आजदेखि सोह्र श्राद्ध सुरु, कस्तो छ शास्त्रीय मान्यता ?
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ६:४३:४०
२ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउँदै उनले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्ने बताए । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि सुझाव दिए।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
आजदेखि सुरु गर्यो सहुलियत पसल : चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुट ! [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने
असोज ३, २०८१ बिहिबार
असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने
असोज ३, २०८१ बिहिबार
पहिलो दिनमै पचीस सय सर्वसाधारणले चढे धरहरा
असोज ३, २०८१ बिहिबार