आईजी साप ! यिनलाई व्याँठे पालेको हो ?


Share This


नेपालबहस संवाददाता    4084 Views

१६ साउन,काठमाडौं । नेपाल प्रहरीमा यतिबेला घुमुवा आतंक छ । अर्थात बर्षौदेखि तराईका जिल्लाहरुमा हाकिमको घुमुवा भई आफु र हाकिमको सेवामा मस्ती मारिरहेका प्रहरीहरुको यतिबेला रुवाबासी चलेको छ तर सशस्त्र प्रहरीको हकमा भने जताततै मस्ती नै मस्ती चलिरहेको छ ।

हालैमात्र सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रहरी जवानदेखि हबल्दारसम्मको सरुवा गरेको छ । सो सरुवापछि सशस्त्रले सबै प्रहरीलाई आआफ्नो दरबन्दीमा तुरुन्त रवाना दिएर पठाउन परिपत्र पनि गरेको थियो । तर सिमा सुरक्षा कार्यालय महोत्तरी जलसागरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले भने आफ्ना बिशेष घुमुवाका रुपमा कार्यरत वरिष्ठ हबल्दार घनश्याम यादवलाई रवाना नदिई हेडक्वार्टरको आदेशको अटेरी गरिरहेको खबर छ । बिगत ६ बर्षदेखि महोत्तरी मै सशस्त्रको घुमुवाको रुपमा कार्यरत हबल्दार यादव सीमा क्षेत्रबाट हुने गरेको दुई नम्बरी धन्दाका बारेमा राम्रो जानकार रहेका छन् । घुमुवाका रुपमा काम गर्दा तस्करीको लाइन खुलाउन र मिलाउन यादव सिपालु प्रहरी हुन् ।

यतिबेला भारततर्फ हुने सुपारी र बालुवाको तस्करी नेपाल प्रहरीको आँखा छलेरै मौलाएको छ । हालै मात्र नेपाल प्रहरीको महोत्तरी प्रमुखमा बर्दिबास अख्तियारमा बसेर राम्रो काम गरेका एसपी राजकुमार लम्साल पुगेका छन् तर उनले तस्करी र लाईन सेटिङको भेउ पाउन सकिरहेका छैनन् । महोत्तरीमा यसअघिका एसपी नलप्रसाद उपाध्याय कारवाहीमा परेर हेडक्वार्टर तानिएपछि निमित्तको भरमा चलेको नेपाल प्रहरीको नेतृत्व र सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक रुपमा सुपारी ,ल्वाङ,मरिच , अलैची र बालुवाको तस्करी मौलाएको थियो । त्यतिबेला सशस्त्रका यी वरिष्ठ हबल्दार यादवले सीमा क्षेत्रबाट तस्करसँग राम्रै मिलेमतो र उठबस गरेका थिए । उनीसंगै तस्करीमा सेटिङ मिलाउने नेपाल प्रहरीका घुमुवा प्रहरी जवान राजीव पटेल भने तस्करसंग घुस असुलेको अभियोगमा निलम्बनमा परिसकेका छन् ।

तस्करी चलाउन ’सेटिङ’ मिलाएर तस्करसँग रकम लिने माहिर भएकाले नै हबल्दार यादवलाई एसपी श्रेष्ठले रवाना नदिई राखेको बताईन्छ । केहिदिन अघि भएको सरुवामा यादवको दरबन्दी भोजपुर सिसुका गुल्म टक्सारमा भएको छ । हेडक्वार्टरको सरुवापछि महोत्तरीबाट मात्रै ३५० जनाभन्दा बढिको आआफ्नो दरबन्दीमा रवाना भैसकेको एसपी श्रेष्ठले नै नेपाल बहसलाई जानकारी दिएका छन् । घुमुवा यादवलाई सप्रनि मातृका पौडेल र एसपी श्रेष्ठको बिशेष निगाहा भएकाले उनलाई तस्कर,व्यवसायी र प्रहरीबीच बजारमा व्याँठेको संज्ञा दिन थालिएको छ ।

एसपी श्रेष्ठसंग यसबारे प्रश्न गर्दा उनले नेपाल बहसलाई अकमकाई अकमकाई भने “ घुमुवा नै त होइन,राजनीतिक समाचार संकलन गर्न राखिएको हो,अरु सबैलाई रवाना दिई सकिएको छ ,५/७ जना महत्वपूर्ण स्टाफलाई कामको आधारमा राखिएको मात्र हो । केहि दिनमा काज सरुवा निस्कदा उसको दरबन्दी मिलिहाल्छ ।” एसपी श्रेष्ठका भनाईबाट पनि यादव उनकै हाकिमहरुबाट व्याठेका रुपमा पालितपोषित घुमुवा हुन् भन्ने प्रष्ट हुन्छ । आफु आउनु अगाडिदेखि नै यादव यसै जिल्लामा कार्यरत रहेको बताउदै सप्रउ श्रेष्ठले घुमाउरो भाषामा उसलाई काजमै भएपनि त्यहि राख्न चाहेको बताए । ६ बर्षको अवधिमा हाकिमलाई करोडपति र आफु लखपति भैसकेका यादवलाई निरन्तर त्यहि राख्नुको उद्देश्य नै ऊमार्फत तस्करीको सेटिङ मिलाउनु रहेको प्रष्ट हुन्छ । यसतर्फ इमान्दार कहलिएका आईजीपी सिंह बहादुर श्रेष्ठले चासो देखाउने हो कि ?

स्रोतका अनुसार महोत्तरीको सीमावर्ती क्षेत्रमा मौलाएको तस्करी, सीमा अपराध नियन्त्रण, अपराध अनुसन्धान एवं नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा यादवको भूमिका र काम कारवाही शंकास्पद बनेको भन्दै उनका गतिविधिमा अख्तियारले निगरानी बढाएको बताईन्छ । स्रोतका अनुसार भारतबाट नेपालतर्फ हुने कपडा, दैनिक उपभोग्य वस्तु, माछा, औद्योगिक कच्चा पदार्थ, कम्प्युटर तथा गाडीका पार्टपूर्जा लगायत र नेपालबाट भारततर्फ हुने सुपारी, गिट्टी, बालुवा, सुनचाँदी लगायतका वस्तु तस्करीमा घुमुवा यादवको प्रत्यक्ष संलग्नता देखिएको छ । यस्तो धन्दा उनले प्रमुख प्रकाश श्रेष्ठ र सप्रनि पौडेलको प्रत्यक्ष निर्देशनमा गर्ने गरेको दावी हाम्रो समाचार स्रोतको छ ।

भारतबाट नेपालतर्फ हुने लागूऔषध ओसारपसारमा पनि उनको भूमिका शंकास्पद देखिएको भन्दै एउटा निकायले सुक्ष्म अनुसन्धान थालेको बताईन्छ । घुमुवा यादवले तस्करीको लाईन चलाउनेसंग मासिक ३० हजारदेखि २ लाखसम्म उठाउने गरेको स्रोतको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार