लक्ष्मीनारायण मन्दिर गुठी जग्गा मातहत ल्याउने प्रक्रिया सुरु
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार २३:११:५१
२० फागुन, काठमाडौ । थापाथलीस्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु भएको छ । मन्त्रिपरिषद्ले गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा सस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको सस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागिपरेको छ । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा समेत रोक लगाइएको छ ।
मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उनकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको छ ।
यहाँ भिएस निकेतन, मेरी पपिन्स हुँदै हाल त्रैविद्या शिक्षा सदन भाडामा बस्दै आएका छन् । त्रैविद्या शिक्षा सदन गत वैशाखदेखि यहाँको टहरामा भाडामा बसेको प्रधानाध्यापक सङ्गीता श्रेष्ठले जानकारी दिएका छन् । करिब साढे तीन रोपनी जग्गा केही महिनामै संस्थान मातहतमा ल्याइने प्रवक्ता थपलियाले बताएका छन् । संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको थियो ।
सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा दुःख लागेको बताउँछन् । विसं २००० मा व्रतबन्ध गर्दा आफू दर्शन गर्न लक्ष्मीनारायण मन्दिरमा गएको स्थानीय वृद्ध मुकुन्द आचार्य सम्झन्छन् । “त्यसबेला मन्दिर सार्वजनिक थियो, वरपर चौर थियो, त्यहाँ हामी साँझ–बिहान खेल्थ्यौँ, मन्दिरमा दर्शन गथ्र्यौं, पछि मनोहरशम्शेरले गोपाल श्रेष्ठलाई रु नौ हजारमा बेचेको सुनियो, मन्दिर र यस वरपरको जग्गा सार्वजनिक भएकाले यसलाई जोगाउनुपर्छ”, उनले भने ।
यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लेखेको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उनकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गरेको संस्कृतिको अध्ययन अनुसन्धानमा लागेको चेतोनाथ शर्मा आचार्यले जानकारी दिए ।
पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो ।
मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति संरचनासमेत अहिले हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।
मन्दिर वरिपरिको जग्गामा विसं २०२३/२४ तिर क्याप्टेन गोपालले निर्माण गरेको जस्ताको टहरा हावाले उडाएको चेतोनाथको स्मरणमा अझै ताजा छ । मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुटिरहेका छन् ।
यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । अवशेषका रुपमा थापाको दरबारको मूल ढोका विसं २०६५ सम्म आफूले देखेको अधिकारीले सुनाए ।
जङ्गबहादुर राणाको पुख्र्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् । मन्दिरमा संस्थानले नियुक्त गरेका पुजारीले नै पूजा गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिदाइरहेको सरकार र संसदलाई प्रेमप्रसादले छाडेका प्रश्न !
माघ ११, २०७९ बुधबार
यस्ता छन् प्रधानन्यायाधीश जबरामाथि लागेका २१ आरोप
फागुन १, २०७८ आइतबार
भारतपरस्त देउवाकाे नेतृत्व भएपनि नेपाल–चीन सबल सम्बन्ध
साउन ७, २०७८ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
न्यायाधीश शर्माको इजलासमा पर्यो गण्डकी सरकारविरुद्धको रिट
बैशाख २७, २०८१ बिहिबार
आगलागीबाट घरसम्पती गुमाएपछि परिवारको बिजोग
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा बाकसमा राखेको १६ हजार जलेर नष्ट
बैशाख २७, २०८१ बिहिबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
डढेलो लागेको मैदानमा पुनः घाँस पलाउँदै
बैशाख २७, २०८१ बिहिबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार