लोकप्रिय कौरा नृत्य संरक्षणमा गाउँपालिकाे चासो
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार १९:७:३८
♦ पूर्ण विके
२२ पुष, तनहुँ । मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षण गर्न ऋषिङ गाउँपालिकाको कार्यालयले चासो देखाएको छ । उक्त नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले बिहीबार वडास्तरीय कौरा नाच प्रतियोगिता गरेर संरक्षणमा चासो देखाएको हो ।
गाउँपालिकाको १३ औँ गाउँसभाको अवसरमा गरिएको प्रतियोगितामा आठवटै वडाका मगर समुदायका युवायुवती सहभागी थिए । प्रतियोगितामा वडा नम्बर १ को समूह प्रथम र वडा नम्बर ६को समूह दोस्रो भएको थियो । प्रथम र दोस्रो हुनेले क्रमशः रु १२ हजार र आठ हजार प्राप्त गरे ।
सानैदेखि आफूहरुले विशेष कार्यक्रममा कौरा नाचेरै हुर्किएकाले पालिकाले आयोजना गरेको प्रतियोगितामा भाग लिइ प्रथम हुँदा खुसी लागेको वडानं १ झापुटारकी सिर्जना रानामगरले बताए । गाउँपालिकाले नै कौरा नाच संरक्षणमा चासो देखाएपछि आफूहरुलाई हौसला मिलेको उनको भनाइ थियो ।
“कौरा नाचको महत्वबारे खासै थाहा थिएन”, उनले भने, “गाउँपालिकाले नै प्रतियोगिता गराएपछि अब झनै संरक्षणमा जुट्नुपर्ने रहेछ भन्ने ठानेका छौँ ।” गाउँघरमा कुनै पनि कार्यक्रम हुँदा आफूहरुले कौरा नाच देखाएर अतिथिलगायत सहभागीलाई मनोरञ्जन दिने गर्दै आएको थापामगरले बताए ।
कौरा नाचको सुरुआत ऋषिङ गाउँपालिकाबाटै भएको किंवदन्ती रहेको ऋषिङ गाउँपालिकाका अगुवा निलबहादुर थापामगरले उल्लेख गरे । विगतमा मगर समुदायमाझ मात्र लोकप्रिय रहेको यो नाच अहिले मुलुकका विभिन्न क्षेत्रको अलावा विदेशमा समेत चर्चित रहेको उहाँको भनाइ थियो बताए । “कौरा नृत्यको सुरु ऋषिङबाटै भएको भनाइ छ”, थापामगरले भने, “यहाँबाट बसाई सर्दै काठमाडौँ, पोखरालगायतको स्थानमा जानेले समेत यो नाचलाई विस्तार गरे । स्वदेशमा मात्र नभई हङकङ, सिङ्गापुर, बेलायत, अष्ट्रेलिया, जापानलगायत स्थानमा समेत यो नाचलाई यहाँको मौलिक नाचको रुपमा चिनिदो रहेछ ।”
केही समय पहिले आफू सिङ्गापुर भ्रमणमा जाँदासमेत त्यहाँ कौरा नाच हेर्ने मानिसको बाक्लो जमघट हुने गरेको उनले बताए । “सिङ्गापुरमा समेत तालमा ताल मिलाएर कौरा नाचेको देख्दा छक्कै परेँ”, थापामगरले भने, “आफ्नै गाउँबाट सुरु भएको नाच सात समुद्र पारी देख्न पाउँदा खुसीको सीमा नै रहेन ।”
पछिल्लो समय गाउँपालिकाले स्थानीयवासीको क्षमता विकास र विभिन्न समुदायको पहिचानलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाका प्रवक्ता विजय दराईले बताए । कौरा नाचको सुरु नै मगर समुदायको बाहुल्यता रहेको ऋषिङ गाउँबाट भएकाले संरक्षणका लागि गाउँपालिका अग्रसर रहेको पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको पहिचानको रुपमा कौरा नृत्य रहेकाले संरक्षणका लागि आफूहरु अग्रसर रहँदै आएको उनको भनाइ थियो ।
“गाउँपालिकाबाट गरिने हरेक सार्वजनिक कार्यक्रमको सुरुआत नै कौरा नाचबाटै गरिन्छ”, अध्यक्ष श्रेष्ठले भने, “ऋषिङको पहिचान भनिएको कौरा नाच संरक्षणमा अब हामी पालिकास्तरबाटै जुट्ने छौँ ।” ऋषिङ गाउँपालिकामा काँहुशिवपुर, भिरकोट, बैदी, कोटदरबार, राम्जाकोट र ऋषिङ रानीपोखरी गाउँ छन् । ऋषिङमा हाल करिव २५ हजार जनसङ्ख्या छ । तीमध्ये करिब ६७ प्रतिशत मगर छन् भने बाँकी ब्राह्मण, क्षेत्री, नेवार, कामी, दमाई र सार्कीलगायत छन् ।
कौरा नाचबारे किंवदन्ती
उक्त गाउँपालिकाको अधिकांश स्थानमा ठूला पहाड छन् । विगतमा पानी लिन जाँदा साना कुवामा पालो पर्खिएर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । यसरी मगर गाउँका मानिस कुवामा पानी जम्मा हुने पालो कुरेर बस्नुभन्दा नाचगान गरौँ भन्ने सोचले ‘पानी कुरुवा नाच’ भन्दै ‘कुरुवा नाच’ र कालान्तरमा ‘कौरा नाच’ हुन पुगेको भनाइ छ ।
अर्को भनाइअनुसार पहिले चाडपर्वका बेला जिम्वाल, वा मुखियाको घरमा मगर भेला भई नाचगान गर्ने र भोज खाएर आउने चलन थियो । मगरले जिम्वाल र मुखियाकोमा पुगेपछि ‘कानराह’ अर्थात् ‘हामी आयौँ है’ भन्थे । कानराह पछि अपभ्रम्स हुँदै कौरा भएको भनाइ पनि छ ।
त्यसैगरी अर्को भनाइअनुसार कुरकुरे वंैशका मगर युवा युवती भेला भई नाच्ने र गाउने भएकाले ‘कौडे उमेरका युवायुवती नाच्ने’ भन्दै गर्दा कालान्तरमा ‘कौरा’ हुन पुगेको समेत भन्ने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार