नेपाल भ्रमण वर्ष : पर्यटक आगमन २५ प्रतिशतले वृद्धि
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १३:१७:०
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यको सम्मुखमा रहेको मुलुकमा सुदृढ शान्ति सुरक्षा र राजनीतिक स्थायित्यका कारण पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ ।
अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा (स्थलमार्ग हुँदै आएका भारतीय पर्यटकबाहेक) ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या सन् २०१७ को भन्दा २५ प्रतिशतले बढी हो । पछिल्लो समयमा पनि पर्यटकको आगमन राम्रो रहेको सरकारले जनाएको छ ।
पछिल्ला वर्षमा स्थलमार्गभन्दा हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको र समग्र अवस्था सुधारिदो रहेकाले भ्रमण वर्षको लक्ष्य प्राप्त हुनेमा आशा जगाएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा सन् २०१८ मा हवाइमार्ग हुँदै आउने पर्यटक ८२ दशमलव आठ र स्थलमार्गबाट आउने पर्यटक १७ दशमलव दुई प्रतिशत रहेका उल्लेख छ ।
सबैभन्दा बढी भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतबाट पर्यटक नेपाल भित्रिएका छन् । चीन, थाइल्याण्ड र श्रीलङ्बाबाट आउने पर्यटक बढ्दै गएका सर्वेक्षणले देखाएको छ । भारत र चीनबाट आउने हिस्सा तुलनात्मक रूपमा केही कम देखिएपनि आगमन दरमा भने वृद्धि भएको छ ।
पर्यटकको बसाई र खर्च दरमा भने केही कमी आएको छ । सन् २०१७ मा बसाई औसत प्रतिपर्यटक प्रतिदिन १२ दशमलव छ दिन थियो । खर्च प्रतिदिन प्रतिपर्यटक ५४ अमेरिकी डलर थियो तर सन् २०१८ मा औसत बसाई १२ दशमलव चार दिन तथा खर्च ४४ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन क्षेत्रबाट रु ६७ अर्ब नौ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । चालू आवको फागुनसम्म भने रु ४६ अर्ब ५९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।
यसवर्ष स्थलमार्गबाट आएका पर्यटक (भारतबाहेक) सबैभन्दा बढी भैरहवा नाका हुँदै ८३ दशमलव तीन प्रतिशत छ । दोस्रोमा रसुवा नाकाबाट ११ दशमलव नौ प्रतिशत आएका छन् । बिदा, मनोरञ्जन र पर्वतारोहणका लागि आउने पर्यटक दुई तिहाइभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ । भ्रमणमा आउनेमा ६० प्रतिशत पर्यटक मनोरञ्जनका लागि नेपाल आउछन् ।
पदयात्रा तथा पर्वतारोहणका लागि १६ प्रतिशत, तीर्थयात्राका लागि १४ दशमलब चार र अन्य उद्देश्यले नौ दशमलब छ प्रतिशत पर्यटक भित्रिने गरेका छन् । लुम्बिनीमा आन्तरिक पर्यटकको आकर्षण आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने नेपालको प्रमुख गन्तव्यमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनी रहेको सर्वेक्षणले देखाएको छ ।
सन् २०१७ मा १५ लाख ५२ हजार ५८६ पर्यटकले लुम्बिनीको भ्रमण गरेकोमा सन् २०१८ मा दुई प्रतिशतले कमी भए पनि आकर्षण भने राम्रो रहेको जनाइएको छ । लुम्बिनीमा आउने पर्यटकमा ११ लाख ५५ हजार ५४४ आन्तरिक पर्यटक छन् । एक लाख ९२ हजार ४१० भारतीय र एक लाख ६९ हजार १८० अन्य मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
पर्वतारोहणमा पर्यटकको अवस्था
पर्वतारोहणमा समेत पर्यटकको आकर्षण देखिएको छ । सन् २०१८ मा अनुमति लिएका पर्वतारोहण दलको सङ्ख्या २८० र पर्वतारोहीको सङ्ख्या दुई हजार ३३० रहेको आर्थिक सर्वेक्षणमा देखाइएको छ ।
नेपाल पर्वतारोही सङ्घबाट अनुमति लिएकासहित सन् २०१८ मा एक हजार ९१० र पर्वतारोही आठ हजार ६४१ पुगेका छन् । पर्वतारोहणमा छ हजार ५०० मिटर माथिका हिमाल सरकारले र त्यो भन्दा तलका हिमाल सङ्घले रोयल्टी उठाउँदै आएको छ ।
दुवैतर्फ गरेर सन् २०१८ मा रु ५८ करोड १५ लाख रोयल्टी सङ्कलन भएको छ । सबैभन्दा बढी प्रदेश नम्बर १ अन्तर्गतका हिमालबाट मात्रै कूल रोयल्टीको ९० प्रतिशत र गण्डकी प्रदेशबाट नौ प्रतिशत सङ्कलन भएको छ ।
तारे होटल थपिए
एक वर्षमा चार वटा तारे होटल थपिएका छन् । आव २०७४÷७५ मा १२५ तारे होटल रहेकामा २०७५÷७६ को पुस मसान्तसम्ममा १२९ पुगेको छ । अन्य पर्यटकीय होटल, लज तथा रिसोर्ट आव २०७४÷७५ मा ९७७ रहेकामा आव २०७५÷७६ को पुससम्ममा एक हजार १२५ पुगेको छ । यस अवधिमा ३२४ घरबास सञ्चालन भएका छन् ।
तारे होटलको वेड सङ्ख्या गत पुससम्ममा ४४९ ले थपिएको छ । अन्य पर्यटकीय होटलको वेड सङ्ख्या चालू आवको पुससम्ममा २९ हजार १३६ पुगेको छ । क्यासिनो भने एक थपिएर आठ, ट्रेकिङ् एजेन्सी दुई हजार ६४९, ट्राभल एजेन्सी तीन हजार ५०८ र ७२ ¥याफ्टिङ एजेन्सी पुगेको जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार