दुःख तथा विरहका गीत गाउँदै तीज सम्पन्न


Share This


नेपालबहस संवाददाता    58 Views

१० भदौ, काठमाडौँ । महानगरपालिका–१२ स्थित टेकु ऋषेश्वर महादेवको मन्दिरमा सप्तऋषिको पूजा गर्दै यस वर्षको तिज पर्व सम्पन्न भएको छ । ऋषिपञ्चमीका लागि सो मन्दीरमा आज विशेष भीड लागेको थियो ।

पूजाअर्चनापछि महिलाले दुःख तथा विरहका गीत गाउँदै सामाजिक रुपान्तरणका लागि दिइरहेको सन्देशले धेरैलाई आकर्षित गराएको छ । महिला हिंसाविरुद्ध तथा सामाजिक चेतनासहित युवा सशक्तीकरणमा प्रेरणा दिने गीत गाएका थिए ।

विशेषगरी हरितालिकाका दिनमा व्रत बसेका महिला तथा रजश्वला भएका महिलाले ऋषिपञ्चमीका दिन सबेरै नदी तथा तलाउमा स्नान गरी पवित्र भई विधि विधानपूर्वक सप्तऋषिका पूजा गर्ने परम्परा छ ।

यसो गर्दा वर्षदिनसम्म जानी नजानी रजस्वलाका समयमा भएका छोइछिटोबाट मुक्त भई पारिवारिक सुख शान्ति तथा समृद्धि कायम हुने धार्मिक विश्वास छ ।

उक्त स्थानमा विभिन्न संघसंस्थाका प्रतिनिधिले भक्तजनको सहजताका लागि भीड व्यवस्थापन, निःशुल्क पिउने पानी वितरण, प्रारम्भिक स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण गरेका थिए ।

सो वडाका अध्यक्ष विकास डङ्गोलले भक्तजनको सुविधाका लागि मन्दिरमा गए रातिदेखि नै दर्शनका व्यवस्था मिलाइएको र भक्तजनले चाँडो दर्शन गरी फर्कने प्रवन्ध मिलाइएको र त्यहाँ खटिएका स्वयम्सेवकले आवश्यक सहयोग गरेको बताए ।

कुलेश्वरबाट सो मार्ग भई टेकु तथा सानेपा चल्ने सवारी साधनलाई मार्ग परिवर्तन गरी आज एक दिन सो मार्गमा हिँडन निषेध गरिएको थियो ।

तपाईको प्रतिक्रिया