कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १५:०:२
२५ वैशाख, नवलपरासी । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ ।
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो ।
कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताए । प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उनले बताए ।
यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उनले दैनिक दुई किलोमिटरसम्म कालोपत्र गर्न सकिने बताए । प्लान्ट कावासोती–१६ स्थित सुक्खा खोलाको किनारमा जडान गरिएको छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक तीन÷चार स्थानमा कालोपत्र गर्न सक्ने अवस्था रहेको झाको भनाइ छ ।
“अहिले सडकमा सब बेस र बेस तयार भएको ठाउँमा कालोपत्र गरिरहेका छौँ”, उनले भने, “विभिन्न कारणले गर्दा हाम्रो हटमिक्स प्लान्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।” दैनिक आठ घण्टामात्र प्लान्ट सञ्चालन हुने हो भने पनि १० दशमलव ५० मिटर चौडाइ र ६० मिलिमिटर मोटाइमा दैनिक दुई किलोमिटर कालोपत्रको कार्य सजिलै गर्न सकिने उनले बताए ।
नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यस सडक विस्तारका लागि जडान गरिएको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा आयोजनालाई केही फाइदा नभएको बताए । “सडक विस्तारका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण पनि न्यून परिचालन भएको छ”, उनले भने, “यो लामो दिनमा पनि दैनिक ८÷९ घण्टाभन्दा बढी काम हुन सकेको छैन, जसले गर्दा काममा ढिलाइ भएको छ ।”
बाटो सम्याउने ग्रेडर आवश्यकताभन्दा आधा कम भएको भन्दै उहाँले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रको काम ढिला हुने बताए । “प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको खण्डमा प्रतिघण्टा करिब १६ वटा गाडीमा अस्फाल्ट भरेर कालोपत्र गर्ने ठाउँमा पठाउँदै कामलाई तीव्रता दिन सकिन्थ्यो”, उनले भने, “निर्माण कम्पनीलाई जनशक्ति र उपकरण बढाउन पत्राचार गर्दा पैसाको अभाव भएको सुनाउँछ ।”
निर्माण कम्पनीले एक प्रतिशत काम गरेपछि भुक्तानी पाउने गरी सम्झौता भएको र सोही अनुसार भुक्तानी भइरहेको खनालले बताए । “यो पूर्वीखण्डको ठेक्का रकम रु नौ अर्ब ३८ करोड रहेको छ, यसको एक प्रतिशत काम भएपछि निर्माण कम्पनीले भुक्तानी दाबी गर्ने र योजनाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएको छ”, उनले भने, “निर्माण कम्पनीले यहाँबाट पाएको पैसाले मात्रै काम गरिरहेको छ, उसले थप पैसा लगानी गरेर काम गर्ने चासो नदेखाउँदा काममा ढिलासुस्ती भएको हो ।”
निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्नेगरी वि.सं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेर काम सुरु गरेको थियो । दुई पटकसम्म म्याद थप भइसकेको योजनाको हालसम्म भौतिक प्रगति ५० दशमलव ६२ प्रतिशत मात्रै पुगेको इन्जिनियर खनालले बताए ।
दोस्रोपटक थप भएको म्याद आगामी साउन ८ गते सकिने यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ३७ किलोमिटर कालोपत्र, २१ साना पुल निर्माण, एक सय ६३ कल्भर्ट निर्माण भएको तथा आठ ठूला पुलको निर्माण अन्तिम चरणमा रहेको खनालले बताए ।
विस्तार सुरु भएको पाँच वर्ष नाघ्दासमेत आधा मात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीय र यात्रुहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्र नभएको ठाउँमा उड्ने धुलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नति हुँदै
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार