बजेट अभावमा खानेपानी आयोजना अधुरै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १२:५९:११
♦ डम्मर बुढा मगर
९ जेठ, बागलुङ । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।
बडिगाड गाउँपालिका–३ मा चरम खानेपानीको अभाव भएपछि आर्थिक वर्ष २०६७/६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । उक्त आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।
रु दुई करोड ८५ लाख २९ हजारमा काम सक्ने गरी सुरु भएको आयोजना १२ वर्षसम्म पनि ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताए ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख मात्रै विनियोजन गरेको भन्दै आयोजना सम्पन्न गर्न अझै रु एक करोड चार लाख ७० हजार आवश्यक पर्ने उनको भनाइ छ । उनका अनुसार यो योजनाका लागि हालसम्म रु एक करोड ८० लाख ५६ हजार खर्च भएको छ ।
ढोरपाटन नगरपालिका–२ र ३ मा आर्थिक वर्ष २०७४/७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आवमा सरकारले रु १५ लाख विनियोजन गरेको थियो ।
रु पाँच करोड ३४ लाख ५२ हजार लागतमा निर्माण हुन लागेको उक्त आयोजना सम्पन्न गर्न अझै रु तीन करोड आवश्यक पर्ने खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । हालसम्म यो आयोजानामा रु ८५ लाख ७९ हजार खर्च भएको उनको भनाइ छ ।
जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष २०७५/७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । रु तीन करोड १४ लाख एक हजार लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ ।
चालु आवमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको डिभिजन प्रमुख पौडेलले बताए । उनका अनुसार आयोजना सम्पन्न गर्नका लागि अझै रु तीन करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । आव २०७६/७७ मा जिल्लाको बडिगाड गाउँपालिकामा भिरकटेरा खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो । रु दुई करोड ९९ लाख ७९ हजार लागतमा निर्माण सुरु भएको आयोजनको हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
चालु आवमा उक्त आयोजनाका लागि रु १० लाख बजेट विनियोजन भएको जनाउँदै आयोजना सम्पन्न गर्न थप रु एक करोड ४० लाख आवश्यक पर्ने प्रमुख पौडेलले बताए । उनका अनुसार यस आयोजनामा हालसम्म रु तीन करोड १४ लाख एक हजार खर्च भइसकेको छ ।
बडिगाड गाउँपालिका–४, ५ र ८ मा आव २०७/७७ मा नेटाखर्क जलजला बृहत् खानेपानी आयोजना सुरु भएको थियो । छ करोड नौ लाख ९० हजार लागत निर्माण हुन थालेको यस आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ ।
चालु आवमा प्रदेश सरकारबाट रु १० लाख विनियोजन भएको भन्दै आयोजना सकिन अझै रु तीन करोड ७९ लाख ९४ हजार लाग्ने प्रमुख पौडेलले बताए । यस आयोजानमा हालसम्म रु ६६ लाख २५ हजार मात्र खर्च भएको उनको भनाइ छ ।
“आयोजना निकै ठूला–ठूला छन् तर बजेट थोरै आउँदा समयमै काम सम्पन्न गर्न समस्या भएको छ । करोडौँका आयोजना छन्, बजेट रु १०÷१५ लाख मात्रै आउँछ, यसरी हेर्दा एउटा आयोजना सकिन वर्षौं लाग्ने देखिन्छ”, प्रमुख पौडेलले भने, “बजेट अभावका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौँ । आएको जति बजेटले धमाधम काम गरिरहेका छौँ ।”
ढोरपाटन नगरपालिका–२ का विकास सुनारले आयोजना सुरु भएको सात वर्षसम्म जम्मा २५ प्रतिशत काम हुनु दुःखद भएको बताए । हिउँदको समयमा बुर्तिबाङसहित आसपासका ठाउँहरूमा खानेपानीको चरम अभाव हुने भन्दै यसतर्फ सरोकार भएकाको ध्यान नजाँदा आयोजनाको कामले गति लिन नसकेको उनको गुनासो छ ।
यहाँका हजारौँ नागरिक वर्षौंदेखि खानेपानीका लागि लाइन कुर्नुपर्ने वाध्यतामा रहेका भन्दै ती आयोजना सरकारको प्राथमिकतामा पर्न नसकेको सुनारले बताए । “कतै करोडौँका योजना पर्छन्, करोडौँ बजेट पनि पुग्छ, तर यहाँका हजारौं जनता खानेपानीको समस्याबाट ग्रसित छन्, आयोजना सुरु पनि भएको वर्षौं बितिसक्दा पनि बजेट अभावले काम सम्पन्न भएका छैनन्”, उनले भने, “करोडौँका आयोजनामा जम्मा रु १५ लाख आउँछ, यसरी २० औँ वर्षसम्म पनि काम सकिँदैन, जनता सधैँ खानेपानीको समस्यामा हुन्छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार
मुहानको विवादले संकटमा पाँचथरको खानेपानी योजना
असार ६, २०८१ बिहिबार
‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डीपीआर
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार