हरितालिका तीजको अवसरमा सार्वजनिक विदा, राष्ट्रपति र उपराष्ट्रपतिले दिए छुट्टाछुट्टै शुभकामना सन्देश


Share This


नेपालबहस संवाददाता    131 Views

८ भदौ, काठमाडौं । विशेषतः हिन्दू नारीहरुले आज महान चाड हरितालिका तीज मनाउँदैछन् । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने चलन रहेता पनि केहि वर्ष यता यसमा आधुनिकताको नाउँमा महिना दिन अघि देखि नै दर खाने र खुवाउने चलन वस्तै आएको छ ।

हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ । तीजका लागि सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

हरितालिका तीजको शाब्दिक अर्थ खोज्ने हो भने हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास रहिआएको छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउकी छिन् ।

राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गरेकी छिन्।

“यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ ।” सन्देशमा भनिएको छ, “अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डो¥याउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चाड र पर्वले पनि यही सन्देश दिन सकुन् ।”

त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गरी उनले नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उनले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी कामनासमेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार