सदनको अवरोध हटाउन मध्यमार्गी विकल्प, सर्वदलीय बैठक आज !
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १३:३२:५
काठमाडौं । सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सारेका छन् ।
नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सभामुख महराको छ ।
दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको उनको भनाइ छ । समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा रहेका सभामुख महराले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सदनबाटै विशेष निर्देशन दिएर घटना छानबिनको प्रक्रिया अगाडि बढाउन सकिने विकल्प अघि सारेका हुन् ।
नयाँ समिति गठनमा दलीय सहमति जुट्न नसकेको विकल्पका रूपमा यस्तो प्रस्ताव आएको हो । बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताए। उनले भने, “दलीय सहमति भएमा तत्कालै समिति गठनमा म तयार छु ।
सहमति नभएमा राज्य व्यवस्था समितिलाई नै विशेष निर्देशनसहित घटना छानबिनको निर्देशन दिन सकिने मैले प्रस्ताव राखेको छु । बिहीबारसम्म केही न केही विषयमा सहमति हुनेमा म आशावादी छु । ”
सभामुख/उपसभामुखको विषय पुनः उठ्यो
सदनमा गतिरोध लम्बिँदै जाँदा विपक्षी दलहरूले नयाँ नयाँ ‘एजेन्डा’ थप गरेका छन् । बुधबारदेखि विपक्षी दलले सभामुख वा उपसभामुखमध्ये एक फरक दलको हुनुपर्ने धारणालाई पुनः उठाएको छ ।
यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि केही समय विषय उठान भए पनि सर्वोच्चमा रिट दायर भएपछि विषयान्तर भएको थियो । लामो समयपछि विपक्षी दलले उक्त एजेन्डा पुनः उठाएको हो ।
विपक्षीले उक्त एजेन्डा उठाएपछि सभामुख महराले रुलिङ नै गरेका थिए। अदालतमा विचाराधीन विषयलाई सदनको विषय नबनाउन सभामुखको रुलिङ थियो ।
रुलिङपछि सदन अवरुद्ध गरिरहेका दलले उक्त विषयमा नाराबाजी बन्द गरेका थिए । विचाराधीन विषय भएकाले उक्त विषयमा अदालतको फैसला कुर्नुको विकल्प नभएको महराको भनाइ छ । “यो विषयमा जो कोहीले पनि सदनमा टिप्पणी गर्नु उचित हैन । मैले पनि टिप्पणी गर्न मिल्दैन । अदालतको फैसला कुर्नुको विकल्प छैन”, उनले भने ।
विपक्ष दलले भने अदालतको आडमा गैरसंवैधानिक काम भइरहेको आरोप लगाएको छ । विपक्षी दल नेपाली का+ग्रेसकी सांसद डिला सङ्ग्रौलाले गैरसंवैधानिक काम भइरहेकाले पुनः विषय उठान गरिएको बताए ।
उनले भने, “हामीले पहिले पनि विषय उठान गरेका हौँ । मुद्दाको नाममा अलमल्याउने काम भयो । मुद्दा लम्ब्याएर गैरसंवैधानिक काम भइरहेको छ । अब नारा लाग्न छाड्दैन । ’’
सर्वदलीय बैठक आज
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन्। सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकअघि छलफल गर्ने समय तय भएको सभामुख महराले जानकारी दिए ।
अवरोध जारी
यसैबीच सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले बुधबार पनि सदनको अवरोध कायमै राखेका छन् । प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ ।
पौडेलको मृत्यु मुठभेडमा नभई हत्या भएको काँग्रेसको दाबी छ । गृहमन्त्री थापाले भने दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको सदनमा जानकारी दिए । गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेसले अवरोध जारी राखेको हो । गोरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार