‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १९:५:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/swimming_xDM9GlSDCl.jpeg)
८ चैत, घोडेपानी । एक्काइस वर्ष नौ महीना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो ।
उनी गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता समेत बनेकाे थियो । बैसठ्ठी वर्षीय उनले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाएको थियो ।
सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ को राष्ट्रिय खेलकूद प्रतियोगिताको स्वर्ण पदक जितेका उहाँले १० वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका समेत निर्वाह गरेको थियो । “जनताको सेवा गरौँ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष त बनेँ, राम्रो गरौँ भनेर लागेको छु”, उनले भने, “तर मेरा पदक कुना परेका छन् । विगत सम्झँदा र कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ ।”
भारतमा राम्रो तलब सुविधासहित पौडी प्रशिक्षकको रोजाइ छाडेर स्वदेश फर्किएका उनले पोखरामा भएको दोस्रो र वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय प्रतियोगितामा तत्कालीन गण्डकी अञ्चलबाट सहभागी भएर स्वर्ण पदक दिलाए ।
“पौडी र गोटाखोरको प्रशिक्षक बनेर सिप सिकाउने सपना थियो तर अवसर पाइन”, उनले भने, “परिस्थितिले राजनीतिमा ल्यायो, पद पनि दिलायो । नेपालमा पौडी खेलको विकासमा योगदान गर्ने रहर पूरा भएको छैन ।”
विभिन्न प्रतियोगितामा पाएका पदक र प्रमाणपत्रले एउटा सानो प्लास्टिकको झोला भरिएको छ । फुर्सद हुँदा पदक र प्रमाणपत्र हेरेर विगत सम्झने उहाँ खेलकूदको विकासमार्फत देशलाई चिनाउन गाउँपालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएको बताउँछन् ।
खेल प्रतिभाको पहिचान गर्न गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सवका साथै अध्यक्ष कप खेलकूद प्रतियोगिता भएको थियो । कोरोनाका कारण यस वर्ष अध्यक्ष कप खेलकूद प्रतियोगिता बजेट विनियोजन भए पनि सञ्चालन हुन सकेको छैन । सबैजसो बस्तीमा व्यवस्थित खेल मैदान निर्माणको योजना अघि सारेको छ ।
सन् १९७२ मा घारको मुक्तिमार्ग माविको कक्षा ९ मा पढ्दै गर्दा भारतीय सेनामा भर्ती भएका उहाँ निवृत्त ‘क्याप्टेन’ हुनुहुन्छ । भारतीय सेनाका ‘लेफ्निनेन्ट’ रहेका बुवा मनबहादुर पुनको प्रभावमा परेर भर्ती भएका डमबहादुर पूर्वसांसद स्व नारायण सिंह पुनको सम्पर्कबाट राजनीतिमा जोडिएको थियो ।
सन् १९९९ मा घोडेपानीमा सन्नी होटल खोलेर व्यवसायमा जोडिएका उहाँ हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । होटलका कोठालाई समेत अन्तरराष्ट्रिय खेलाडीको नामबाट नामकरण गरेर व्यवसायमा नयाँ शैली अपनाएको छ । होटलका कोठा पेले, रोनाल्डो र म्यारोडोना जस्ता खेलाडीबाट नामकरण भएका छन् ।
जनप्रतिनिधि बनेपछि श्रीमती र छोरालाई होटलको जिम्मा लगाएका उनी परिस्थितिले राजनीतिमा आउनुपरे पनि आफ्नो सीप, अनुभव र क्षमतालाई नेपालको खेल क्षेत्रमा उपयोग गर्न नसकेकामा दुखित छन्। एमालेका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मितेरी साइनो गासेपछि उनी पुन चर्चामा छन् । बैसट्ठी वर्षका डमबहादुर अझै तन्दुरुस्त र फूर्तिलो छन् ।
सुविधा सामाजिक काममा
अध्यक्ष पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको अठार लाख रुपैयाँभन्दा बढी रकमलाई सामाजिक काममा खर्चिएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकूद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधाबापत पाएको रकम खर्चिएको हो ।
सेवासुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करीब चार वर्षको अवधिमा रु १८ लाख दुई हजार सहयोग गरेको उहाँले विवरण सुनाउनुभयो । “पेन्सनले मेरो खर्च पुग्छ । परिवारका सदस्य आफैँ आत्मनिर्भर छन”, उनले भने, “जनतासँग गरेको प्रतिबद्धतानुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हो ।”
खातामा रु तीन लाख बाँकी छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिव मन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक जना पुजारीलाई तलबको व्यवस्था गरेका अध्यक्ष पुनले अन्नपूर्ण–४ गाडपारको नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेको छ ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्वारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएको थियो । विद्युत चुहावट भइ दुवै हात गुमाएकी पाउद्वारकी कृशिखा विकको उपचारका लागि अस्पताल जान बाटो खर्चस्वरुप रु ३० हजार उपलब्ध गराए ।
गाउँपालिकाका विद्यालयमा टेलिटिचिङ शुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान शुरु गरेका अध्यक्ष पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्वारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्वार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेल मैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरीद गर्न रु ४२ हजार सहयोग गरेको छ ।
घराप आमा समूहको खानेपानी योजनालाई रु एक लाख १० हजारको पाइप खरीद गरेर उपलब्ध गराउनुभएका उहाँले बजेट अभावमा अधुरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन रु एक लाख सहयोगको घोषणा गरेको छ । दोसल्लेका धनबहादुर पुनको घर पुनःनिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गरेको छ । कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई रु ५० हजार र हिस्तान स्वास्थ्य चौकीलाई रु ७५ हजार सहयोग गरेको छ ।
विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थी र खेलाडीलाई पुरस्कृत गर्नुभएका पुनले जनप्रतिनिधि नभएका अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेको थियो । पहिरो, चट्याङ, आगलागीपीडितका साथै आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्छन् । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैँ उद्धार र राहतमा अगुवाइ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
शहरमा नयाँ 'नव्य नाचघर' : जहाँ आजदेखि मन्चन हुँदैछ नृत्य नाटक ‘प्रेमारम्भ’
असार २१, २०८१ शुक्रबार
भूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनद्वारा बाल आश्रमलाई नगद सहयोग
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक
असार २१, २०८१ शुक्रबार
बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
असार २१, २०८१ शुक्रबार
चन्द्रागिरि र एनआईसीबीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता
असार २१, २०८१ शुक्रबार
श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने
असार २१, २०८१ शुक्रबार