शरीरलाई प्रोटिन किन जरुरी छ ? डा. अरुणा उप्रेती
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार ७:०:१
डा. अरुणा उप्रेती
२८ चैत, काठमाडाैं । प्रोटिन एमिनो एसिडहरू मिलेर बन्छ । प्रत्येक कोषको लागि यो महत्वपूर्ण हुन्छ । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । कपाल र नङ स्वस्थ राख्छ । शरीरले धेरै प्रकारका आन्तरिक रस हर्मोन बनाउन प्रोटिन नै चाहिन्छ । शरीरलाई दैनिक काम गर्दा चाहिने शक्ति प्रोटिनबाट आउँछ । शरीरमा प्रोटिनको कमी हुँदा थकान र कमजोरी महसुस हुन थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा उचित मात्रामा सेवन गर्नुपर्छ ।
प्रोटिनको कमी भयो भने मान्छे दुब्लाउँदै जाने हुन्छ । बच्चामा प्रोटिनको कमी भएर सुकेनास र फुकेनासको समस्यासमेत देखिन्छ । नेपालमा पहिले यस्तो समस्या धेरै थियो । यो समस्या अहिले कम हुँदै गए पनि गाउँघरतिर अझै देखिँदै छ । मधुमेह भएको व्यक्तिलाई प्रोटिन कमी भएमा शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न समस्या हुन्छ ।
शरीरमा प्रोटिनको कमी भएमा रक्त अल्पता पनि हुन्छ । अनि रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । शरीरमा प्रोटिनको निकै कमी भए जोर्नीसमेत दुख्छ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत असर पर्छ । यसले गर्दा जोर्नीको लचिलोपन हराउँछ र जोर्नी दुख्ने गर्छ ।
एक सामान्य वयस्क व्यक्तिलाई दैनिक शरीरको तौलको प्रतिकिलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यस बाहेक दैनिक व्यायाम गर्ने व्यक्तिका लागि प्रतिकिलोग्राम तौलमा १ ग्रामदेखि १.५ ग्राम प्रोटिनको मात्रा आवश्यक हुन्छ । तर प्रोटिन खाने भनेर जथाभावी धेरै खाँदा समस्या पनि हुन सक्छ । प्रोटिनको धेरै सेवन पनि हानिकारक हुन सक्छ । यसले मृगौलामा क्षति पु¥याउन सक्छ ।
गर्भावस्थामा भने महिलालाई सामान्य अवस्थाभन्दा बढी प्रोटिनको जरुरत पर्छ । प्रोटिनको कमीले गर्दा आमा र बच्चामा रगतको कमी पनि हुन्छ । बालबालिकाको लागि लिटो बनाउँदा पनि प्रोटिन भएको अन्न र गेडागुडीको प्रयोग गर्न सकिन्छ । लट्टेको दाना, गहुँ, जौ, फापर आदिमा पनि पर्याप्त प्रोटिन हुन्छ ।
जस्तो– १०० ग्राम लट्टेको दानामा १५ ग्राम, फापरमा १० ग्राम, चिउरामा ६.६ ग्राम प्रोटिन पाइन्छ । १०० ग्राम चना, मुसुरो, मुग, बोडी, मास, राजमामा त २० देखि २५ ग्राम प्रोटिन पाइन्छ । १०० ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाइन्छ । यस्ता दाल, गेडागुडी, अन्न आदि कुनै न कुनै वस्तु विभिन्न तरिकाले खाँदा शरीरमा पर्याप्त प्रोटिन पुग्छ ।
हरियो धनियाँ, मेथीको साग, हरियो कर्कलो, ब्रोकाउली, लसुनको पातमा पनि केही न केही प्रोटिन पाइन्छ । यसरी भान्सामा भएको दाल र अन्नको प्रयोग गरी पर्याप्त प्रोटिन खाएर स्वस्थ रहन सकिन्छ । शाकाहारी खानेकुरामा प्रोटिन नपाइने भन्ने होइन । शाकाहारी स्रोतहरूमा सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दूध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउलीलगायत पर्छन् ।
सिमी प्रोटिन र रेसादार तत्वको निकै राम्रो स्रोत हो । पोषणविद्हरु् यसलाई प्रोटिनको ‘पावरहाउस’ पनि भन्छन् । सुकाइएको र हरियो सिमी सबैमा प्रोटिनको साथै पर्याप्त मात्रामा भिटामिन ए, सी, के र बी-६ पाइन्छ । एक कप उमालेको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ । माछा, अण्डा सबै प्रोटिनका स्रोत हुन् ।
गहुँ, चना, मुँग, दालजस्ता उमारिएको गेडागुडीमा प्रोटिन निकै बढी पाइन्छ । एक कप उमारिएको अन्नमा १३ देखि १६ ग्रामसम्म प्रोटिन हुन्छ । यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ । उमालेर या पकाएर खानाले पनि यसमा भएको प्रोटिनले फाइदा नै दिन्छ । शिशुको शरीरमा प्रोटिन पाउनको लागि घरमा बनाएको खाना नै दिनुपर्छ ।
बट्टाका शिशु भोजनमा प्रोटिन कम तर बढी चिनी, बढी नुन र बढी चिल्लो हुन्छ र सानैदेखि शरीरमा यस्ता तत्वहरु बढी हुँदा पछि स्वास्थ्यमा अनेक थरीका समस्या पर्न सक्छ । हाम्रो पुरानो चलन अनुसारका विभिन्न अन्नहरू मिसाएर बनाएको पिठोको लिटो, हलुवामा प्रोटिनको साथै शिशुको शरीरलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व पाइन्छ । त्यसै गरी सुत्केरी र गर्भवती आमाको लागि चाहिने प्रोटिनयुक्त पौष्टिक तत्वहरु पनि घरेलु खानाबाट नै पाइन्छ ।
दालमा प्रोटिनको मात्राको साथै रेसादार तत्व पनि पर्याप्त हुन्छ । भात र तरकारीसँग दाल मिश्रण गरेर खाँदा शरीरमा चाहिने खनिज तत्वहरु सहजै शरीरमा जान्छ । दाल, गेडागुडीमा रहेको रेसादार तत्वको कारणले शरीरमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । प्रोफेसर पिटर इलिस (किङ्स कलेज, लन्डन) भन्छन्, ‘प्रोटिनयुक्त विभिन्न दालहरु प्रयोग गर्दा आलु खाएजस्तो शरीरमा एक्कासी इन्सुलिनको मात्रा बढ्दैन । त्यसले गर्दा चिनीको मात्रामा घटबढ हुन पाउँदैन ।’
प्रोटिनले भरिपूर्ण ‘पूरक आहार’ खानुपर्छ भनेर धेरै भ्रामक विज्ञापन भइरहेको हुन्छ । यसको लागि विश्वभरमा खर्बाै रूपैयाँ खर्च गरिन्छ । मान्छेलाई स्वस्थ रहन ‘बजारको प्रोटिन’ चाहिन्छ भन्ने भ्रम छ । तर प्रोटिन पाउन महँगा औषधि र प्रोटिन सेक खान पर्दैन । शाकाहारी व्यक्तिले पनि विभिन्न वनस्पति, अन्न आदिको प्रयोग गरेमा पर्याप्त प्रोटिन पाउन सकिन्छ । तर बुझ्नुपर्ने कुरा के छ भने मधुमेह, मृगौला समस्या, मुटुका समस्यालगायत विभिन्न शारीरिक समस्या भएकाहरुले कति प्रोटिन प्रयोग गर्नु उपयुक्त हुन्छ भन्ने बारेमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् गर्मीबाट बच्ने उपाय
बैशाख १८, २०८१ मंगलबार
गर्मी मौसममा दिनहुँ चिसो पेय पदार्थ पिउनुहुन्छ ? तुरुन्त बानी सुधार्नुहोस्
बैशाख १७, २०८१ सोमबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार