सवारी साधनको कुम्भमेला भृकुटी मण्डपमा सुरु, यस्ता छन नाडाका माग


Share This


नेपालबहस संवाददाता    65 Views

१३ भदौ, काठमाडौं । आजबाट काठमाडौंमा नाडा अटोशो सुरु भएको छ । सवारी तथा सवारीजन्य बस्तुहरुको कुम्भ मेलाकै रुपमा लिइने गरिएको छ । भृकुटीमन्डपमा सुरु भएको अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त समय र स्थान बन्ने भएको छ । उता सवारी बिक्रेताहरुका लागि त्यो भन्दा ठूलो उत्सव हुने गरेको छ ।

सवारी साधन उपभोक्ताले एकै ठाँउमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाँउछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन् । यसले नाडा अटो शो आफैं एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । नेपालमा उपलव्ध सवैजसो दुईपाँग्रे, चारपाँग्रे, कर्मसियल तथा सवारीजन्य उत्पादन नाडा अटो शो मा राखिने गरेको नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इनटरकन्टिनेन्टल प्रालिको प्रबन्ध निर्देशक तथा नाडाका अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।

वर्षभरिमा बिक्री हुने कुल सवारीको करिब ४० प्रतिशत हिस्सा अटो शो ले सृजना गर्ने फेस्टिभ मोडमा हुने गरेको व्यावसयीहरु बताउँछन् । अझै व्यवसायीहरुले अटो शो मा दिने अफरले उपभोक्तालाई आर्कर्षित गर्ने गरेको छ । अटो शो लाई केन्द्रित गरेर अधिकांस बिक्रेताले अफर घोषणा समेत गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी आज देखि १८ गतेसम्म नाडा अटो शो संचालन हुने छ । यसवर्ष ८३ कम्पनीले सहभागि जनाउने भएका छन् ।
अटो शोमा नेपालमा अवस्थित सम्पुर्ण ब्राण्डका चार पांग्रे, दुई पांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरु रहने छन् । मेलामा सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स लगायतका स्टलहरु रहेका छन् ।

जसमा चारपाँग्रे सवारीको १६ वटा कम्पनीहरुले भाग लिने भएका छन् । त्यस्तैगरी दुईपाँग्रे सवारीका १९ वटा कम्पनी, कमर्सियल सवारीका ६ वटा कम्पनीले भाग लिने भएका छन् । त्यस्तैगरी ८ वटा बाणिज्य बैंक, १ बिमा कम्पनी तथा ३३ वटा स्पेयर्स पार्ट्स तथा लुब्रिकान्ट कम्पनीहरुले भाग लिने भएको नाडा अटो शो २०१७ आयोजक समितिका संयोजक सम्भुप्रसाद दाहालले जानकारी दिए । ‘अटो शो सवारी बिक्रेता र खदिरकर्ताका लागि ब्रान्डको रुपमा स्थापित भइसकेकोछ’, संयोजक दाहालले बताउ ।

राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने उक्त अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ । नाडाले प्रत्येक वर्ष यस प्रकारको अटो शो आयोजना गर्दै आएको छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

नाडा अटो शो अवलोकन गर्न आउनेहरूमा सर्वसाधारण बाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुने छन् । अटो शोको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल हो भने इभेन्ट व्यवस्थापक ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) रहेको छ ।

नाडाले माग गर्दै आएका विषयहरु
बजेटमा नाडाको सुझाव अनुरुप सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशुलहरूको दर कुनै पनि वस्तुमा घटेको छैन । विशेषतः अटोमोवाइल स्पेयर पार्टस्, टायर र लुव्रिकेण्टस्मा भइरहेको चोरी पैठारी र कम गुणस्तरका स्पेयर पार्टस्को आयातलाई रोक्न त्यसमा लागि आएको भन्सार तथा अन्तःशुल्क महशुल घटाउन निरन्तर रुपमा माग गर्दै आएकोमा बजेट यसबारे मौन रहेको कारण ती वस्तुहरूको अनधिकृत आयात अझ बढ्ने देखिन्छ ।

नाडाले यातायात क्षेत्रको विकासको र सवारी साधनहरूको पहुँच सबैका लागि सवारी साधनको भन्सार तथा अन्तःशुल्क महशुलमा माग गरिएकोमा बजेटमा कुनै सम्बोधन हुन नसकेकोले त्यसमा पुनर्विचारका लागि नाडाले अनुरोध गरेको छ ।

सरकारले नेपालमै अटोमोवाइल एसेम्बलिङ्ग उद्योगको विकासको लागि मोटरसाइकल जस्ता दुईपांग्रे सवारी साधनहरूमा अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिए जस्तै चारपांगे्र सवारी साधनको एसेम्बलिङ्ग उद्योगको स्थापनाका लागि पनि ५० प्रतिशत अन्तःशुल्क छुटको माग गरिएकोमा उल्टो यस बजेटमा दुईपांग्रे सवारी साधनहरूमा दिईएको सुविधा पनि २५ प्रतिशतमा झारिएको छ । यसले व्यवसायीलाई हतोत्साहीत गरेको उल्लेख गरेको छ ।

यातायात व्यवस्था ऐन २०४९ मा तेस्रो संशोधनका सन्दर्भमा नाडाबाट समेत सुझाव पेश गरिएको थियो । तर उक्त ऐन अहिलेसम्म पारित हुन नसक्नुलाई नाडाले दुखद भनेको छ ।

धेरैजसो वस्तुहरू साफ्टा अन्तर्गत आए पनि सवारी साधन तथा त्यसमा प्रयोग हुने स्पेयर पार्टस्हरू अझसम्म पनि साफ्टा अन्तर्गत पैठारी हुन सकेको छैन । यस बजेटमा उल्टै साफटा अन्तर्गत आयात भईरहेका टायरहरु पनि साफटाको सुचिबाट हटाइएको छ ।

भर्खरै लागु भएको एक्जीम कोडको व्यवस्थाले नेपालको आयात निर्यात प्रणालीलाई व्यवस्थित गर्न सघाउ पुग्नेमा नाडाले विश्वास लिएको छ । तर एक्जिम कोड लिनको लागि राखिएको बैंक ग्यारेण्टी यथा समयमा फिर्ता हुनु पर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

सरकारले आफनो दिर्घकालीन कृषि रणनीति अन्तर्गत कृषिको समग्र विकासको लागि अपरिहार्य साधन टयाक्टरमा मूल्य अभिबृद्धिकर नलाग्ने व्यवस्था गर्दे आएको छ । सरकारले हालै प्रस्तुत गरेको बजेटमा पनि नेपालको कृषि विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

तर सोहि आर्थिक विधेयक २०७४/७५ को मूल्य अभिबृद्धिकर को समूह ४ अन्तर्गतको हार्मोनाइज्ड कोड नं ८७०१।२०।०० मा अन्य उपशीर्षक हटाइएको कारण १८०० सिसि भन्दा माथिका टयाक्टरहरुमा मूल्य अभिबृद्धिकर लाग्ने नलाग्ने सम्बन्धमा द्धिविधा उत्पन्न भएको छ ।

कृषि कार्यमा प्रयोग हुने सवै किसिमका टेक्टरहरुमा मूल्य अभिबृद्धि कर नलाग्ने नीति कायमै रहेको तर आर्थिक विधेयक २०७४ मा हार्मोनाइज्ड कोडको २०१७ भर्सन लागु गर्दा उक्त उपशीर्षकको अन्य भन्ने शब्दहरु हटनगई द्धिविधा मात्र पर्न गएको भन्ने जानकारी प्राप्त भएको सन्दर्भमा उल्लेखित द्धिविधालाई हटाउन १८०० सिसि भन्दा माथिका टेक्टरहरुमा पनि मूल्य अभिबृद्धि कर नलाग्ने भनि स्पष्टगरी गरि दिने व्यवस्था गर्नुपर्ने माग गरेको छ।

त्यसैगरी कृषिको समग्र विकास तथा पूर्वाधार निर्माण संचालनका लागि अपरिहार्य मानिएको टायरहरुमा दिईएको साफटा सुविधा हटाइएको कारणबाट ती टायरहरु महङ्गो हुन गई नेपालको समग्र कृषि उपज तथा पूर्वाधार निमार्ण कार्यमा प्रतिकुल प्रभाव पर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार