चार अंकले घट्यो बजार, शिवश्रीको आइपिओ आउँदै, पञ्चकन्यालाई स्थानीयको पचास करोड


Share This


नेपालबहस संवाददाता    28 Views

२९ माघ, काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ ।

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ ।

आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ बिन्दुले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ बिन्दुले ओरालो लागेको छ ।

शिवश्रीको आइपिओ आउँदै

शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु २० करोड बराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानूनी प्रबन्धका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो ।

कम्पनीले साधारण शेयर जारी गर्नका लागि यसअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस्तै कम्पनीले आगामी तीन महिनाभित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्ने छ । कम्पनीका प्रमुख उमेश कसजुका अनुसार हाल आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु चार अर्ब तीन करोड छ ।

पञ्चकन्याद्वारा पचास करोड शेयर संकलन
जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको शेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो ।

गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी शेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड शेयर निष्काशन गरेको थियो । आयोजनाले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

अति प्रभावित सन्दकपुर गाउँपालिकाका लागि छ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात रु छ करोड ६० लाख तथा प्रभावित इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता (४० प्रतिशत) अर्थात रु चार करोड ४० लाख शेयर निष्काशन गरेको थियो । सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा बढी शेयर रकम संकलन भएको छ । सो गाउँपालिकामा छ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु १७ करोड शेयर रकम संकलन भएको आयोजनाका कार्यकारी निर्देशक प्रधानले बताए ।

यस्तै इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु ३३ करोड शेयर रकम संकलन भएको छ । आयोजनाले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मीसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट शेयर रकम संकलन गरेको थियो । शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भएको छ ।

बाह्र मेगावाटको माथिल्लो माई र ६ दशालव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० प्रतिशत शेयर निष्काशन गरिएको प्रधानले जानकारी दिए । उक्त आयोजना सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार