आईजीपी खनाल भन्छन्- सुन्दर भवनसँगै सुन्दर सेवापनि
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार २३:२८:३९
एकैदिन तीन भवनकाे शिलान्यास – देशभर कहाँ के भयाे ?
२४ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गरेका छन् ।
शिलान्यासपछि नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम हुने गरी निर्माण गरिने बताए । विगत २५ वर्षदेखि धेरैको हृदयमा बस्न सफल पुलिस क्लवले आगामी दिनमा अपेक्षा अनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खनालले जसरी भवनहरु सुन्दर हुन्छन्, त्यसैगरी सुन्दर भवनसँगै प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् ईमान्दारिताका साथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध रहेको बताए । भवन निर्माणको क्रममा कुनैपनि किसिमको अनियमितता सह्यय नहुने बताउँदै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा उनले आग्रह गरे ।
अपराध महाशाखा तथा परिसरमा कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना समेत उक्त नयाँ भवनमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानून सम्मत, सेवाग्राहीमैत्री र पारदर्शी रुपमा गर्नुपर्ने बताए । अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाई नहोस् । साथै मैले मेरो प्रहरीलाई सूचना दिन र जाने बुझेको कुरा बताउन आएको हो भनी सूचना दिन आउनेलाई छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाईन्छ ।’
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गर्दै उनले यस अन्तर्गत विभिन्न समिति र स्थानीय तहसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिए । महिला हिंसा, बालबालिकामाथि हुने अन्याय, साइबर अपराध सँगसँगै मानव बेचबिखन जस्ता अपराध निस्तेज पार्न नेपाल प्रहरी संवेदनशील भएर अगाडि बढेको र सरोकारवाला निकायहरुसँग सहकार्य एवम् समन्वय गर्दै जानेमा उनले जोड दिए ।
उक्त अवसरमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई. लोकेशचन्द्र सिंहले निर्माण हुने भौतिक संरचनाका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै शिलान्यास सम्पन्न निर्माण योजनाहरुलाई समयमै तोकिएको गुणस्तरसहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विगतको भन्दा उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । २६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।
नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने छ । सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ ।
साथै नवनिर्माण हुने नेपाल पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको मुख्य हल र अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ । भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु तथा जवानहरु लगायतको उपस्थिति थियो ।
हतियारसहित पक्राउ
भक्तपुर, सूर्यविनायक नगरपालिका–९ भाते ढिकुरबाट बारा फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई कटुवा पेस्तोल १ थान र सोको गोली ६ राउण्ड सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका साहलाई जाँच गर्ने क्रममा साथमा राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–२२ नयाँबस्तीस्थित जंगलबाट सोमबार साँझ बेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंज खटिएको प्रहीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अवैध रुपमा ल्याएको सुन सहित पक्राउ
नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्डको बैङ्ककबाट नेपाल आएका राहदानी नम्बर ११२१९४२९ बाहक मनाङ मिस्याङ गाउँपालिका–१ का ५७ वर्षीय कर्मा टासी गुरुङलाई अवैध रुपमा ल्याएको करिब ३ सय ८० ग्राम सुन सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
एयरपोर्ट भन्सार एरियामा मेटल डिटेक्टर र मेडिकल एक्सरे गरी जाँच गर्दा गुरुङको मलद्वारको पछाडिपट्टी उक्त सुन फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सुनको सिक्री लुटपाट
टोखा नगरपालिका–९ म्याग्दी चोकबाट सतुङ्गल बस्ने रुकुम चुनावाङ भूमी नगरपालिका–९ का २९ वर्षीय पुरुषको १ दशमलव ५ तोलाको सुनको सिक्री सोमबार राति लुटपाट भएको छ ।
अपरिचित २ जनाले ती पुरुषलाई लछारपछार गरी उक्त सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सर्लाही, बरहथवा नगरपालिकापा–१ मलहा टोलस्थित सडकमा अनटेष्ट लेखेको मोटरसाइकलले भदौ ७ गते ठक्कर दिँदा गम्भीर घाइते भएका बागमती नगरपालिका(७ राजघाट बस्ने ७५ वर्षीय जगधिश पासवानको एडभान्स सञ्जिवनी हस्पिटल बरहथवा हुँदै गण्डक अस्पताल वीरगंजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आगलागीबाट विभिन्न धनामल नष्ट
दाङ, घोराही उपमहानगरपालिका–१५ घोराही बस्ने कुमार चौधरीको कच्ची घरमा मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका–२१ कुर्था बस्ने लालबाबु साह सोनारको घरमा मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा नगद ५ लाख २५ हजार रुपैयाँ, चाँदीका गहनाहरु २० तोला, सुनका गहना ५ तोला र विभिन्न सामान जलेर करिब ९ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रहरीले नागरिकको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गरी सुरक्षाको प्रत्याभूति गराउन “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमलाई निरन्तरता दिई सक्रिय रुपमा अघि बढ्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा जिल्ला समन्वय समिति लमजुङको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय आमा समूह, युवा क्लव, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ पुगेका प्रहरी नायव महानिरीक्षक घिमिरेले उक्त कार्यालयको सोमबार निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा उनले अपराध र अमानविय कार्यप्रति कानुनी कठोरताको नीति अवलम्बन गर्दै प्रहरीले कार्य सम्पादन गर्नुपर्ने बताए ।
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–३ का बिनोद बस्नेत र बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरुलाई मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा पटक र पटक गरी १९ लाख १० हजार रुपैयाँ लिई ठगी गरी फरार रहेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं हाँडीगाउँबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट राजु केसीको नामको ०५–५७०५८९ र बिनोदमणि बस्नेतको नामको ०६–४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले फेला पारी बरामद गरेको छ । निजलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्यमक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
गोलबजार नगरपालिका–६ बस्ने २१ वर्षीय राहुल भन्ने जिवछ कुमार साहलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ७ सय ५० मिलीग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । साहको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा प्लाष्टिकको पोकामा तयार पारिएको लागूऔषध ब्राउन सुगर फेला पारी ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने १९ वर्षीय राजन विश्वकर्मालाई समेत पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, ललितपुर महानगरपालिका–१० कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीय निशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाही रहेका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू रात्री अम्बीकेसरी गेष्ट हाउसमा बसेका रुकुम खाँडा घर भएका २५ वर्षीय बसन्त खड्का सोही गेष्ट हाउसमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–११ एक्लेफाँटस्थित बाटोमा हाल नाम, थर, वतन, नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
नबलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–५ रामनगरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीय महिला मंगलबर बिहान मृत अवस्थमा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खोलाले बगाएर मृत्यु
दाङ तुलसीपुर उपमहानगरपालिका–१२ बाँकेस्थित खोलाले बगाएर सुर्खेत बीरेन्द्रनगर नगरपालिका(१० खजुरा बस्ने कृष्ण बहादुर सारुकी ३ वर्षीय छोरी यन्जिला सारुको मंगलबार बिहान मृत्यु भएको छ । उक्त खोलामा खेल्ने क्रममा बगाई गम्भीर घाइते भएकी यन्जिलाको प्रहरीले उद्दार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार