कांग्रेस नेता गिरीले गरे नीति तथा कार्यक्रमको समर्थन ! महासचिव पौडेल सजाय भोग्न तयार
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार २१:१६:५३
काठमाडौं । ने क पा भित्र नै सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे विषयलाई लिएर विराेध भइरहेका बेला कांग्रेस नेता एवं प्रतिपक्ष दलका सांसद प्रदिप गिरी फरक शैलीमा प्रस्तुत भएका छन् । उनले सरकारले ल्याएका नीति कार्यक्रमकाे सुक्ष्म चिरफार र फरक बहसकाे पाटाे खाेलेका छन् ।
उता बालुवाटारको ललितानिवास परिसरको जग्गा प्रकरणपछि नेपाल कम्युनिस्ट पार्टी ने क पाका महासचिव विष्णु पौडेलले आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
आज संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भिरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने पनि बताए ।
उनले ‘ललितानिवास परिसरको जग्गा प्रकरणमा गम्भिरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उनले भने ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’
सरकारले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन चालेको कदमको स्वागत गर्ने पनि नेता पौडेलले बताए ।
प्रदिप गिरीको पृथक बहस : (नेता गिरीले संसद भवनमा गरेकाे भाषणका अंशहरू २०७६ वैशाख २३ गते साेमबार)
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा हिजोदेखि विरोध र समर्थमा चलेको बहसमा अजा बोलेका कांग्रेस नेता तथा सांसद प्रदिप गिरी पृथक देखिएका छन् । उनले सरकारकाे विरोध गरेनन् तर फरक शैलीमा सरकारको प्रशंसा गरे, आलोचना पनि गरे, अनि चुनौती पनि दिए ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दले सिंगो बहस तान्यो । गिरीले पनि आफ्नो सम्बोधन त्यहीँबाट सुरु गरे तर, कांग्रेसले भन्दा फरक मत राखे ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि गम्भीर छलफल नै नभएको हलुका टिप्पणी मात्र भयो भनेर गुनासो गरेको सुनेको भन्दै सांसद गिरीले भने, ‘तपाईहरुलाई प्रधानमन्त्रीको अध्ययनबारे कति थाहा छ तर, जेलमा वर्षौ वर्ष यत्तिकै बिताउनु भएको छैन । उहाँजस्तो सूचना भएको, जानकारी भएको व्यक्ति राजनीतिक जीवनमा कमै देखेको छु ।’
प्रधानमन्त्री ओलीलाई लौह पुरुष गणेशमान सिंहसँग तुलना गर्दै उनले भने, हेर्दाखेरि केही नजानेजस्तो ,नबुझेको र नजानेको केही छैन ।’ तर, भाषामा अविधा, व्यञ्जना र लक्षणा हुने भन्दै ‘मेरो सरकार’बारे स्पष्टीकरण दिँदा विचार पु¥याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
परिवर्तनपछि मुलुकले राष्ट्रपति, प्रधानमन्त्री कस्तो खोजेको छ र उनीहरुको जीवनको समाजवादसँग सम्बन्ध छ कि छैन भन्ने विषय प्रमुख रहेको बताए । ‘अगाडि गाडी पछाडि गाडी, माथि हेलिकोप्टर, तल पानीजहाज, भुइँमा टेक्दै नटेक्ने मन्त्री प्रधानमन्त्रीहरु जसलाई उहाँकै पार्टीका विवेकशील सदस्यहरुले बारम्बार संकेत गरेर भन्दैछन् यो त राजा महाराजा जस्तो भयो भनेर’ गिरीले भने ।
‘मेरो सरकार’को आलोचनालाई यस अर्थमा बुझ्नुपर्ने भन्दै उनले भने, ‘शब्द त्यति खतरनाक छैन तर, शब्दलाई सन्दर्भमा हेर्दा साथीहरुलाई चित्त दुख्छ ।’ उनले त्यसलाई हेरेर संसदमा मतदान नै नगरी कांग्रेसले हालेको संशोधन स्वीकार गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
नेता गिरीले आगामी वर्षलाई वृक्षारोपण वर्ष बनाउने सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरे । ‘आगामी वर्ष वृक्षारोपण वर्ष मनाउने भनिएको छ, यो एकदम राम्रो प्रस्ताव छ, म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु’ उनले भनेका छन् । कांग्रेसले वीपी जयन्तीमा वृक्षारोपण गरेको स्मरण गर्दै उनले सरकारको यो कार्यक्रमलाई अझ ब्यापक बनाउने गरी संशोधन हाल्नुपर्ने धारणा राखे ।
त्यसपछि उनले प्रधानमन्त्रीलाई संसदको रोष्टमबाटै चुनौती समेत दिएका छन् । ‘यो संसदमा मात्र ह्वीप लागू नहुने गरी गोप्य ढंगले थाहा होस् त पानीजहाजको प्रस्ताव कतिलाई मान्य छ रु हेरौं त म’ गिरीले चुनौती दिए ।
पानीजहाज पनि चाहिने तर, त्यसअघि नेपाल एयरलाइन्समा २०/२५ वटा विमान चलाउनुपर्ने उनको जोड छ । ‘२०/२५ वटा जहाज चलाउँ । त्यसपछि रेल बनााउँ अनि पानी जहाज चलाउँला’ उनले भने । अहिले नै पानीजहाजको कुरा गर्नु माक्र्सवादी शैलीमा मनोगत मात्रै हुने भन्दै उनले वस्तुगत कुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले आग्रह गरे ‘त्यसैले हे राष्ट्रपति महोदय, हे प्रधानमन्त्री महोदय, जनताको चाहना हजुरको चाहना हो । मेरो पूर्ण समर्थन छ । तर छिटो होइन अलि ढिलो गरौं । पानीजहाज भन्दा पहिले वृक्षारोपण गरौं ।’
कांग्रेस सांसद गिरीले प्रत्येक दिन सरकार एक कदम अगाडि भन्ने प्रसंग उठाए । ‘यो गम्भीर वक्तव्य हो । प्रत्येक दिन एक कदम त चाल्नैपर्छ, एक कदम पर्याप्त हुन्छ’ भन्दै उनले सरकारलाई सोधे ‘तर कदम कता चालिँदैछ । पूर्वतिर उन्मुख कि पश्चिमतिर ? समाजवाद उन्मुख कि दलालवाद उन्मुख ?
नेता गिरीले सरकारलाई विकासको मोडलबारे पनि विचार गर्न आग्रह गरे । आर्थिक वृद्धिदरलाई मात्र विकास मान्ने मोडल संसारभर असफल भइरहेको भन्दै उनले विकासको नयाँ मोडलबारे सोच्न पनि आग्रह गरे । ‘विकासको अर्को मोडल पनि छ । साधारण पढेको मान्छेले गुगलमा हे¥यो भने पनि थाहा हुन्छ ।’
प्रधानमन्त्रीलाई उनले आग्रह गरे ‘अल्टरनेटिभ डेभलपमेन्टबारे पनि सोच्नुस्, जहाँ वृद्धिदर होइन, रोजगारको बारेमा चिन्ता गरिन्छ ।’
नीति तथा कार्यक्रममा उल्लेख गरिएको ५ लाखलाई रोजगारी दिने विषयको समर्थन गर्दै उनले त्यो काम गरेर देखाएमा विश्वले अनुकरण गर्ने पनि आग्रह गरे ।
५ लाखलाई रोजगारी दिनुस्, १० वर्षपछि विश्वले तपाईको अनुकरण गर्नेछ, अमेरिका र बेलायत छाडिदिनुस्’ उनले भने ‘कुनै समय गौतमुद्ध लोकप्रिय भएजस्तै वर्तमान सरकारका नेता पनि तेस्रो विश्वमा लोकप्रिय हुन्छ ।’
गिरीले नेपालको विकास आर्थिक वृद्धिदरको आधारमा होइन, विदेशमा खटिएका नेपालीलाई फिर्ता ल्याउने सामथ्र्यको आधारमा नापिनुपर्ने बताए ।
नीति तथा कार्यक्रममा विपक्षी दल सबैसँग यति राम्रो सहकार्य र विश्वास भएको वातावरण नै थिएन’ भन्ने वाक्यांशमा सत्तापक्षको दृष्टि नपुगेको गिरीले टिप्पणी गरे । ‘यति नराम्रो सत्तापक्ष र विपक्षीको सम्बन्ध नै थिएन’ उनले भने ‘प्रधानमन्त्री र विपक्षी दलको नेताको कोठा सँगै कोठा राखेको छ, यिनीहरुको भेट भइराखोस् भनेर तर अहिलेको सन्दर्भमा एउटाको बैठक सिहदरबारमा एउटाको यहाँ (नयाँ बानेश्वरमा) राखे हुन्छ । भेट नभएकै जाति छ ।’
नीति तथा कार्यक्रम सच्याउन अधिकारीको माग
छलफलको प्रारम्भमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले नीति तथा कार्यक्रमको बुँदा ३ देखि २१५ सम्म आफ्नो पार्टीले संशोधन हालेको भन्दै सच्याउन सरकार तयार हुनुपर्ने माग गरेका थिए । उनले मौलिक अधिकार कार्यान्वयनमा नीति मौन रहेको उल्लेख गर्दै नीतिले तीन तहका सरकारको अधिकारका सम्बन्धमा स्पष्ट नगरेको धारणा व्यक्त गरे ।
नीतिमा उल्लेखित नदी डाइभर्सनका कार्यक्रममा सम्बन्धित प्रदेशबीच समन्वयका बारेमा नसोचिएको प्रश्न गर्दै सांसद अधिकारीले मुलुकमा सुशासन कायम हुन नसकेको, सुन तस्करी प्रकरण, बालुवाटार जग्गा अतिक्रमण प्रकरण, वाइडबडी काण्डलगायत घट्नामा भएको भ्रष्टाचार अनियमितताका बारेमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्बन्धमा कुन भागको निर्माण पहिला थाल्ने हो जवाफ माग्दै उनले नीतिमा गफ र वास्तविकताबीच ठूलो अन्तर भएको बताए । सांसद अधिकारीले नीति कार्यक्रममा ‘मेरो सरकार’ शब्दावली उल्लेखका सम्बन्धमा राष्ट्रपतिलाई विवादमा तान्ने काम भएको टिप्पणी गरे ।
बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले नीति तथा कार्यक्रममाथि आफ्नो दलको संशोधनका बारेमा जानकारी गराउँदै संविधानको स्वीकार्यता निमित्त संविधानमा संशोधन हुनुपर्ने माग गरे । उनले नीतिमा हिंसा र विखण्डनवाद अन्त्य भएको उल्लेख भए पनि हिंसा र विखण्डनको सम्भावना कायमै रहेको भन्दै यसलाई सम्बोधन गर्न आग्रह गरे। सांसद लालले वर्षेनी तराईमा आउने बाढीबाट जनतालाई राहत दिनका लागि गठन गरिएको प्राधिकरण हाल कहाँ बेपत्ता भयो भनी प्रश्न गरे ।
राजपा नेपालकै रमेशप्रसाद यादवले नीति कार्यक्रममा संविधान सर्वस्वीकार्यता भएको भन्नु विडम्बना भएको उल्लेख गर्र्दै संविधान संशोधन गर्नुपर्ने माग गरे । नीति तथा कार्यक्रममा राष्ट्रियसभामा १० सांसदले छुट्टाछुट्टै तीन संशोधन दर्ता गराएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
असोज १४, २०८१ सोमबार
अवरुद्ध हेटौंडा–भैंसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
असोज १४, २०८१ सोमबार
पाकिस्तानले भन्यो: ‘नेपाललाई सघाउन तत्पर छौं’
असोज १४, २०८१ सोमबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार