भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान, काभ्रेमा लालपुर्जाविहीन भूकम्पपीडित घर बनाउँदै


Share This


नेपालबहस संवाददाता    35 Views

११ माघ, काठमाडौं । मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ ।

त्यसैगरी सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला पुरूष दुवै) सम्मलाई दिने निर्णय गरेको हो ।

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ । सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ ।

रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टको लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले बताए ।

मन्त्रिपरिषद्को बैठकले महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ ।

लालपुर्जाविहीन भूकम्पपीडित घर बनाउँदै
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेमा जमिनमा स्वामित्व नभएका भूकम्पपीडितले अनुदान पाएपछि घर बनाउन थालेका छन् ।

अनुदानबाट वञ्चित कोशीपारिको उक्त गाउँपालिकाका लालपुर्जाविहीन भूकम्पपीडितलाई झण्डै दुई वर्षपछि आवास पुनःनिर्माण अनुदान उपलब्ध गराइएको हो ।

भुम्लु गापा वडा नं ७ का ३६५ र वडा नं ८ का ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । ती वडामा १५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनियरले दिएको निस्साको आधारमा गत कात्तिकमा सरकारले उनीहरुलाई आवास पुनःनिर्माण अनुदान उपलब्ध गराएको थियो । यसअघि लालपुर्जाविहीन भूकम्पपीडितले जमिनमा स्वामित्व नभएको भन्दै अनुदान सम्झौता गर्न पाएका थिएनन् ।

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई ध्यानमा राखेर गत भदौमा आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करिब एक हजार लालपुर्जाविहीन पीडितले पुनःनिर्माण अनुदान लिएर घर बनाउन पाएका छन् । हाल वडा नं ७ मा ११ तथा वडा नं ८ मा १५ घर बनिसकेका छन् ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिनुभयो । उनका अनुसार ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी भइरहेको बताए । भूमि अधिकार मञ्च नेपाल, काभ्रेपलाञ्चोकको पहलमा उनीहरुले घर बनाउन पाएका हुन् ।

जोखिमपूर्ण अवस्थाकी गोमा शिवभक्तिले जोखिमपूर्ण बस्तीका लागि सरकारले छुट्याएको थप रु दुई लाख राहत उपलब्ध गराउन आग्रह गरे । उनले भने, “हामी लालपुर्जाको समस्यामा थियौँ, अब बस्ती जोखिममा रहेकाले सरकारकै राहत कुरेर बसेका छौँ ।”

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले भूमिमाथिको अधिकार नैसर्गिक भएकाले नयाँ कार्यविधि निर्माण गरेर भए पनि पीडितलाई पुनःनिर्माण अनुदान उपलब्ध गराउन सफल भएको बताए । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका थिए ।

पुनःनिर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रव गैडाले जिल्लाका ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपाङ्ग, ६० वर्षभन्दा माथिका एकल महिला र परिवार नभएका १५ वर्षमुनिका बेसहारा बालबालिकाको प्राधिकरणले नै घर बनाइदिन लागेको जानकारी दिए ।

उनले भने, “हाम्रो प्रस्तावलाई पुनःनिर्माण प्राधिकरणले स्वीकृत गरेको छ । अब निर्माण प्रक्रिया शुरु गर्न तथ्याङ्क संकलनको काम गर्दैछौँ ।” पुनःनिर्माण प्राधिकरण, धुलिखेल उपक्षेत्रीय कार्यालयकाअनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म करिब २५ हजार निजी आवास निर्माण भइसेकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार