सत्तारुढ नेकपाको चियापान : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाललाई पोख्रेलको जवाफ
नेपालबहस संवाददाता
असोज २९, २०७६ बिहिबार १:२६:१९
२९ असोज, काठमाडौं । तामझामका साथ भृकुटीमण्डपमा आयोजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रम वादविवाद प्रतियोगिता झैँ सम्पन्न भएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उपस्थित नेताहरुले वादविवाद प्रतियोगितामा पक्ष र विपक्षमा बोल्ने वक्ताहरुले झैँ बोलेपछि कार्यक्रमको सान्दर्भिकता नै ओझेलमा परेको थियो ।
पूर्वएमाले निकट नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको उक्त चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध भएर समोसा, निम्की, केरा, लड्डू लगायतका खानेकुराहरु खाइरहेको देखिन्थ्यो । निम्तालुहरुलाई नेकपाका शीर्ष नेताहरूले स्वागत गरेका थिए ।
कार्यक्रमको व्यवस्थापनका लागि नेकपाका कार्यकर्ता एवंम् आवश्यक स्वयंसेवकको बाक्लो परिचालन भएको थियो । चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको देखिन्थ्यो । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले बाजागाजा र प्रस्तुति दिइरहेका थिए ।
करिब १२ः३० चहलपहल सुरु भएको चियापान साँझसम्म चलेको थियो । नेकपाले पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई ३ बजेसम्म र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरेको थियो ।
मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ । चियापान कार्यक्रममा एक लाख बढीको सहभागिता हुने भनिएपनि सो बराबरको उपस्थिति नदेखिएको एक नेताले जनाए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइएको थियो ।
आफ्नै प्रशंसामा प्रधानमन्त्री ओली
समारोहमा उपस्थित प्रधानमन्त्री खड्गप्रसाद ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ–नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको उल्लेख गरे । कार्यक्रममा सम्बोधन गर्दै उनले भने :– ‘हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरूको आफ्नो स्वार्थ होला, तिनीहरूले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन् । उनले भने, “जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन् ।”
सी र मोदीको सम्झना गर्दै ‘प्रचण्ड’
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताए । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे ।
दाहालले भने, “टु प्लस वान भनेर राष्ट्रपति सी र नरेन्द्र मोदीका बीचमा पनि छलफल अगाडि बढेर एउटा नयाँ परिस्थिति बन्न थालेको छ, उहाँको भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ ।”
चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे ।
अध्यक्ष दाहालले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गर्र्दै यो भ्रमणको धेरै आयाम छन्, त्यसको नयाँ महत्वपूर्ण पक्ष राष्ट्रपति सी चिनफिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी नेपालमा आएर जुन सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको छ, त्यो महत्वपूर्ण भएको बताए । यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उनको भनाइ थियो ।
नेपाली समाजको विशेषतालाई ध्यानमा राख्न नेपालको आग्रह
नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताए । उनले मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासले समग्र देशको विकासमा प्रभाव पार्ने हुँदा यसको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले जलविद्युत् क्षेत्रको विकासमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै प्राकृतिक सौन्दर्य, पर्वतारोहणका क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटनको अभिवृद्धि गर्न सकिने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेकाले धार्मिक सम्पदाको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन गर्न नहुने बताएका छन् । मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’
जनअपेक्षाअनुसार सरकार नचलेको नेता खनालको आरोप
वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार सरकारले कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन नसकेको कुरालाई उठाएका थिए । खनालले भने, “जुन लोकप्रिय र प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन ।” तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनःगठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए । सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो ।
नेपाल र खनाललाई पोख्रेलको जवाफ
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताए । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले बोलेको कुरालाई लक्षित गर्दै मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । पत्रकारसँग कुरा गर्दै उनले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जनाए । उनले भने, “तर यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो ।” उनले दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने उल्लेख गरे ।
शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा
नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले चाडवाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेताहरुलाई नजिक ल्याउन मद्दत गर्ने बताए । भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । पत्रकारसँग संक्षिप्तमा कुरा गर्दै सभापति देउवाले विपी कोइरालाबाट शुरु गरेको कार्यक्रम अहिले सबै पार्टीहरुले आयोजना गर्ने गरेको स्मरण गर्दै चाडवाडमा हुने यस्ता कार्यक्रमले भेटघाटकोे अवसर मिल्ने उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार