गौरा पर्वको अवसरमा आज सार्वजनीक विदा, राष्ट्र प्रमुखले दिए शुभकामना


Share This


नेपालबहस संवाददाता    30 Views

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ ।

उनले आज शुभकामना सन्देश दिँदै सदियौँदेखि मनाइँदै आएको सो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको उल्लेख गरेकी छिन् ।

“हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको छ”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेकामा शुभकामना दिँदै यो पर्व नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो । भाषा, संस्कृति, वेशभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू हुन् । यसै सन्दर्भमा परापूर्वकालदेखि मनाइँदै आइएको गौरा पर्व नेपालीको विशिष्ट पहिचानसमेत हो । यस पर्वको महत्वलाई आत्मसात् गर्दै नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा लिई सार्वजनिक बिदाको व्यवस्था गरेको पनि स्मरण गराउन चाहन्छुु ।’

उनले यस पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्विको कामना गर्दै गौरा पर्वले नेपालीबीच सामाजिक सद्भाव र भ्रातृत्वपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार