बिरामी जाँच्ने स्वास्थ्य चौकी आफैँ घाइते
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १३:१:२३
२९ चैत, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो ।
“स्वास्थ्य चौकी आफैँ घाइते छ । बिरामी भएर जाँदा पनि निकै डर हुन्छ”, माछापुच्छ्रे–९ सैतीघट्टकी धनमाया तामाङले दुखेसो सुनाइन् । घर नजिकै रहेको उक्त स्वास्थ्य चौकी जीर्ण भए पनि अहिलेसम्म नयाँ नबनेको उनले गुनासो गरिन् ।
“जाँच्न जाँदा पनि कतै भत्किएर पुरिन्छ कि भन्ने चिन्ताले सताउँछ”, तामाङले भनिन्, “धेरै पुरानो घर हो । काठहरू सबै पुरानो भइसकेका छन् ।” सरकारले नयाँ भवन निर्माण गरी सहज र भयरहित स्वास्थ्य दिनुपर्नेमा उनले जोड दिए ।
विसं २०४५ मा निर्माण भएको उक्त भवनको माटो र ढुङ्गाको गारो चर्किएका छन् । ढुङ्गाले छाएको छानो अड्याउन टेको लगाइएको छ । बिरामी जाँच्ने थलो ल्वाङ्ग घलेल स्वास्थ्य चौकी आफैँ घाइतेजस्तै देखिने गरेको स्थानीय बताउँछन् ।
विसं २०७२ को भूकम्पपछि भवन पूर्णरुपमा जीर्ण बनेको स्वास्थ्य चौकीका सिनियर अहेब हरिबहादुर मल्लले बताए । “भूकम्पको समयमा भित्ता केही चर्किएको थियो । त्यसपछि छानो अड्याउने काठ नै भाँचियो । अनि हामीले नै टेको लगाएर अड्याएका हौँ”, उनले भने, “विविध कारणले अहिलेसम्म नयाँ भवन बनेको छैन, टेकोकै भरमा धानिएको छ ।”
जीर्ण भवनबाट त्रासैत्रासमा सेवा दिनुपरेको अहेब मल्लले बताए । “मनमा एकदमै डर भइरहन्छ । बिरामीलाई असर पर्छ कि भन्दै जाँच्नुपर्छ”, उनले भने, “हामी पनि यहाँ बसिरहँदा भत्केर दुर्घटना हुन्छ कि भनेर त्रास रहिरहन्छ ।” भवन जीर्ण हुँदा टेको भत्किने मात्र नभए पानी चुहिने अनि भलपानी भवनभित्र पस्ने समस्या रहेको उनले जानकारी दिए ।
भवनको अवस्थाले गर्दा सेवाग्राहीसमेत घटेको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सक्रिज लामिछानेले बताए । उनका अनुसार हाल दैनिक १०–१२ जना बिरामीमात्रै जाँचका लागि आउँछन् । यसअघि दैनिक ३५ जनाको हाराहारीमा बिरामीलाई सेवा दिँदै आइएको उनको भनाइ छ ।
भवनको तीनवटा कोठामध्ये बीच कोठाको धुरी अड्याउने काठ भाँचिए पनि अन्य दुई कोठा सामान्य रहेको हेल्थ असिस्टेन्ट लामिछानेले बताए । “भवन बनेको लामो समय भइसकेको छ । बीच कोठाको छानो झर्नै लागेको छ । हावाहुरी लाग्दा अन्तै गएर बस्नुपर्छ”, उनले भने, “हामीले नयाँ भवन बनाउनका लागि वडाध्यक्षलाई भनिरहेका छौँ । अध्यक्षज्यूले पनि सकेको पहल गरिरहनुभएको छ ।”
यो स्वास्थ्य चौकी माछापुच्छ्रे मोडल पदमार्गअन्तर्गत पर्दछ । पदयात्रामा निस्कने विदेशी तथा आन्तरिक पर्यटकले स्वास्थ्य चौकीबाट लाभ लिने हुनाले पनि यसको टेको हटाएर भवनको पुनः निर्माण गर्नुपर्ने आवश्यकता रहेको हेल्थ असिस्टेन्ट लामिछानेले बताए । उनका अनुसार अहिले चौकीमा एक हेल्थ असिस्टेन्ट, एक सिनियर अनमी, एक सिनियर अहेब र एक कार्यालय सहयोगी गरी चारजना कर्मचारी छन् ।
“हामीसँग पाँचजना प्राविधिक कर्मचारी हुनैपर्ने हो । अहिले एकजना कार्यालय सहयोगीसहित चारजना छौँ”, हेल्थ असिस्टेन्ट लामिछानेले भने, “एकजना नर्स र एकजना पारामेडिक्सको कमी छ । हामीले जीर्ण भवन र कम कर्मचारीका बीच पनि स्थानीयलाई राम्रो स्वास्थ्य सेवा दिने प्रयत्न गरिहेका छौँ ।”
नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए । “वडाध्यक्षका साथै म सामाजिक विकास समितिको पनि संयोजक हुँ । मेरो वडामा सञ्चालित स्वास्थ्य संस्थाको यो अवस्था हुँदा आफैँ लज्जित छु”, उनले भने, “यसका लागि कार्यपालिकाले निर्णय गरेर सङ्घीय सरकारसँग विशेष योजना माग गरिएको छ ।”
सङ्घीय सरकारबाट आँउदो आर्थिक वर्षमा विशेष योजनामार्फत भवनको योजना नपरेमा गाउँपालिकाबाट बनाउने वडाध्यक्ष क्षेत्रीले बताए । “यो वर्ष सङ्घीय सरकारबाट नै स्थानीय तहलाई दिने विशेष अनुदानको योजनामा स्वास्थ्य चौकी पर्छ भन्नेमा हामी ढुक्क छौँ”, उनले भने, “नपरेको खण्डमा गाउँपालिकाबाट अन्य वडाको बजेटको सिलिङ घटाएर भए पनि काम गर्नेछौँ ।”
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले स्वास्थ्य चौकीलाई चालु आर्थिक वर्षमा रू तीन लाख छुट्याइएको बताए । उक्त रकमले सबै काम सम्पन्न नहुने भएपछि रकमान्तर गरिएको उनको भनाइ छ ।
“चालु आवमा रू तीन लाख छुट्याएका थियौँ । त्यसले केही नहुने भएपछि सङ्घीय विशेष अनुदानमा माग गरेर पठाएका छौँ”, अध्यक्ष गुरुङले भने, “विनियोजित रकम स्वास्थ्य चौकी जाने बाटो निर्माणमा खर्च भयो । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर सङ्घ सरकारलाई बुझाएका छौँ ।”
आगामी आवमा सङ्घीय सरकारमार्फत स्थानीय तहलाई छुट्याइएको रकम स्वास्थ्य चौकी निर्माणमा परिचालन गर्ने योजना रहेको उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार