अढाइ महिनादेखि रिक्त नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त


Share This


नेपालबहस संवाददाता    299 Views

२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साउदले आगामी चार वर्षको लागि सो जिम्मेवारी पाएका हुन् ।

आज विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो । सुदुरपश्चिमेली साउदलाई सोही क्षेत्रका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नियुक्त गरिएको हो ।

साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेको थियो । करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहदै आएको थियो ।

को हुन चन्द्रसिंह साउद ?

चन्द्रसिंह साउद २०५१ सालमा नेपाल इन्स्योरेन्समा छैठौं श्रेणीको अधिकृत तहबाट सरकारी सेवामा प्रवेश गरेका थिए । २०६० सालमा खुल्ला प्रतिस्पर्धाबाट वरिष्ठ प्रबन्धक चयन भएका उनी २०६४ सालमा कम्पनिको मुख्य प्रबन्धक, २०६९ सालमा नायब महाप्रबन्धक र २०७० सालमा का.मु महाप्रबन्धक भएका थिए ।

त्यसपछि उनी उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । सञ्चालक समितिले उनलाई विसं २०७१ साल माघमा प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका साउद नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्य समेत हुन् ।

नेपाल इन्स्योरेन्स कम्पनीमा साउदले २२ वर्ष काम गरेका छन् । २०५१ सालदेखिको नेपाल इन्स्योरेन्स यात्राका क्रममा प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेर २०७३ मा अवकास पाएका साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष हुन्। उनी चाबहिल स्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा पनि आबद्ध रहेका छन् ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको उक्त्त पद रिक्त रहेको थियो । नेप्सेको नयाँ नेतृत्व छनोटका लागि सरकारले तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएका तीस बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुबाट आवेदन माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार