डा. खतिवडाको भविष्य बामदेवको इच्छामा निर्भर

कुसुम सेञ्चुरी
भदौ १५, २०७७ सोमबार १९:१५:५५

१५ भदौ, काठमाडौं । अबको पाँच दिन भित्र भगवान दाहिना भएनन् भने अर्थमन्त्री डा. युवराज खतिवडा घर बस्नेमा पर्नेछन् । संघीय संसदको सदस्य नरहेका डा. खतिवडालाई राष्ट्रियसभामा रिक्त सांसदका रुपमा प्रधानमन्त्री केपी ओलीले सिफारिश गरेनन् भने उनको बहिर्गमन निश्चित छ ।
यद्यपि प्रधानमन्त्री ओली डा. खतिवडाप्रति सकारात्मक छन्, तर ओलीको एकल निर्णयबाट मात्रै खतिवडाको सांसद पद दोहरिन भने अहिले सहज देखिंदैन । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकुमार नेपाल डा. खतिवडाप्रति त्यति सकारात्मक छैनन् । पार्टीमा कुनै योगदान नरहेका व्यक्तिलाई अर्थमन्त्री जस्तो जनसरोकारको पोर्टफोलियो दिएको भन्दै ओलीइतर खेमाबाटै पनि चर्काे विरोध छ । तर ओलीले भने अहिलेसम्म खतिवडालाई एउटा कार्डका रुपमा प्रयोग गरिरहेका छन् ।
गत फागुनमा नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई रिक्त राष्ट्रियसभामा सिफारिश गर्न ओलीलाई निर्देशन दिएको थियो । तर ओलीले सचिवालयको सो निर्णय कार्यान्वयन नगर्ने बताएका थिए । लगत्तै उनले डा. खतिवडालाई फागुन २१ गते अर्थमन्त्रीमा फेरि दोह¥याएका थिए । नेपालको संविधानले मन्त्री बन्न सांसद बन्नैपर्ने व्यवस्था गरेको छ । त्यसैले डा. खतिवडालाई निरन्तरता दिन भदौ २० अगावै राष्ट्रियसभाको रिक्त स्थानमा सिफारिश गर्नुपर्ने अवस्था छ ।
अब बस्ने सचिवालय बैठकले यसबारे ठोस निर्णय लिने बालुवाटार स्रोतले जनाएको छ । तर नेता नेपाल निकट एक केन्द्रीय सदस्यका अनुसार यस सम्बन्धमा सचिवालयले यसअघि नै बामदेवलाई पठाउने निर्णय गरिसकेको छ । त्यसैले ओलीले सो निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन । तर प्रधानमन्त्री ओलीले हालै एक टेलिभिजन अन्तर्वार्तामा बामदेव गौतमलाई अब प्रतिनिधिसभामा लडाउने निर्णय भएकाले राष्ट्रियसभामा लैजाने भन्ने विषय असान्दर्भिक भइसकेको बताएका छन् । यसबारे बामदेवले भने अहिलेसम्म केही बोलेका छैनन् । त्यसैले यो अन्यौल चिर्नका लागि पनि अबको सचिवालय बैठकसम्म कुर्न ओली निकट स्रोतले सुझाएको छ ।
टेक्नोक्र्याट खतिवडा
डा. खतिवडालाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री ओलीले नै जोडबल गरेका थिए । हरेक दुई वर्षमा एक तिहाई सदस्यको पदावधि समाप्त हुने एकल संक्रमणीय निर्वाचन प्रणाली अन्तर्गत पहिलो पटक गोला प्रथा गर्दा उनी दुई वर्षमै पदमुक्त हुनेमा परे । ओलीले धेरै नै विश्वास गरेका डा. खतिवडा राजनीतिक रुपमा जनता माझ भिजेका व्यक्ति होइनन् । बिशुद्ध टेक्नोक्र्याट भएकाले उनले राजनीतिक प्रवृत्ति र अवधारणा बमोजिम काम गर्न नसकेको गुनासो नेकपाभित्र व्यापक छ ।उनको स्वभाव पनि सबैसँग घुलमिल गर्न नसक्ने खालको छ । ओलीसँगै निकट कतिपय नेताहरुको कुरा पनि उनी सुन्दैनन् । केवल ओलीप्रति मात्रै उनले वफादारी देखाउने गरेका छन् । प्रचण्ड र माधव नेपालसँगसमेत उनको घनिष्ट सम्बन्ध छैन । त्यसैले उनका हकमा ओली मात्र सकारात्मक भएर पुग्ने अवस्था छैन, भगवान नै दाहिना हुनुपर्ने अवस्था छ ।
ओलीको रुची खतिवडा नै
अर्थमन्त्रीका रुपमा ओलीले अहिलेलाई खतिवडा नै रोज्ने संकेत गरेका छन् । अर्थमन्त्रालयमा राम्रो काम गरेको भन्दा अन्तर्राष्ट्रिय जगतसँग डा. खतिवडाको सम्बन्धका कारण पनि ओलीले उनलाई रुचाएका हुन् । साथै, मन्त्रिमण्डलमा ओलीले विश्वास गर्ने थोरै मध्ये डा. खतिवडा पर्छन् । गोकुल बाँस्कोटाको बहिर्गमनपछि ओलीले आँखा चिम्लेर विश्वास गर्नेमा अर्थमन्त्री खतिवडा परेका छन् । त्यसैले पनि ओली खतिवडालाई साथै लिएर जान चाहन्छन् । यसका लागि ओलीले आगामी सचिवालय बैठकमा उनले नेताहरुलाई मनाउने प्रयास गर्ने भएका छन् ।
कुलमानलाई ल्याउन खतिवडाको प्रस्ताव
नेपाल विद्युत् प्राधिकरणबाट यही भदौ २९ गते पदावधि समाप्त हुन लागेका कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न प्रचण्डले ओलीलाई आग्रह गरेका छन् । एक साता अघि नै यस्तो प्रस्ताव लैजान प्रचण्डले उर्जामन्त्री वर्षमान पुनलाई निर्देशन दिएका थिए । तर प्रधानमन्त्री ओलीले अहिले प्रस्ताव नल्याउन भनेपछि रोकिएको छ । ओलीले कुलमानको पुनर्नियुक्तिलाई खतिवडाको विषयमा जोड्न चाहेका छन् । कुलमानको सट्टा डा. खतिवडा भन्ने प्रस्ताव राख्ने पक्षमा छन् ओली । त्यस्तो अवस्था आएमा प्रचण्ड र ओलीबीच दुबैजनालाई निरन्तरता दिने सहमति हुने सम्भावना रहेको स्रोतको भनाई छ ।
बामदेवको चाहना निर्णायक
अर्थमन्त्री डा. खतिवडाको भविष्य बामदेवको चाहनामा निर्भर हुने अवस्था रहेको छ । आगामी सचिवालय बैठकमा बामदेवले आफू राष्ट्रियसभामा जान सहमत भएको बताए भने सबै खेल सकिन्छ – निकट स्रोतको भनाई छ । अहिलेसम्म यसबारे बामदेवले स्पष्ट कुरा राखेका छैनन् । सबै कुरा सचिवालय बैठकमा नै राख्ने मनस्थितिमा उनी रहेको बुझिएको छ ।प्रधानमन्त्री ओलीले भने यसबारे बामदेवसँग कुरा गरेका थिए । तर उनले स्पष्टसँग केही बताएनन् । सचिवालय बैठकमा अरु नेताले जे भन्छन् आफू त्यसैको पक्षमा रहने उनले ओलीलाई बताएका थिए । स्रोतका अनुसार, प्रचण्ड र नेपालले भने बामदेवलाई राष्ट्रियसभामा जान सुझाव दिएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपभारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार