सडक अवरुद्ध हुँदा तरकारीको मूल्य अकाशीयो, झापामा अत्याधिक विषदीयुक्त तरकारी तथा फलफुल बजारमा


Share This


नेपालबहस संवाददाता    206 Views

१ भदौ, काठमाडौं । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि त्यहाँ तरकारीको मूल्य आकाशिएको छ ।

सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा पहिरो मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएर गएपछि यातायात अवरुद्ध बनेको हो । गत साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ ।

निशानेखोला नजिकै आँपगाछी सडकखण्डको २० मिटर सडक करिब दुई किमी तलदेखि धसिएर बगेपछि पूर्वी नेपालको पहाडी क्षेत्रतिर आवागमनसँगै ती क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु ल्याउन नसक्दा धरनमा तरकारीको मुख्य आकाशिएर उपभोक्ताले खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको हो ।

धरान धनकुटा सडक सञ्चालनमा आए पनि अझैसम्म तरकारी आयात नभएकाले उपभोक्ताले महँगोमा तरकारी उपभोग गर्न बाध्य हुनु परिरहेको धरान कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । सडक सञ्चालन भएपनि पहाडी जिल्लाका तरकारी ल्याउन र बिक्री वितरण अझै व्यवस्थित हुन नसकेको उनले बताए ।

दैनिक करिव रु एक करोडको तरकारीको कारोबार हुँदै आएको धरानको कृषि उपज बजारस्थलमा गत साउन २७ गतेपछि कारोबार ठप्प हुँदा त्यस केन्द्रले आजसम्ममा कम्तीमा रु सात करोडभन्दा बढीको कारोबार गुमाउनु परेको जनाएको छ

धरान उपमहानगरपालकाले सडक विभागलाई भत्किएको सडक तत्काल बनाउन दबाब दिएपछि विभागले भत्किएको ठाउँभन्दा केही पश्चिमदेखि उत्तरबाट वैकल्पिक कच्ची सडक मार्ग खोलेको हो ।

झापामा विषादी मापन केन्द्र

बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका खाद्यवस्तुमध्ये सबैभन्दा बढी स्याउमा विषादी रहेको पाइएको छ ।

विषादी मापन केन्द्रकी प्राविधिक सुष्मा खड्काका अनुसार करेला, भिण्डी, गोलभेँडा, खुर्सानी, च्याउ, पर्वल, बोडी, स्याउ, केरा, बन्दागोभी र निगुरोेको परीक्षण गर्दा सबैभन्दा बढी स्याउमा विषादी भेटिएको हो ।

परीक्षणका क्रममा स्याउमा विषादीको मात्रा सबैभन्दा बढी १३.५ प्रतिशत भेटिएको खड्काले जानकारी दिइन् । सबैभन्दा कम मौसमी तरकारीमा एक प्रतिशतसम्म पाइएको छ । भारतबाट आयात गरिएका तरकारीमा बढी विषादी रहेको पाइएको छ ।

केन्द्रमा विषादी परीक्षण मेसिन, कम्प्युटर, फ्रिज, फमहुड नामक केमिकल उत्पादन गर्ने मेसिनलगायत उपकरण रहेका छन् । सो केन्द्रमा अहिले नियमित रुपमा परीक्षण भइरहेको छ । केन्द्रमा कीटनाशक र ढुसीनाशक विषादीको परीक्षण गरिन्छ ।

विषादी परीक्षणमा ३५ प्रतिशतसम्म विषादी देखापरे हरियो (खान मिल्ने), ३५ देखि ४५ सम्म विषादी देखिए पहेँलो (केही दिन पर्खनुपर्ने) र ४५ भन्दा माथि विषादी देखापरे रातो (नष्ट गर्नुपर्ने) खड्काले बताए

तपाईको प्रतिक्रिया