ओली र नेपालको ‘हन्बेर्नो’ अर्थात प्रचण्ड
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार २०:३४:३४
११ भदौ, काठमाडौं । नेपालको राजनीतिक इतिहासमा खड्गप्रसाद ओलीले साँच्चै नयाँ इतिहास रचेका छन् । आधुनिक नेपालका सर्वशक्तिमान प्रधानमन्त्री समेत रहेका ओली नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत हुन् । अहिले ओली बिरामी छन् । हुन त आफू विरामी भएको उनी मान्दैनन् ।
केही समय अघि आफूलाई भेट्न भनी झापाबाट आएका कार्यकर्तालाई उनी भन्दै थिए :– “बिरामी परेको भनेर हेर्न आउनु भएको त हैन नि ?” ओली अहिले तन्दुरुस्त भएको स्पष्टोक्ति दिंदै थिए । “१५ वर्ष अघि चाहिं म बिरामी परेको हो, अहिले त फलो अपका लागि मात्रै सिंगापुर गएको हुँ” उनले भनेका थिए ।
यसको ठीक दुई सातापछि ओली फेरि थप उपचारका लागि भन्दै सिंगापुर जाने खबर फैलियो । नभन्दै उनी साँच्चै नै सिंगापुर जाने तयारी भएको रहेछ । ओली आफैंले त्यसको पुष्टी गरे । संसद् वैठकमा होस् वा पार्टी सचिवालको वैठकमा ओलीले थप उपचारका लागि जान लागेको बताए । गएको विहिबार उनी उपचारका लागि सिंगापुर उडे ।
त्यसपछि उनको प्रत्यारोपित मृगौलाको थप उपचार सुरु भएको छ । संभवतः उनको उपचार एक महिना अवधिसम्म लम्बिने छ । त्यसैले अहिले सम्पूर्ण देशवासीले उनको स्वास्थ लाभको कामना गर्नु श्रेयष्कर हुने छ । तर ओली सबैको शुभकामना ग्रहण गर्न रुचाउँदैनन् । आफ्ना अन्धसमर्थकले दिएकोे शुभकामना उनका लागि स्वीकार्य छ । तर विरोधीले दिए भने अस्वीकार गरिदिने गरेका छन् ।
सिंगापुर उड्नुअघि बालुवाटारस्थित उनको सरकारी निवासमा बसेको पार्टी सचिवालय बैठकमा नेता माधवकुमार नेपालले दिएको शुभकामना ओलीले स्वीकारेनन् । त्यसपछि विरोधी खेमाका नेता उनलाई शुभकामना दिनसमेत डराउन थालेका छन् । ओलीले जे भने पनि उनी मुलुकको कार्यकारी प्रमुख हुन् । सम्पूर्ण देशवासीले दिने शुभकामना उनका लागि संजीवनी बुटी बनोस्, शुभकामना छ ।
दुखको कुरा नेपालको स्वास्थ क्षेत्र प्रधानमन्त्रीको स्वास्थ परिक्षण समेत गर्न नसक्ने अवस्थाको देखियो । भन्नलाई नेपाल हेल्थ हबका रुपमा रहेको डिङ हाँक्ने गरिन्छ । विदेशबाट समेत उपचारका लागि नेपाल आउने गरेको स्वास्थ मन्त्रीको दावी छ । तर देशको कार्यकारी प्रमुखको सामान्य उपचारसमेत विदेश लगेर गर्नु परेको छ । अनि विदेशी भूमिबाटै हाम्रा प्रधानमन्त्री शासन चलाउन हौसिएका छन् । कुनै बेला क्युबाका राष्ट्रपति फिडेल क्राष्टो पनि अस्पतालको शैय्याबाटै मुलुक चलाउँथे ।
बिरामी पर्दा पनि उनी कसैलाई विश्वास गर्दैन थिए । त्यसैले मृत्युपर्यन्त फिडेल क्राष्टोले यसैगरी चलाए । क्राष्टोकै सिको गरेर आज केपी ओली पनि नेपालको राज्य संयन्त्र सञ्चालन गरिरहेका छन् । अस्ति भर्खरै उनले प्रविधि प्रयोगको नाममा भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदको वैठक गरे । यसले देशको सुरक्षा र गोपनीयताको खिल्ली उडाउने काम गरेको भन्दै सर्वत्र विरोध भयो ।
पार्टी कब्जा गर्ने ओलीको दाउ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओलीको उक्त कामको संसद्मै विरोध ग¥यो । ओलीकै पार्टीका वरिष्ठ नेताहरु पनि गलत अभ्यास भन्दै आलोचना गर्न पछि परेनन् । स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले भिडियो कन्फरेन्समार्फत गरिएको मन्त्रिपरिषद बैठकको कडा शब्दमा विरोध गरेका छन् ।
ओली युग सुरु भएपछि देशले ठूलो फड्को मार्ने आम अपेक्षा थियो । संसद्मा दुई तिहाई मतका साथ उनको नेतृत्वमा सरकार बनेको अवस्था छ । स्वभाविक रुपमा जनअपेक्षा चुलिएको छ । तर ओली प्रधानमन्त्री भएपछि देशले उल्टो दिशा लिएको छ । अग्रगामी निर्णय उनले लिन सकेका छैनन् । देशलाई नयाँ गति दिने कुनै योजना र कार्यक्रम ओलीसँग देखिएन । सबैतिर निराशा छ ।
पार्टी भित्र पनि उनी निरंकुश र स्वेच्छाचारी रुपमा प्रस्तुत हुने गरेका छन् । माओवादी पक्षसँग एकीकरण गर्दा पुष्पकमल दाहाल प्रचण्डलाई समान हैसियतको कार्यकारी अध्यक्ष बनाउने बचन उनले दिएका थिए । तर विगत डेढ वर्ष यता कुनै पनि पार्टी बैठकमा प्रचण्डको हैसियत कार्यकारी अध्यक्षका रुपमा देखिएन । बरु ओलीको पुच्छरका रुपमा उनी तमासे मात्र बनेर बसे । यसमा प्रचण्डको आफ्नै वाध्यता थियो र अहिले पनि छ ।
दुई वर्ष अघि प्रचण्ड नेपाली कांग्रेससँग सहकार्य गर्दै थिए । कांग्रेस सभापति शेरबहादुर देउवासँग उनको आन्द्रो गाँसिएको थियो । त्यसैको बलमा उनको पार्टी सत्तामा पनि थियो, साथै स्थानीय चुनावमा छोरीलाई भरतपुरमा मेयर समेत बनाए । यसैबीच प्रचण्डलाई अष्ट्रेलियामा रहेको शुभेच्छुक संस्थाले आमन्त्रण ग¥यो । जाने तयारी गरियो ।
तर बीचैमा उनलाई जानकारी आयो :– अष्ट्रेलियामा प्रचण्डलाई नरसंहार गरेको आरोपमा पक्राउ गर्न तत्कालिन एमालेले पहल गरेको छ । सुशील प्याकुरेलले यसको नेतृत्व गरेको खबर प्रचण्डले पाए । खबर उडन्ते नभै वास्तविक भएको उनको सूत्रले बुझ्यो । त्यसपछि प्रचण्डको मनस्थिति नै खल्बलियो । वाध्य भएर उनी एमालेसँग एकीकरण नगरे कुनै पनि बेला अन्तराष्ट्रिय अदालतमा बन्दीका रुपमा हेग पु¥याइन सक्ने बुझेर झुक्न पुगे ।
एमालेसँग एकीकरण गर्दा ओलीले आधा अवधि अर्थात साढे दुई वर्ष प्रधानमन्त्री बनाइ दिने आश्वासन समेत दिएका थिए । त्यही लोभमा फसेर पार्टी एकीकरण त गरे । तर व्यावहार भने कम्तियाको पाएका छन् । कम्तिया अर्थात काम गर्ने मानिसको हैसियतमा राखेकै बेला पूर्व एमालेका नेताहरुबीच चर्काचर्की पर्न थालेपछि प्रचण्ड फेरि बौरिएका छन् । अहिले ओली र नेपालको हैसियत निर्धारण गर्न सक्ने ल्याकतमा प्रचण्ड पुगेका छन् ।
प्रचण्डको बाध्यता कि निरिहता ?
त्यसैले गर्दा ओली सिंगापुर जानु अघि पहिलो पटक प्रचण्डलाई कार्यकारी हैसियतको अध्यक्षता गर्न अधिकार सुम्पिएका छन् । प्रचण्ड पनि हौसिएका छन् । फेरि अबको लगभग एक वर्षपछि प्रधानमन्त्रीको कुर्सी पाउने आशा पनि कायमै छ । तर ओलीको विगत हेर्दा धेरै पटक धोका खाएकाले पत्याइ हाल्ने अवस्था भने बनेको छैन । तर ओली र नेपालको हन्बेर्नाे भने प्रचण्ड पक्कै बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
सरकारले बढायो सगरमाथा आरोहण रोयल्टी, १५ हजार डलर पुग्यो
माघ ८, २०८१ मंगलबार