पुलको काम थालिएपछि काछवासी खुसी, अब सिरान उक्लनु नपर्ने
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १२:४८:२८
१६ फागुन, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थित चुरे काछका बासिन्दा पुल बन्ने आशामा खुसी भएका छन् । बर्दिबास–४ काछकै वरडाँडा बस्तीका श्याम थिङ भन्छन, “हेर्नोस् न, अहिले जङ्घाखोलामा पुल बन्न थालेपछि खोला वारिपारिका काछवासीलाई के–के न हुँदैछ भन्ने परेको छ । मान्छे खुसी हुन धेरै ठूलो काम चाहिने होइनरहेछ, मनले चिताएको कुरा भए पुग्यो ।”
चुरे शृङ्खलाको काछैकाछको आउजाउमा जङ्घाखोलाले दिएको दुःख सम्झँदै यहाँका बासिन्दा पुल निर्माण सम्पन्न भएपछि बर्दिबासचोक, बजार आवत जावत गर्न सजिलो हुने बताउँछन् । “बर्खे भेलको मात्रै कुरा होइन, वारिपारि गर्न करकरे बालुले नै डेग रोक्छ”, बर्दिबास–४ वरडाँडा सिरानबस्तीकी मनमाया तामाङ भन्छन्, “खै पुल बन्ने भनेर काम थालेका देख्छम्, अब हाटबजार, ओल्लोपल्लो गाउँ आउजाउ निकै सजिलो हुनेभयो ।” गर्मीयाममा खोेलाको भासिने तातो बालु छिचोल्न पर्ने दुःखका दिन पनि भेल पछिपछिको सास्ती रहेको उनको भनाइ छ ।
बर्दिबासका चुरे काछवासीको हाटबजार बर्दिबास, सर्लाहीको लालबन्दी र धनुषाको ढल्केवर रहँदै आएको छ । खासगरी तरकारीखेती गर्ने यहाँका किसान कृषि उपजको थोक किनबेच हुने हुँदा ढल्केबर र लालबन्दी बाक्लै पुग्छन् । हिउँदमा भासिने बालुमा कसैगरी ठेलठाल पारेर मोटरसाइकल र साना भ्यान निकालिए पनि बर्खाभरि भने वारिपारि गर्न पैदल पाँच मिनेट लाग्ने ठाउँमा १० किलोमिटर छिचोल्नुपर्ने दिक्दारी व्यहोर्दै आइएको बर्दिबास–४ र ५ का काछवासी बताउँछन् ।
पुल बन्न थालेको जङ्घाखोलाको यो ठाउँ बर्दिबास–४ र ५ को निकट भए पनि बर्दिबास–११, १० खयरमाराका १० भन्दा बढी बस्ती, बर्दिबास–३ का चार–पाँच र वडा नं १ को सिरान बस्तीका बासिन्दाको बाक्लो आउजाउको अत्यन्त चल्तीको सडकमा पर्छ । बर्खामा ओल्लोपल्लो बस्ती आउजाउ गर्नुपर्ने जरुरी पर्दा पूर्वपश्चिम राजमार्ग पुगेर फेरि सिरान उक्लनुपर्ने स्थिति पुल बनेपछि हट्ने बर्दिबास–५ चेरुका सामाजिक कार्यकर्ता भवानी पोखरेल बताउँछन् ।
काछवासीको हाटबजार पुग्न, ओल्लोपल्लो बस्ती आउजाउ सहज हुन पुल अब वरदान हुने यहाँका बासिन्दाको सपना छ । “हाम्रो वर्षौँको सपना अब पूरा हुने भयो”, पुल निर्माणको काम थालिदा दङ्ग परेकी बर्दिबास–४ नयाँटोलकी तारा मोक्तान भन्छिन्, “अब पुल बनेपछि वारिपारिका आफन्त प्रत्येक दुःख सुखमा सजिलै सामेल हुन सक्नेछन् ।” विगतमा पाँच–सात मिनेटको दूरीका जङ्घा वारिपारिका बस्तीमा मरनहरन पर्दा बर्खेभेलले छेकेर ठिक समयमा सामेल हुन नसकेको अवस्था पुल बनेपछि हट्ने उनको भनाइ छ ।
गत शनिबार पूर्वमन्त्री तथा नेकपा 'माओवादी केन्द्र' का उपमहासचिव गिरिराजमणि पोखरेलले शिलान्यास गरेसँगै पुल निर्माणको काममा सम्बद्ध निर्माण कम्पनीका कामदार निरन्तर लागेपछि यो निर्माण निश्चित समयमै सकिने चुरे काछवासीले आश सँगालेका छन् ।सरकारको रु १४ करोड ५९ लाख विनियोजित बजेटमा निर्माण थालिएको पुलको काम ठेक्का बन्दोबस्तबाट मेरना कन्स्ट्रक्सनले गर्दैछ । काम थालिएको एक वर्षभित्र निर्माण सम्पन्न गरिने शर्तअनुसार नै काम हुने निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणले कृषि उपज हाटबजार पुर्याउन काछवासीलाई सहज हुनेछ । यसैगरी ओल्लोपल्लो बस्तीबीच जस्तोसुकै भेलमा पनि आउजाउ खुल्ने बर्दिबास–५ चेरुकी सविना थापा बताउँछिन् । पुल बनेपछि वारिपारिका नानीहरूको विद्यालय आउजाउ पनि सजिलो हुँदा पायक विद्यालय पढ्ने थप अवसर बन्ने थापाको भनाइ छ ।
“पुल निर्माण थालिदा एकैचोटी कैयौँ कुराले नयाँ आश जगायो”, बर्दिबास–४ माईस्थानको माथ्लो भब्सीका रामजी पौडेल भन्छन्, “हाटबजारको सुगमता, दुःख सुखमा सामेल हुन सहजता र नानीहरूको विद्यालय आउजाउमा अहिलेको डर हट्ने भयो ।” पुलले वन्यजन्तुबाट हुने आक्रमण र तिनको आवागमन पनि सुरक्षित बनाउने काछवासी बताउँछन् ।
पुल निर्माणसँगै चुरेकाछ र राजमार्ग मास्तिरका करिब २५ हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने माओवादी केन्द्रका उपमहासचिव पोखरेलको विश्वास छ । निर्माणकार्य स्टिमेटअनुसार गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई झकझक्याइने र आवश्यक सामाजिक सहयोग गरिने स्थानीय मोहनबहादुर कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार