वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
नेपालबहस संवाददाता
पुस २८, २०७७ मंगलबार २१:२७:४८
२८ पुष, काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को संक्रमणपिछ ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।
युरोप, अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौं उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उनले बताए । “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रु १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ”, उनले भने, “विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ ।”
त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उनले बताए । उनका अनुसार खाडी मुलुकमा पठाउने नाममा ठगीका बढी घटना दर्ता हुने गरेका छन् । विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दूतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएको खण्डमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको उनले बताए ।
कोभिड–१९ को सङ्क्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फछ्र्यौटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरु बढ्ने गरेको विभागले जनाएको छ । उजुरीका आधारमा दण्डजरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ । विभागको कार्यविधिअनुरुप मेनपावर कम्पनीले रु दुई करोड धरौटी अनिवार्य राख्नुपर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्याङ्क लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।
वैदेशिक रोजगारीका क्रममा भनेअनुसारको तलब, काम र सेवासुविधा नपाएको खण्डमा पनि पीडितले स्वदेश फर्किइसकेपछि विभागमा उजुरी गर्न पाउँछन् । यदि छ महिनामा नै पीडित फर्किएको खण्डमा एक वर्षभित्र र सेवाअवधि पूरा गरेर फर्किएको एक वर्षभित्र मेनपावर कम्पनी विरुद्ध पीडितले उजुरी गर्न पाउने प्रावधान छ ।
विभागबाट इजाजत प्राप्त मेनपावरका कतिपय उजुरी फोनमार्फत सुनुवाइ गर्ने गरेको सूचना अधिकारी न्यौपानेको भनाइ छ । विभागले पटकपटक ताकेता गर्दा मेनपावरबाट कुनै प्रतिक्रिया नआएको खण्डमा विभागले पक्राउ पुर्जी जारी गरी सम्बन्धित मेनपावर कम्पनीका व्यक्तिलाई जेल चलान गर्दै आएको छ ।
इजाजत प्राप्त मेनपावर कम्पनीले गर्ने गरेको ठगी र व्यक्तिगत ठगी घटनाका उजुरीहरु दर्ता हुने गरको विभागले जनाएको छ । सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारी ठगीका उजुरीको सुनुवाइ गर्दै आइरहेका छन् । जिल्लाबाट सुनुवाइ गर्न नसकिएका उजुरीहरु भने विभागमा जाने गर्छन् । त्यसैगरी विभागको कारबाही चित्त नबुझेको खण्डमा पीडितले सो उजुरी पुनरावेदनमार्फत उच्च अदालतमा दर्ता गराउन पनि पाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार