पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १२:१९:३५
डम्मर बुढा मगर / रासस
२७ पुस, ढोरपाटन 'बागलुङ' । एक दशक अगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् ।
खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन् । हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । भेडाबाख्रा पालेरै परिवार धान्नेहरूलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ ।
तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो । ७३ वर्षको उमेरमा पनि उनले दुई सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आएका छन् । बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आएका छन् । १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच÷सात घर मात्रै यो पेसामा रहेको उनको भनाइ छ । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउनुहुन्छ । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उनको भनाइ छ ।
“हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बँेसी गरिरहेका छौँ,” सिर्पालीले भने, “हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दाँैतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच÷सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि ९मृत्युपछि० गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।”
ढोरपाटन नगरपालिका–९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आउनुभएको छ । बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्षपहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाए । छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उनको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बि.क.ले बताए ।
उनले भने, “भेडाबाख्रा पाल्ने, वनजङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ÷सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।”
तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताए । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ ।
“पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,” उनले भने, “हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।”
बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिए । अहिले जिल्लाको दशवटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँगाउँमा पशु प्राधिकि खटाएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान
जेठ १७, २०८१ बिहिबार
दुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार