जेठ २५ गतेदेखि दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १५:२४:४७
२३ जेठ, टीकापुर । जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।
अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ ।
अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए । “दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको छ”, उनले भने, “दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ ।”
नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता प्रमुख समस्या रहेको गुनासो गरे ।
कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ ।
यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । “सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको छ”, उनले भने, “प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको जनाइएको छ । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना छन् ।”
सुदूरपश्चिममा एक सय २३ जना शङ्कास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए ।
टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ । खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ । टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
उक्त पालिकाले टीकापुरका ७५ स्थानमा खोप लगाउने तयारी गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए । “टीकापुरका ३२ वटा खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेका छन् । यसका साथै टीकापुर अस्पतालमा हरेक साताको दुई दिन खोप लगाइन्छ”, उनले भने, “यो अभियानमा यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि पुनः खोप लगाइने भएको छ ।”
खोप अभियान सञ्चालनका लागि हरेक विद्यालयलाई खोप केन्द्र बनाइएकाले शिक्षकको भूमिका अझ महत्वपूर्ण हुने बताइएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरीले विद्यालयमा खोप लगाउँदा शिक्षकको सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरले डेंगुको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने
असोज १०, २०८१ बिहिबार
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै
असोज १०, २०८१ बिहिबार
बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म
असोज ८, २०८१ मंगलबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार