मुहानको विवादले संकटमा पाँचथरको खानेपानी योजना
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १४:६:१
६ असार, पाँचथर । मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी लैजान नदिएपछि पाँचथरको सिदिन–याङनाम खानेपानी योजना संकटमा परेको छ । फालेलुङ गाउँपालिका–६ र ७ को सीमामा अवस्थित प्युरेखोलामा मुहान थापेर सञ्चालन गर्न लागिएको योजनाको मुहानको विवादले समस्यामा परेको हो ।
मुहान प्रयोग गर्ने विषयमा लामो समयदेखि संवाद हुँदै आए पनि स्थानीयवासी अझैसम्म मुहान प्रयोग हुन दिने पक्षमा छैनन् । यही खोलामा मुहान थापेर खानेपानी र सिँचाइका योजना सञ्चालनमा रहेको, पानीका मुहान क्रमशः सुकिरहेको अवस्थामा यहाँ मुहान दिए निकट भविष्यमै आफूहरूको जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीयवासीको भनाइ छ । जसकारण करिब ९१ प्रतिशत भौतिक प्रगति गरेको योजना अघि बढ्न सकेको छैन ।
जिल्लाको फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ का सुक्खा प्रभावित क्षेत्रका एक हजार दुई सय ११ परिवारका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामबाट योजना निर्माण भइरहेको छ । विसं २०७९ असार २३ गते ठेक्का सम्झौता भई निर्माण थालिएपछि नै फालेलुङ गाउँपालिका–७ ले अनुमति र जानकारी नलिई योजना निर्माण सुरु भएको भन्दै निर्माणकार्य रोक्न पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलपछि निर्माण सुरु भएको थियो ।
विसं २०८० असोज १३ गते फालेलुङ वडा नं ६ को कार्यालयले समेत निर्माणकार्य रोक्न भनेपछि मुहान क्षेत्रमा काम ठप्प भएको थियो । यद्यपि उपभोक्ता समिति र निर्माण कम्पनीले वितरण क्षेत्रमा निर्माणकार्य धमाधम सम्पन्न गरेका थिए । मुहानको विवाद समाधान गर्न गत वैशाख १३ र जेठ २० गते सर्वपक्षीय बैठक बसे पनि समाधान निस्कन नसकेको फालेलुङ–८ का वडाध्यक्ष श्रीहाङ केरुङले बताए । सर्वपक्षीय बैठकले समाधान निकाल्न नसकेपछि गत जेठ २६ गतेबाट मुहान क्षेत्रमा संरचना निर्माण थालिएकामा जेठ ३१ गते स्थानीयवासीले अवरोध गरेपछि निर्माण रोकिएको वडाध्यक्ष केरुङले बताए ।
चालु आवमा योजनाका लागि छुट्टिएको बजेट निकासा गराउनुपर्ने, समयमा निर्माणकार्य रोकिएपछि प्राप्त भएको बजेट फिर्ता हुने र भविष्यमा बजेट प्राप्त गर्ने सम्भवना कम भएको फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ । बजेट फ्रिज भएपछि यो योजनाको भविष्य अन्योलमा पर्छ, उनले भने, दुई वडाको खानेपानीको समस्या समाधानका लागि उक्त योजनाको मुहानभन्दा अर्को उपयुक्त विकल्प पनि छैन ।
मुहान क्षेत्रका बासिन्दाले खानेपानी नदिए आफ्नो क्षेत्रबाट सञ्चालन भएको सडक, विद्युत्, इन्टरनेटलगायत सेवासमेत अवरुद्ध पार्ने योजनाको लाभान्वित क्षेत्रका बासिन्दाले चेतावनी दिएका छन् । उपभोक्ताको भेलाले समस्या समाधान नभए यही असार ९ गतेबाट मुहान क्षेत्र फालेलुङ गाउँपालिका वडा नं ७, ६ लगायतमा प्रवाह हुने विद्युत्सहित सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको उपभोक्ता समितिका सचिव भुवन जबेगूले बताए ।
मुहान क्षेत्रका बासिन्दाले भने आफूहरूसँग समन्वय नै नगरी योजना निर्माण थालिएकाले खानेपानी दिन नसकिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही समयअघि भएको सर्वपक्षीय छलफलमा मुहान क्षेत्रका बासिन्दा प्रकाश केरुङले भने, त्यही मुहानबाट सिँचाइको व्यवस्था गर्नुका साथै जीविकोपार्जनको माध्यम अलैँची बनाएका छौँ । योजनाले अर्को उपयुक्त मुहान खोज्नु ठिक हुन्छ ।
पटक–पटक भएका छलफल स्थानीयवासी मुहान दिन तयार देखिएका छैनन् । यता उपभोक्ताले भने सुक्खायाममा मुहानमा हुने पानीको एकतिहाइ पानी दिन आग्रह गरिरहेका छन् । वर्षायाममा भने पानी प्रशस्तै हुने हुनाले मुहान क्षेत्रमा कुनै प्रभाव नपर्ने उपभोक्ताको तर्क छ ।
यस योजनामा अहिलेसम्म ९१ प्रतिशत भौतिक प्रगति र ८३ प्रतिशत वित्तीय प्रगति भएको छ । विसं २०७९ असार २३ मा अञ्जना–पराजुली–पाथीभरा जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी रु १३ करोड ६० लाख ९१ हजार छ सय ८६ लागतमा योजनाको ठेक्का लिएको थियो । मुहानको विवाद र निर्माणकार्यमा अवरोध हुँदा आयोजनाको भविष्य नै संकटमा पर्ने निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताए ।
योजनाले एक हजार दुई सय ११ घरका पाँच हजार आठ सय तीन जनसंख््या लाभाविन्वत हुनेछन् । योजनामा ७२ दशमलव २३ किलोमिटर पाइपलाइन, ११ वटा मुख्य पानी भण्डारण ट्यांकी, २३ वटा बिपीटी, ४५ वटा भल्भ च्याम्बर, ८० वटा ब्लक तथा पाइप सपोर्ट पोस्ट, फिल्टर ट्यांकीलगायत संरचना छन् । योजनाको निर्माणकार्य गरेवापत हालसम्म रु ११ करोड ३६ लाख १४ हजार आठ सय ५३ रकम आफूलाई भुक्तानीसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
योजनाको सबै पानी भण्डारण ट्यांकी, उपभोक्ता समितिको भवन, पानी प्रशोधनशाला निर्माण भइसकेकोे छ । पाइपलाइन तथा वितरण लाइनको अधिकांश निर्माणकार्य सकिएको छ भने एक हजार दुई सय ११ घरमध्ये एक हजार ३२ घरमा धारा जडान सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
बाढीले पानी धमिलिएपछि अम्बाथानस्थित मेलम्ची सुरुङको मूलद्वार आजदेखि बन्द हुने
असार १०, २०८१ सोमबार
भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार