हारसँगै नेपालको सम्भावना क्षीण, एएफसीका अध्यक्ष नेपालमा


Share This


नेपालबहस संवाददाता    425 Views

२४ असोज, काठमाडौं । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ ।

ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।

ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।

यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग १–२ ले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षीण हुँदै गएको छ ।

छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।

खालिफा नेपालमा

एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आएका छन् ।

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आइपुगेका छन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार