सत्ताबाट बाहिरिएको कांग्रेसले पुनः सत्तातिरै हेरिरहने कि दह्रो प्रतिपक्ष भएर सशक्त भूमिका निर्वाह गर्ने ?
भेषराज पोखरेल
फागुन २९, २०८० मंगलबार ७:०:६
भर्खरै सबैभन्दा गठबन्धन भत्केर ठूलो दल कांग्रेस सत्ताबाट बाहिर पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अति महत्वाकांक्षा र अति अस्थिर मानसिकताका कारण गठबन्धन टुटाए । २०७९ मा कांग्रेससँगको गठबन्धनमा निर्वाचन लडेको माओवादी केन्द्र परिणाम आएपछि प्रचण्ड आफू प्रधानमन्त्री बन्दै एमालेसँग गठबन्धन गर्न पुगे । त्यहाँ एमालेको शक्ति र त्यसका अध्यक्ष केपी ओलीसँग टिकेर आफ्नो दलको अस्तित्व जोगाउन नसकिने देखेर पुनः कांग्रेससँग गठबन्धन गर्न आए ।
अहिले फेरि उही गठबन्धन गर्न गए । कम्युनिष्ट नै भए पनि एमाले र माओवादी नेताहरूको महत्वाकांक्षा, अहम्, सोचाइ र व्यवहारका कारण धेरै कुरामा बेमेल छ । त्यसो हुँदाहुँदै पनि कम्युनिष्ट गठबन्धन यी दलको सपना बन्न गएको छ । कम्युनिष्ट एकता वा गठबन्धनबाट दह्रो सरकार बनेको देख्न चाहने उत्तरी छिमेकी चीनको रणनीति तथा केपी ओली र प्रचण्डको अति महत्वाकांक्षाका कारण कांग्रेससँगको गठबन्धन टुटेको हो । कांग्रेस नेताहरूले एक वर्ष पहिले जसरी र जुन कारणले गठबन्धन आफूसँग ल्याए त्यसरी नै अहिले गयो भन्ने नबुझ्ने हो भने कांग्रेसका शीर्ष नेताहरु मानसिक रोगी बन्ने निश्चित छ ।
दल गठबन्धनबाट बाहिर, सत्ताबाट विमुख भएपछि शीर्ष नेताहरु सत्तातिर हेर्दै छट्पटाइरहने कि सत्ताबाहिर रहेर भित्तो बन्दै सरकारलाई निश्चित बाटोमा हिँड्न बाध्य पार्ने सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ? गलत बाटोमा हिँड्नबाट रोक्ने ? यसले कांग्रेसको भविष्य निर्धारण गर्नेछ ।
नयाँ रुपमा गठबन्धन बन्यो, अब सबै कम्युनिष्ट शक्तिहरू एक बनाएर दह्रो कम्युनिष्ट केन्द्र बनाउने भन्न थालेका छन् । एमाले, माओवादीका नेताहरूले अब समाजवाद उन्मुख अर्थतन्त्र बनाउने, देशलाई नयाँ रुपमा अघि बढाउने भन्दैछन् । यी कुरा जरुरी अवश्य हुन् तर त्यसका लागि दुवै दलका शक्ति केन्द्रले त्याग गर्न सक्नुपर्छ । यो गठबन्धन, यसको निरन्तरता, कम्युनिष्टको एकीकरण र सत्ताको कार्य व्यवहारजस्ता सबै कुरामा एमाले अध्यक्ष केपी ओली, उनको वरिपरीको शक्तिकेन्द्रको घेरामा रहने नेताहरूको परीक्षण हुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको वरिपरीको शक्तिकेन्द्रको घेरामा रहने नेताहरूको गम्भीर परीक्षण पनि यो गठबन्धन सत्ताले गर्नेछ । अर्को, ०७४ मा यी दुई दललाई एकीकृत गराएको र पुनः अहिले कांग्रेससँगको गठबन्धन टुटाएर नयाँ गठबन्धन गराउन सफल भएको चीन शक्तिको परीक्षण पनि यही गठबन्धनले गर्नेछ । यी दलका शीर्ष नेतृत्वले आफ्ना अहम् त्यागेर एकले अर्काको अस्तित्व स्वीकार्न सक्लान् ? प्रचण्ड र ओली दुवै नेताहरु आफ्नो स्वार्थबाहेक अरु कुरामा गम्भीर देखिँदैनन् । ०७४ पछि बनेको शक्तिशाली सरकार ढल्नु र नेकपा फुट्नुमा यी दुई नेतामा रहेको दम्भ नै थियो । एमाले वा माओवादीका अन्य कुनै पनि नेताले नेकपा फुटोस् भन्ने चाहेका थिएनन् । चीनको साथ पनि त्यस बेला बलियो नै थियो ।
अर्थतन्त्रको ओरालो अवस्था, युवाहरूको डरलाग्दो पलायन, उद्योग व्यवसायको पतन, बाह्य उत्पादनको अति व्यापार तथा तस्करीका अनेक कारण बताउन सकिएला तर यी सबैको मुख्य कारण देशमा डरलाग्दो गरी जरा गाडेको दलाली करण र सरकार सञ्चालक, दलका शीर्ष नेता, उच्च कर्मचारी सबैतिर फैलिएको कमिसन तन्त्र हो । यी क्षेत्रबाट दलाली र कमिसन तन्त्र हटाउनेबित्तिकै अर्थतन्त्रले लय समाउन थालिहाल्छ । यस्ता काम सरकार सञ्चालक तथा यी कम्युनिष्ट नेताहरूले गर्लान् ? गठबन्धन बनाउन त चीन सफल भयो, अर्थतन्त्रका यी बेरूजु हटाएर आफ्नो देशले अँगालेको जस्तै व्यवस्थित खुला बजारमा आधारित पुँजीवाद र समाजवाद उन्मुख अर्थतन्त्रको सुरुवात गर्न पनि सघाउला ? कमजोर हुने गरी त के कुरा भयो र अहिले नै छ, नेपाललाई लाभ हुने गरी चीनले यी नेताहरूको माध्यमबाट बीआरआई कार्यान्वयन गराउन सक्ला ? कमजोर होस् वा दह्रो तर रणनीतिक अवस्थामा रहेका राष्ट्र आफ्नो पक्षमा रहे हुन्थ्यो भन्ने चाहना सबै राष्ट्रको हुन्छ ।
चीन, भारत वा टाढाका राष्ट्र अमेरिका, युरोपियन राष्ट्रहरूले नेपालतर्फ आँखा डुलाउनु, आफ्नो तरिकाले हिँडाउन प्रयास गर्नु अन्यथा होइन, स्वाभाविकै हो तर यहाँका राजनीतिक दलका नेताहरूले ती देशसामू नैतिकता गुमाउनु, क्षणिक स्वार्थमा डुब्नु, त्यहाँका राष्ट्र तथा सरकार प्रमुखहरूले बोलाएर सम्मान गर्दैमा नेपालको विकास भइहाल्छ र आफ्नो सत्ता शक्ति सधैं बढिरहन्छ भन्नु अत्यन्तै गलत छ । विकासका लागि हल्लाले त केही हुँदैन, ठूला दलका नेताहरूको व्यवहार नै सुध्रिनु अति आवश्यक छ । त्यसो भएमा नीति नियमले काम गर्न थाल्छन् । आमजनतामा आशा जाग्न थाल्छ । राज्य जिम्मेवार बन्न थाल्छ । होइन भने केपी ओलीको विकासको हुँकार, प्रचण्डको समाजवाद उन्मुख अर्थतन्त्र, समानता, शेरबहादुर देउवाको प्रजातान्त्रिक समाजवाद जनता ठग्ने माध्यम मात्र बन्ने हुन् ।
कांग्रेस सत्ताबाट हटेर सबै गुमाएको होइन, संघ र प्रदेश दुवै तहका सरकार मात्र गुमाउने हो । प्रतिपक्षमा रहेर जनताका काम गर्न, दुःख सुख बुझ्ने ठूलो अवसर पाएको हो । कांग्रेसका नेताहरूले जति सरकारतिर फर्केर र्याल चुहाउँछन्, गठबन्धन टुटाउन सकिन्छ कि भनेर प्रयास गर्छन् उति जनमत गुमाउँदै जाने हुन् । अब त दह्रो तथा सबल प्रतिपक्ष भएर बस्ने, ती खोलिएका भ्रष्टाचार, तस्करी र अनियमितताका फाइलमाथिको कारबाही कसरी जान्छ ? काे कसले उन्मुक्ति पाउँछन्, कसले सजाय पाउँछन् तिनको लेखा जोखा गर्नुपर्छ ।
अन्य कस्ता कस्ता क्षेत्रमा अनियमितता हुन्छ तिनलाई हेर्न सक्नुपर्छ । स्थानीय पालिकाहरुमा कसरी काम भएका छन्, कसरी प्रभावकारी बनाउन सकिन्छ ? भनेर गम्भीर भएर हेर्ने हुनुपर्छ । तराई मधेशमा तुलनात्मक रुपमा बढी अनियमितता हुन्छ त्यसको लेखा जोखा गर्न सक्नुपर्छ । अर्थतन्त्र अब कसरी लैजान सकिन्छ, सरकार कहाँ चुक्दैछ ? तस्करी, दलाली तथा कमिसनलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा कांग्रेसले बहस चलायो, समाधानका उपाय खोज्यो, लागू सरकारलाई बाध्य पार्न सक्यो भने जनताको माया पाउनेछ ।
वैदेशिक सम्बन्ध, व्यापार तथा लगानीका दुःख र समाधानका उपाय खोज्न पनि कांग्रेसले दिमाग खियाउनु आवश्यक छ । होइन, फेरि गठबन्धन फेर्न सकियो भने मिल्नुपर्छ भनेर दह्रोसँग बोल्न हिच्किचायो, केही पाइन छि भनेर र्याल काढ्यो भने कांग्रेसको पतन अझ द्रुत गति बढ्ने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
राज्यसंयन्त्र र नेताहरूको यस्तो व्यवहारमा समाजवादको कल्पना गर्न सकिएला ?
जेठ १५, २०८१ मंगलबार
प्रचण्डका अन्तिम ब्रम्हास्त्र हुन रवि लामिछाने
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार