‘डिस्को जक्की’ नआउँदा डेजाभु नाइट क्लबमा तोडफेड, सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ


Share This


नेपालबहस संवाददाता    20 Views

२८ मंसिर, काठमाडौं । काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ ।

चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब पाँच हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएको तर मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सञ्चालक र आयोजकले अटेरी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहोनीले जानकारी दिए ।

पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेका छन् । उनीहरुले टिकटबापत रु दुई हजारदेखि पाँच हजारसम्म प्रतिव्यक्ति उठाएको महाशाखाका प्रमुख लोहनीले जानकारी दिए ।

आयोजकले भने चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेको बताएका छन् ।

राती अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी तिलक भारतीले भने, ‘डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको हो । क्लबमा केही क्षति भएको छ ।’

बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न निर्देशन दिएका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ ।

तर, उनी आउन नसक्ने सूचना किन बेलैमा दिइएन भन्नेबारे न त आयोजकले नै मुख खोलेका छन् नत डीजे मार्समेलो नै यसबारे बोलेका छन् ।

मार्समेलो पछिल्ला बर्षहरुमा निकै लोकप्रिय बनेका अमेरिकी डीजे हुन् । डीजेइङ गर्दा उनको टाउकोमा मार्समेलो क्याप लगाइरहेकै हुन्छन् । उनको वास्तविक नाम भने अहिलेसम्म खुलाइएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार