पशुपतिनाथ र कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड


Share This


नेपालबहस संवाददाता    104 Views

३० साउन, काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ ।

बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको कोषका निर्देशक एवं पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिए ।

पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उनले जानकारी दिए । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहान पशुपतिको दर्शन गरेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीेले अपराह्न ४ः३० बजे दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

मध्याह्नसम्म पशुपतिमा दुई लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज साउनको अन्तिम सोमबारसँगै श्रीकृष्ण जन्माष्टमी पनि परेकाले भक्तजनको भीड उल्लेख्य छ । विशेषगरी महिला भक्तजनको उपस्थिति रहेको छ । साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने व्रत महिला पुरुष दुवैले लिनुपर्ने बताउँछन् ।

कृष्ण मन्दिरमा भक्तजनकोे भीड

पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताए। पूजाका लागि चाँपागाउँ, गोदावरी, पाटनवासीलगायत राजधानीका विभिन्न स्थानबाट व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै जात्रा मनाइने प्रचलन रहेको छ । सो क्षेत्रमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हरेक वर्ष राष्ट्रप्रमुखबाट पूजा गर्ने र प्रसाद ग्रहण गरिने प्रचलन रहँदै आएको छ ।

शिखरशैलीमा निर्मित सो मन्दिर राजा सिद्धीनरसिंह मल्लको पालामा निर्माण भएको हो । उक्त मन्दिरमा २१ वटा गजुर रहेको छन् । पाटन लगायत मुलुकभर रहेका कृष्णमन्दिरहरुमा उत्तिकै भिड बढेको छ ।

तपाईको प्रतिक्रिया