राइनो संरक्षण गोल्डकप आजबाट सुरु, राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आगामी कात्तिक १७ देखि


Share This


नेपालबहस संवाददाता    62 Views

१३ कात्तिक, काठमाडौं । मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हुँदैछ ।

नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो । आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म हुनेछ ।

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् ।

खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताबाट देश विदेशमा गैँडा संरक्षणको सन्देश दिन लागिएको र प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

तेक्वान्दो प्रतियोगिता

यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले जानकारी दिए ।

प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी र आयोजक नुवाकोट गरी आठ समूहले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितमा पुरुषतर्फ २० केजीदेखि ८० केजीसम्मका गरी विभिन्न तौल समूहका १३ जना र महिलातर्फ २१ केजीदेखि ७५ केजीसम्मका १२ जना गरी एक समूहबाट २५ जनाले सहभागिता जनाउने संयोजक भट्टले बताए ।

प्रतियोगिता एकल स्पाएरिङ र एकल प्याट्रन गरी दुई विधामा सञ्चालन गर्न लागेको आइटीएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागीले ४१ स्वर्ण, ४१ रजत र ८२ कास्य पदक गरी १६४ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार