प्रमुख निर्वाचन आयुक्तदेखि चर्चित नेताहरुले गरे मतदान, गर्मी छल्नका लागि मतदाताहरु सवेरैबाट लामबद्ध


Share This


नेपालबहस संवाददाता    61 Views

२ असोज, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ ।

प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो ।

मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । गोप्य मतदानको प्रक्रियाद्वारा ‘एक पद एक मत’का आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कूल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि यो मतदान हुन लागेको हो ।

मतदाताले कुनै कारणबसः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले मिलाएको छ ।

स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिवास, वीरगञ्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्तद्वारा मतदान

तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ ।

अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे मतदान गरेका छन् ।

उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन् । सो केन्द्रमा सर्वप्रथम उनले मतदान गरेका थिए ।

बीस वर्षको प्रतीक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आआफना उम्मेदवारलाई विजयी गराउन मतदान गर्न लागेको राजविराज– ३ वडाका समाजसेवी सुशीललाल दासले बताए ।

यता कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मतदातालाई निर्धक भई मतदान गर्न आग्रह गरेका छन् ।

पर्सामा मतदान शान्तिपूर्ण

पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको प्रमुखका लागि निर्वाचन भइरहेको छ ।
वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले मत खसालेका छन् ।
जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुनेक्रम बढ्दै गएको छ ।
सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीले बताएका छन् । जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु गरेका छन् ।

स्थानीय तहको चुनाव अन्तर्गत २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । मतदानको सबै तयारी पूरा भएकाले मतदान गर्न निर्वाचन आयोग आह्वान गरेको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिँदै छन् ।

कुन नेताले गरे कहाँबाट मतदान ?

नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छन् ।

नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसालेका छन् ।

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसालेका छन्।
स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसालेका छन्।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गरेकाछन्।

उता, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर नगरपालिका–२, जनता उमावि केन्द्रबाट मतदान गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका अर्का नेता मनिष सुमनले राजबिराजबाट मतदान गरेक छन् ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिका अन्तर्गत संस्कृत उमाविबाट मतदान गरेका छन्।

राष्ट्रिय जनता पार्टीका अर्का नेता महेन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो। उनले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट भोट खसालेका छन् ।

एमाले नेता सत्यनारायण मण्डलले सप्तरीको सप्तकोसी नगरपालिका–११ मा रहेको बालविकास केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता एवम् शहकारी विकासमन्त्री प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दै छन्।

राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डरीले महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गरेका छन् ।

कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुरले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उमाविबाट मतदानकेन्द्र पुगेर मत खसाल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार