रत्ननगर टिकौली जंगलमा कृत्रिम ताल निर्माण


Share This


नेपालबहस संवाददाता    24 Views

२० माघ, काठमाडौं । चितवनको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको विभिन्न वन क्षेत्रमा पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्रको विस्तार कार्यक्रम सञ्चालन भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति चितवनले त्यहाँको विभिन्न क्षेत्रमा सिमसारको व्यवस्थापन तथा विस्तारको कार्यक्रम शुरु गरेको अध्यक्ष वासु ढुंगानाले जानकारी दिए ।

पछिल्लो समयमा सिमसार क्षेत्र पुरिँदै जाने र पानी सुक्ने समस्या देखिएकाले यसको संरक्षणका साथै कृत्रिम रुपमा तालतलैया निर्माण, तालतलैयाको माटो निकाल्ने, मिचाहा प्रजाति हटाएर सिमसार क्षेत्र जोगाउन र विस्तार गर्न थालिएको ढुंगानाले बताए ।

मृगकुञ्ज मध्यवर्ती क्षेत्रमार्फत कोकाकोला फाउण्डेसन र विश्व वन्यजन्तु कोषको सहयोगमा अहिले रत्ननगर टिकौली जंगलको ठूलो घोल क्षेत्रमा बाँध बनाएरै ताल तथा सिमसार क्षेत्र विस्तार गरिएको छ ।

त्यहाँ १० विगाहा जलाशय हुने गरी रु आठ लाखको लागतमा ताल निर्माण भएको छ । अघिल्लो वर्षपनि १० हेक्टर क्षेत्रफलमा १७ हजारी तालको व्यवस्थापन गरिएको थियो । टिकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सिमसारको संरक्षण र व्यवस्थापनका लागि मृगकुञ्जको सहयोगमा विभिन्न काम भइरहेको वनका अध्यक्ष वुद्धि विक बताउछन् ।

रामसार सूचीमा सूचीकृत बीसहजारी तालमा समेत मिचाहा प्रजातिले ढाकेर तालकै अस्तित्व संकटमा परेपछि अहिले सबै हटाएर तालको संरक्षणका कार्यक्रमसमेत चलेको छ । मृगकुञ्ज उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने विभिन्न ठाउँमा गरेर अहिलेसम्म ४० हेक्टरभन्दा बढी क्षेत्रमा ताल संरक्षण र विस्तारका कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

ताल तथा सिमसारमा वन्यजन्तु, चराचुरुङ्गी आश्रित हुने गर्छन् । सिमसार क्षेत्र नभएमा तिनीहरुले बासस्थान नै परिवर्तन गर्ने भएकाले पनि सिमसार क्षेत्र संरक्षण जरुरी छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक जलवायु परिवर्तन, मिचाहा प्रजातिका झार, माटो झर्ने र पानी सुक्नेजस्ता कारणले सिमसार क्षेत्र प्रभावित हुँदै आएको बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार