हर्षोल्लासका साथ मतदान जारी


Share This


नेपालबहस संवाददाता    80 Views

२ असोज, काठमाडौं । तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा सिरहा करिब ३५ प्रतिशत मतदान भएको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

गएरातिको वर्षा र दलीय प्रतिनिधि समयमा नपुग्दा केही मतदान केन्द्रमा केही ढिलो गरी मतदान शुरु भए पनि अधिकांश ठाउँमा बिहान ७ बजेबाटै मतदान शुरु भएको उनले बताए ।

जिल्लाको २२१ मतदानस्थलमा ४३१ मतदान केन्द्र छन् । लहान नगरपालिका–१३ को वस्तीपुर मावि केन्द्र र धनगढीमाई नगरपालिका–२ स्थित जनता मावि भवानीपुर केन्द्रमा दलीय प्रतिनिधि समयमा आइनपुग्दा मतदान केही ढिलो गरी शुरु भएको जनाइएको छ । अत्यन्तै हर्षोल्लासका साथ मतदाता बिहान ५ बजेदेखि नै मत खसाल्न लामबद्ध भएका थिए ।

लामो समयको प्रतीक्षापछि हुन लागेको स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्न हौसिएका मतदाता लामबद्धरूपमा मतदान गरिरहेका छन् । मतदान केन्द्रमा कुनै अप्रिय घटना हुन नदिन मतदानस्थल र मतदानस्थलको अनुगमनमा सुरक्षा निकाय खटिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका १६४ वडाका लागि चार हजार ६५५ उम्मेदवारलाई तीन लाख ३१ हजार ५९६ मतदाताले मतदान गर्दैछन् ।

सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान

यसैगरी, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उनले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

सो प्रदेशका केही मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केहीमा गएराति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार, ११ बजेसम्म करिब ३५ प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदान कार्य आज अपराह्न ५ः०० बजेसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार