन प्रस्ताव बिना चुनाव गराउने नेपाली काँग्रेस जसरी पहाडमा साफ भयो मधेशमा पनि समाप्त हुनेमा किञ्चित शंका छैन । राजपालाई आन्दोलनमा अल्झाएर जसरी चुनावलाई आफनो पक्षमा प्रयोग गरियो, प्रदेश नं. २ मा सबैको हिसाब किताब हुने कुरा कुनै शक्तिले बिर्सिनु हुन्न ।

सबै शक्ति विपक्षमा रहेपनि बाध्यात्मक आन्दोलनमा मधेशको असन्तुष्टता चरम सीमामा छ । कि संविधान संशोधन गराउने कि शहादत दिंदै राष्ट्रिय आन्दोलनको जग बसाल्ने बाध्यतामा परेको छ राजपा । मधेशले पनि राजपाको बाध्यता र निरीह परिस्थितिलाई हेरि रहेको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि बलपूर्वक गराई रहेको चुनावको निष्पक्षतालाई हेरि रहेको छ । दोश्रो चरणको चुनावमा कतिपय ठाउँमा जनताले मत खसाल्न नआएको अवस्थालाई सबैले हेरे । मधेशको माँग लिएर गरेको संघर्षलाई धकेल्न गरिएको चुनाव र मधेशको माँगलाई सम्बोधन गर्न नचाहने शीर्ष दलहरूको तानाशाही प्रवृतिलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकले राम्ररी बुझेका छन् ।

प्रदेश नं. २ मा आन्दोलनका कारण असोज २ गते सारिएको चुनाव तेश्रो चरणमा पुगेको छ । असोज ३ गते कथित संविधान दिवसलाई “कालो दिवस” र दीपावली गरेर मनाईने दिवसको पूर्व सन्ध्यामा चुनाव गराउने मिति रहेको र असोज ५ गते घटस्थापना परेकोले दशैंको मुखमा आन्दोलनबीच चुनाव गराउने सरकारको सपना कहिल्यै पूरा नहुने निश्चित छ । प्रदेश नंं. २ मा संशोधनबिना चुनाव गराउन सजिलो छैन । चुनावको नाममा मधेशलाई आत्मसमर्पण गराउने शीर्ष दलको रणनीति २ नं. प्रदेशमा आरपारको लडाईमा रूपान्तरण हुने पक्का छ ।

मधेशको आवाज सम्बोधन भएन भने मधेश मरेरै सिद्धिने निर्णयमा जानु पर्दछ । वर्गीय राजसत्ताको तानाशाही प्रवृतिले मधेशलाई चार टुक्रामा टुक्र्याएर आफनो वर्चस्व लादि सकेको छ । यो प्रदेशमा पनि आफनो वर्चस्व लाद्ने रणनीति लिएका तीनवटै दल जसरी पनि चुनाव गराउन चाहन्छ । यदि त्यसरी नै भयो भने राज्यले ठूलो मूल्य चुकाउने अवस्था आउन सक्दछ । (मधेश दर्पण फिचर सेवा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार