सहकारीलाई ३० दिन भित्र विवरण पेस गर्न बालेन शाहको निर्देशन
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार ११:२६:५
१३ असार, काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरूको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेस गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमितताको खबर सार्वजनिक भइरहेको बेला महानगरले सो सूचना जारी गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई संकटग्रस्त हुनबाट बचाऔँ
सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचत कर्ताहरुलाई अनुरोध
वस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फतिले वित्तीय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्नो काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौँ ।
सहकारी संस्थाहरूमा अनुरोध :
— तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रुपले शेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।
सदस्य र बचतकर्ताहरुलाई अनुरोध
सहकारी संस्थाहरू बैँक होइनन् । यी संस्थाहरू सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनका लागि सदस्यहरूको निरन्तर निगरानी आवश्यक छ ।
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोबारको बारेमा नियमित रुपले जानकारी लिनु होला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरूको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारिहरुको आनीबानी र इमानदारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नु होला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनु होला ।
( कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोबार नगर्नु होला ।
— सञ्चालक समितिका पदाधिकारिहरुको पहिचान गरेर मात्र संस्थासँग कारोबार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षर युक्त कागजातसहित निक्षेप निस्सा लिनु होला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार