हिजो दिनभरी भेटघाटमा व्यस्त रहेका प्रम ओली आज साँझ स्वदेश फर्कने


Share This


नेपालबहस संवाददाता    23 Views

२५ चैत, काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विहानै राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर ग्रहण गरेसँगै दिनभरी नै भेटघाटमा व्यस्त रहेका थिए ।

गार्ड अफ अनर ग्रहण गरेपछि नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रम ओलीलाई बधाई दिएका थिए । उनले नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्र्रद्धाञ्जलि
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उनको स्मरण गरेका थिए ।

श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन्– महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उनले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् ।

हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ । हालसम्म करीब तीन किलोमिटर पाइपलाइन बिच्छ्याइसकिएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइप लाइन जडानको काम शुरु हो । पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्ट्रक्चरले पाएको छ ।

यस्तै अमलेखगञ्जस्थित नेपाल आयल निगम डिपोको चार वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्यांकी स्तरोन्नतिको काम गरिरहेको छ । कूल ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ ।

इण्डियन आयल कर्पोरेशनको लगानीमा सञ्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगञ्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै रहेको छ । मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलब सात किलोमिटर र रक्सौलदेखि अमलेखगञ्जसम्म २६ दशमलब दुई किलोमिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करीब भारु पाँच करोड लागत रहेको छ ।

परियोजनामा नेपालतर्फ राखिने ३१ किमीभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ । पाइपलाइनमा कालो रङको स्टिलको पाइप प्रयोग गरिएको छ । उक्त पाइप भारत महाराष्ट्रको सिमलेस लिमिटेडले उत्पादन गरेको हो । पाइपलाइन निर्माण भएपछि वीरगञ्ज नाकामा भन्सार क्षेत्रमा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगञ्ज–पथलैया–अमलेखगञ्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ ।

तत्कालीन आपूर्तिमन्त्री सुनिल थापा र भारतको पेटोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानले दुई वर्षपहिले उक्त पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए । नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइनको निर्माणपछि सहज अवस्था आउने विश्वास लिइएको छ ।

शिलान्यास समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धमेन्द्र प्रधानको समेत उपस्थिति थियो । यस्तै नेपाली प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यसमेत सो अवसरमा उपस्थित थिए ।

सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइले गर्दा निर्माणसमेत ढिलो हुन पुगेको थियो । पाइपलाइन आयोजना निर्माण शुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । पाइपलाइन आयोजना निर्माणका लागि भारतबाट ल्याइने पाइप लगायतका निर्माण सामग्री राख्नका लागि आयल निगमले वीरगञ्जमा बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ ।

निगमले हाल भारतको बैरगनिया र रक्सौलमा रहेको आइओसीको डिप्पोबाट पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टीतेल, हाई स्पिड डिजेल र हवाई इन्धन ट्यांकरमार्फत अमलेखगञ्जमा रहेको आयल निगमको डिपोमा आयात गर्दै आएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नाका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको दाबी छ ।

पाइपलाइन आयोजना निर्माणपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने आयल निगमले लक्ष्य राखेको छ । पाइपलइन भविष्यमा विस्तार गरेर चितवनसम्म लैजाने लक्ष्य राखिएको छ ।

एकीकृत जाँच चौकीको उद्घाटन, व्यापारीलाई प्रत्यक्ष फाइदा
हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी)को उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमणको अवसर पारेर एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । नेपाल र भारत बीचको सम्झौताअनुसार सन् २०११ को जुलाईमा शिलान्यास भई उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य थालिएको थियो ।

मुआब्जा विवाद, ठेकेदारको लापरबाही, ढुङ्गा, बालुवा जस्ता निर्माण सामग्रीको अभावका कारणले एकीकृत चौकी निर्माणमा ढिलाइ भएको थियो । भारतीय सहयोगमा विराटनगर भैरहवा र नेपालगगञ्जमा पनि त्यस्ता चौकी निर्माण भइरहेका छन् । मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत उक्त चौकी निर्माण गरिएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपी आजैदेखि सञ्चालनमा आउनेछ । आइसिपी सञ्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमा नाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेको समस्या समाधान हुने विश्वास लिइएको छ । नेपाल र भारत बीचको व्यापारलाई सहजीकरण गर्न उक्त चौकीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई देशबीचको व्यापारलाई औपचारिक दायराभित्र ल्याउन महत्वपूर्ण एकीकृत जाँच चौकीको महत्वपूर्ण योगदान रहनेछ । सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएको थियो ।

भारत सरकारको रु एक अर्ब ३९ करोड लागतमा एकीकृत जाँच चौकी निर्माण भएको हो । अलौंमा निर्माण भएको उक्त चौकीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँच वटा ठूला गोदाम, दुईटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाललगायत रहेका छन् ।

चौकी सञ्चालनमा आएपछि वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय त्यही स्थानान्तरण हुनेछ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार प्रवद्र्धनका लागि एकीकृत जाँच चौकी महत्वपूर्ण कोशेढुंगा भएको संक्षिप्त प्रतिक्रिया दिए ।

शुक्रबार भारतीय व्यापारीसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालन आउन लागेको र त्यसले उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने बताएका थिए ।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झाङ्गिएको साझेदारीको स्वागत गरेका छन् ।

साझा ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको सम्पर्कमा आधारित मैत्रीपूर्ण एवं सन्निकटको नेपाल–भारत सम्बन्धको सुदृढ आधारशिलाको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले नियमितरुपमा उच्चस्तरीय राजनीतिक भेटघाट र विचार आदानप्रदानबाट नै द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेमा मतैक्यता प्रकट गरेका छन् ।

नेपाल सरकारले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन उच्च महत्व दिएको बताउँदै द्विपक्षीय सम्बन्धलाई भारतको विकास र समृद्धिबाट नेपालको आर्थिक रुपान्तरण र उन्नयनमा विस्तार गर्न चाहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेको वक्तव्यमा जनाइएको छ ।

बाह्रबुँदे संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी ओलीलाई नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले भारत सरकारको ‘सबैको साथ सबैको विकास’ दृष्टिकोण समावेशी विकास र समृद्धिका निम्ति छिमेकीसँग सहकार्य गर्ने मार्ग निर्देशक नीति कै रुपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले युगान्तकारी राजनीतिक परिवर्तनपछि नेपाल सरकारले ‘समृद्ध नेपाल : सुखी नेपाली’ भन्ने सिद्धान्तका साथ आर्थिक रुपान्तरणलाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री मोदीले स्थानीय तह, संघीय संसद र पहिलो प्रान्तीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली जनता र नेपाल सरकारप्रति हार्दिक बधाई ज्ञापन गर्दै नेपाल र नेपालीले देशको विकास र स्थायित्वका लागि लिएको दूरदृष्टिको सरहाना गरे ।

दवै प्रधानमन्त्रीले वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्दै त्यसको शीघ्र सञ्चालनबाट सीमापार व्यापार तथा वस्तु र सर्वसाधारणको आवागमनले विकास र आर्थिक वृद्धिमा योगदान पुग्ने आशा व्यक्त गरे ।

दुवै देशका प्रधानमन्त्रीले भारतको मोतीहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना कार्यारम्भको ‘भिडियो’ सम्मेलनमार्फत अवलोकन गरे ।

नेपालमा सञ्चालित विकासका द्विपक्षीय परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्नुपर्ने र नेपाल–भारत सम्बन्धका विविध क्षेत्रका सहयोगका कार्यसूचीलाई लागू गर्ने विद्यमान संयन्त्रलाई पुनर्जीवित गर्नुपर्नेमा प्रधानमन्त्रीद्वयले जोड दिए ।

कृषि क्षेत्रमा नेपाल र भारतबीच नयाँ साझेदारी बन्नुका साथै रेल सेवाबाट काठमाडौँलाई भारतको रक्सौलसँग जोड्ने र जलमार्गबाट समेत दुई देशबीचको सम्पर्क विस्तार गर्ने पारस्परिक हितका तीनवटा बेग्लाबेग्लै संयुक्त वक्तव्य पनि जारी भए ।

प्रधानमन्त्री ओलीको भ्रमणबाट बहुआयामिक नेपाल–भारत साझेदारीमा नयाँ आयाम थपिएकामा दुवै देशका प्रधानमन्त्रीले सहमति जनाए ।

भारत भ्रमणका निम्ति गर्नुभएको आमन्त्रण र आफू नेतृत्वको प्रतिनिधिमण्डलप्रति देखाइएको हार्दिक आतिथेयप्रति प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीमा आभार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई यथाशक्य चाँडो नेपालको भ्रमण गर्न आमन्त्रण गरे । प्रधानमन्त्री मोदीले भ्रमणको आमन्त्रणलाई स्वीकार गरे । प्रधानमन्त्री मोदीको भ्रमणको मिति कूटनीतिक माध्यमबाट अन्तिमरुप दिइनेछ ।

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपतिको निवासमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो ।

सो अवसरमा नेपाल र भारतका जनताबीच रहेको मैत्री सम्बन्धलाई थप विस्तार हुँदै गएको र त्यसले आगामी दिनमा सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका थिए ।

आफू मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा उठाउन भारतको भ्रमणमा आएको जानकारी दिँँदै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासका मुद्दामा दुई देश मिलेर अगाडि बढ्ने सदीक्षा रहेको बताए ।

प्रधानमन्त्रीले नेपाल–भारतबीच मैत्री तथा भ्रातृत्व सदियौँ पुरानो रहेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दुई देशबीच सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा उपराष्ट्रपति नायडुले सहज सम्पर्क विस्तार गरेर नेपाल–भारतबीच नयाँ आधारमा सम्बन्ध विस्तार हुँदै जाने बताए।

उनले दुई प्रधानमन्त्रीबीच भएको भेटवार्तामा काठमाडौँ जोड्ने रेल सञ्जाल विषयमा महत्वपूर्ण सहमति भएको जानकारी पाएको भन्दै त्यसले सम्बन्ध थप सहज बनाउने उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गरेका थिए ।

आज नै स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्कन लागेका हुन् ।

स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदैछन् । त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओली नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार