दिक्तेलमा साकेला उँभौलीको मैझारो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार २१:२५:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/saakela_Qe19K3xqiv_FEvFGfZY2l.jpg)
१ असार, खोटाङ ।
सारङ्गी र्याइँ–र्याइँ रेटौँला !
अर्को साल फेरि भेटौँला !!
भेटौँला लै–लै भेटौँला !!!
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान आज दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जायमान बन्यो । ढोल–झ्याम्टका तालसँगै नाच्न कस्सिएका बालबालिकादेखि बूढापाकासम्म साकेला सिलीमा रमाइरहँदा मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।
किराँत राई यायोक्खा र किरात सेवा समाज खोटाङले आज संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैर किराँतले समेत लहर मिलाएर सिली नाचे । माझ किराँत भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उँभौली चाड औपचारिक रूपमा मैझारो (समापन) गरिएको छ ।
किराँती समुदायले वैशाख पूर्णिमामा उँभौली र मङ्सिर पूर्णिमामा उँधौली गरी वर्षमा दुईपटक साकेला सिली चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उँभौली भन्ने गरिएको हो ।
उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस् लगायतका कामना गर्दै प्रकृतिको पूजा गर्ने प्रचलन छ । तीनचुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउ माइती, युवायुवतीलगायत सहभागी भएर साकेला गीत गाउँदै सिली नाच्ने गरिन्छ ।
उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।
साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको छ । उभौलीका अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खालगायत किरातका महत्वपूर्ण थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली नाचिन्छ ।
साकेला सिली किरातीले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगशन किरातले बताए ।
मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिएको साकेला उभौली एक महिनापछि आज दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी भएर सामूहिक रूपमा साकेला सिली नाचेका थिए ।
छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराँती मौलिक वेषभूषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरुन् भन्ने कामनासहित साकेला उँभौली तथा उँधौली मनाइन्छ । हातखुट्टाको चालले पङ्क्तिबद्ध भएर साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्न बाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ ।
साकेला उँभौली तथा उँधौलीको अवसरमा किराँत समुदायको घनाबस्ती रहेका हरेक गाउँ तथा टोलहरू ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जायमान बन्ने गर्छन् । साकेला उँभौली तथा उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । यसलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।
यसैबीच उँभौली चाड समापनका अवसरमा साकेला सिली प्रतियोगितासमेत आयोजना गरिएको थियो । विभिन्न जिल्लाका २३ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा किरात राई यायोख्खा प्रारम्भिक समिति भोजपुर देउराली पहिलो भएको छ ।
प्रतियोगितामा जनसांस्कृतिक युवा समूह रतन्छा दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो तथा कर्णकुमारी राई स्मृति प्रतिष्ठान सान्त्वना भएका छन् । विजयी समूहलाई क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र रु पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलामको फाकफोकथुममा बने ६ वटा सिँचाइ आयोजना
असार ५, २०८१ बुधबार
भिजिबिलिटी कम हुँदा लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
असार ४, २०८१ मंगलबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
शुक्रबार ढलान गर्ने तयारी गरिएको कालीगण्डकी करिडोरको मोटरेबल पुल बाढीले बगायो
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड
असार ७, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
असार ७, २०८१ शुक्रबार
दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता
असार ७, २०८१ शुक्रबार