मुहार फेरिएको कर्णाली स्कूल
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १४:१९:१६
भजनी । टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी ।
विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका छोराछोरी मात्रै विद्यार्थी छन् । नजीकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कूलमा पढ्छन् । स्कूलप्रति कसैको ध्यान छैन ।
दिनभरि मजदूरी गरेर खाने अभिभावकलाई छोराछोरी पढ्ने स्कूलका बारेमा सोच्ने फुर्सद नै छैन । उनीहरुका छोराछोरी पढ्ने स्कूलका बारेमा सोच्ने अरुलाई चासो छैन ।
यो टीकापुर नगरपालिका–१, ब्लक नं ११ स्थित कर्णाली स्कूलको झण्डै दश वर्षअघिको अवस्था हो । अहिले यो स्कूलको अवस्था निकै फेरिएको छ । यसमा विद्यालय व्यवस्थापन समिति र शिक्षकले निकै मेहनत गरेको पाइन्छ ।
विसं २०६६ मा स्थानीय खडक शाहले विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाले। स्कूलमा २५० विद्यार्थी थिए । विद्यालयसँग आम्दानीको स्रोत थिएन ।
बैंक खाता शून्य थियो । यस्तो जटिल अवस्थामा अध्यक्ष शाहले विद्यालय सुधारको अभियान थाले । उनले शिक्षकहरुलाई आफ्नो साथमा लिए र विसं २०६७ मा निमावि तहको स्वीकृति ल्याए । स्कूलले सुधारको दिशा समात्यो । विद्यार्थीको चाप बढ्दै गयो । उनले २०६८ मै मावि तहसम्मको स्वीकृति ल्याए । विसं २०६९ मा स्कूलको प्रधानाध्यापकका रुपमा धर्मराज शर्मा आए । उनले अध्यक्ष शाहको अभियानमा अहिलेसम्म साथ दिँदै आए ।
विसं २०७३ मा विद्यालयमा शिक्षा मन्त्रालयअन्तर्गतको सिभिल इन्जिनियरिङ विषयको पढाइ शुरु भयो । यो विषय कक्षा ९ बाटै पढाइ हुन्छ । पहिलो सत्रका ४१ विद्यार्थी अहिले कक्षा ११ को परीक्षा दिँदैछन् । उनीहरु कक्षा १२ उत्तीर्ण गरेपछि सब¬इञ्जिनीयर हुनेछन् ।
सिभिल इञ्जिनीयरिङमा अध्ययनरत तिनै विपन्न अभिभावकका छोराछोरी छन् । “उनीहरुमध्ये ९० प्रतिशत गरीब छन्”, प्रधानाध्यापक शर्माले भन्नुभयो, “तीमध्ये ७५ प्रतिशत मुक्तकमैया, सुकुम्बासी र दलितका छोराछोरी छन् ।’
गत वर्षदेखि सिटिइभिटीको १८ महिने बाली विज्ञान विषयको समेत पढाइ शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाह यसै विषयको तीन वर्षे कोर्ष ल्याउने प्रयासमा रहेको बताउछन् । उनले विज्ञान विषयको प्लस टुका लागि समेत प्रयास भइरहेको बताए । “विज्ञान विषयको प्लस टु सञ्चालन गर्न खर्चिलो छ”, उनले भने, “आर्थिक स्रोत जुटाउनेबित्तिकै त्यो पनि शुरु गर्छौँ ।”
विद्यालय व्यवस्थापन समिति स्कूललाई बोर्डिङ स्कूलको ढाँचामा अघि बढाउने तयारीमा छ । अध्यक्ष शाहले कक्षा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले बाल विकास र कक्षा १ को बीचमा अर्को कक्षा थप्ने योजना रहेको सुनाउए। उनले अङ्ग्रेजी माध्यमबाट प्रावि तहको शैक्षिक अवस्थालाई मजबुत बनाइने बताए ।
स्कूलमा प्रावि तहको मात्रै दरबन्दी छ । निमाविमा तीन राहत शिक्षक छन् । त्यसभन्दा बाहेकका सबै शिक्षकलाई स्कूलले आफ्नै स्रोतमा राखेको छ ।
स्कूलले सबै शिक्षकलाई सरकारी मापदण्डअनुसार तलब सुविधा दिन्छ । शिक्षकको तलब सुविधामा मात्रै स्कूलले मासिक रु सात लाख खर्च गर्छ । त्यो सबै स्कूलले आफैँ व्यवस्थापन गरेको छ ।
स्कूल विद्यार्थीका हकमा समेत धनी भएको छ । हाल करीब एक हजार दुई सयभन्दा बढी विद्यार्थी छन् । तीमध्ये छात्राको सङ्ख्या झन् धेरै छ । विसं २०६९ को प्रवेशिका परीक्षामा शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
प्रधानाध्यापक शर्माले २०७० सालदेखि शैक्षिक गुणस्तरले तीव्रता पाएको बताए । उनका अनुसार पछिल्ला वर्षमा ३ दशमलव ६ देखि ४ जिपिएसम्म अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुन थालेका छन् ।
“सामुदायिक विद्यालयका हकमा यो अंक निकै धेरै हो”, उहाँले भन्नुभयो, “अझै यो भन्दा राम्रो गर्ने सोचमा छौंँ ।”
स्कूलले अतिरिक्त क्रियाकलापमा समेत प्रगति गरेको छ ।
स्कूलले यस वर्षको उपमेयर कपमा दोस्रो स्थान र स्रोत केन्द्रस्तरीय मावि तहमा पहिलो स्थान हासिल गरेको छ । स्कूलले सामुदायिक विद्यालयस्तरीय प्रतियोगितामा आफ्नो स्थान विजेता वा उपविजेतामा उभ्याउन सफल भइरहेको छ ।
प्रधानाध्यापक शर्मा २०६५ सालमा एक संस्थाले टीकापुर नगरपालिकाका शैक्षिक संस्थाका बारेमा प्रकाशन गरेको स्मारिकामा कर्णाली स्कूलको नाम नभएको अहिले पनि सम्झिछन्। उनी एक शैक्षिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रम सञ्चालकले तपाईँको विद्यालय प्रावि हो कि निमावि हो भनेर सोधेको पनि सम्झिन्छन् । अहिले स्कूलका बारेमा टीकापुरमा मात्रै होइन जिल्लाभर नै चर्चा छ ।
पर्याप्त भौतिक संरचना छ । केही भौतिक संरचना निर्माणका क्रममा छन् । शैक्षिक र खेलकूद सामग्रीको कमी छैन । सुविधासम्पन्न प्रयोगशाला छ । हरेक कक्षाकोठा र परिसरमा सिसी क्यामेरा जडान छ ।
प्रधानाध्यापक शर्माले आफ्नो कार्यकक्षबाटै विद्यालयका गतिविधि हेर्न सक्नुहुन्छ । विद्यालयको सुधारले शिक्षक विद्यार्थी खुशी छन् । तिनै विपन्न परिवारका छोराछोरीसमेत चिटिक्क परेर विद्यालय आउँछन् । विद्यार्थी निकै अनुशासित र शिक्षक जिम्मेवार बनेका छन् ।
“यो सबै टिमले गरेको मेहनतको परिणाम हो”, अध्यक्ष शाहले भने, “हामी स्कूलको विकासका लागि दिनरात खट्न तयार छौंँ भन्ने भावना सबैमा छ ।” विद्यालयको प्रगतिले स्थानीयवासीसमेत निकै खुशी छन् । उनीहरु असल नेतृत्वले खराब कुरालाई समेत असल बनाउन सक्छ भन्ने उदाहरण कर्णाली स्कूल भएको बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार