ओली–प्रचण्ड ‘वान टु वान’ भेटवार्ता, सरकार छोड्ने र सरकार बनाउने काम तिब्र


Share This


नेपालबहस संवाददाता    17 Views

२९ माघ, काठमाडौं । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनीहरु वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिए ।

उनीहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ ।

सत्ता हस्तान्तरण गर्न राप्रपा अध्यक्ष थापालाई हतार

उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन् ।

उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे ।

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले भने, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुन्छ ।”

अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए ।

मुख्यमन्त्री पौडेलले गरे पदबहाली

प्रदेश नं ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्।

पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । उनले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताए ।

मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानूनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गरे ।

उनले हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा गई आजै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि शहीद स्मारकमा पुष्पगुच्छा चढाएका थिए ।

आजै उनले माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् । जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनाएका छन् । उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी हुन्।

आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार