विमानस्थलपछि दोलखाको लामाबगर सुन तस्करीको दोसो रुट, ३३ किलो सुनका १२ जना तस्कर अझै फरार
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार ११:४९:३९
६ मंसिर, दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।
सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए । तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिनासमेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको छ ।
सो युनिट युएसडीटीको नेपाली कारोबार मूल्य करिब तीन खर्ब ८७ अर्बभन्दा बढी हुन आउँछ । नेपालमा क्रिप्टोकरेन्सी युएसडिटीको कारोबार प्रतियुनिट मूल्य रु एक सय ३३ देखि रु एक सय ३८ सम्म अवैधरूपमा कारोबार हुँदै आएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा सिआइबीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ डिजिटल वालेटको प्रयोग गरी क्रिप्टोमार्फत भुक्तानी गरिएको हो । यसरी भुक्तानी गरिएको रकम सुन तस्करीसँगै अन्य तस्करीसँग पनि जोडिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरी अनुसन्धानका क्रममा सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए । तिब्बतबाट अवैधरूपमा सुन नेपाल भित्र्याई काठमाडौँ लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई शिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाठकले बताए ।
सो समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् रु १० करोड ११ लाख १८ हजार डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ । विसं २०७९ मङ्सिरदेखि कात्तिक ८ गतेसम्म एउटै समूहले छपटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ । दोलखाका प्रहरी प्रमुख खड्काले बाह्र जना अझै फरार रहेको, उनीहरू पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्ति थपिन सक्ने र उनीहरूलाई पूरक अभियोग लगाइने बताए ।
प्रहरीले लामाबगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुनमध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानका क्रममा पाँच सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मूल्य रु १० करोड ६८ लाख ६८ हजार सात सय ६१ बराबर रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिबाट रु १८ लाख ३३ हजार पाँच सय नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैंकमा रहेको रु ३१ लाख ७४ हजार छ सय ६५ रोक्का राखेको छ ।
दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ रु र आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तीमध्ये एकजना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो । बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो ।
दोलखा प्रहरी र सिआइबीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदनसहित पक्राउ परेकालाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ । उनीहरुउपर भन्सार ऐन, २०६४, सङ्गठित अपराध निवारण ऐन, २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८, बालबालिकासम्बन्धी ऐन, २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पूरक अभियोग लिएर जाने प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन् । सुन तस्करीको अनुसन्धानमा संलग्न सिआइबीका प्रहरी निरीक्षक पाठकका अनुसार क्रिप्टोमार्फत १२ डिजिटल वालेट प्रयोग गरी भएको भुक्तानी सम्भवतः अहिलेसम्मकै ठूलो रकम हो ।
यो विषय पक्राउ परेकाहरूको डिजिटल इक्विपमेन्टको फरेन्सी ल्याब परीक्षणबाट खुलेको हो । क्रिप्टोकरेन्सीको ब्रोकरका रूपमा काम गरेकी महिमा माझीको डिजिटल फरेन्सी ल्याबको रिर्पोट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार