नेपाल पर्यटक वृद्धिदरमा एसिया प्रशान्त क्षेत्रमै पहिलो !
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १४:१५:४७
३० असोज, काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ ।प्यासिफिक एसिया ट्राभल एसोसिएसन ‘पाटा’ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।
पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ ।
पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो ।
प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । १० लाख पर्यटक भित्रिने वर्षौंको लक्ष्य नेपालले सोही वर्ष पूरा गरेको थियो ।
सन् २०१७ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या नौ लाख ४० हजार थियो । त्यस्तै सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ । सन् २०१६ र २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो ।
नेपालले लगातार दुई वर्ष पर्यटक आगमनमा करिब २५ प्रतिशतकै वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०१९ को अगस्टसम्म सात लाख ४२ हजार छ सय पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ । नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भित्राउने तयारी गरेको छ । यसका लागि छुट्टै सचिवालय नै स्थापना गरेर तयारीको प्रक्रिया अगाडि बढाइएको छ ।
भ्रमण वर्ष नै लक्षित गरेर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई तीव्र पारिएको छ । सरकारले २० लाख पर्यटक भित्राउने सामाजिक सञ्जालमा आधिकारिक लोगो प्रयोगदेखि विदेशमा रहेका नेपालीलाई त्यहाँका पर्यटक नेपाल पठाउने पहल गर्नसमेत आग्रह गरेको छ ।
पाटाको प्रतिवेदनमा उल्लिखित वृद्धिदरले नेपालको पर्यटन क्षेत्रमा केही न केही राम्रो भएको छ भन्ने सन्देश दिएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश बुडाल बताउछन्। भूकम्पपछि निकै कमजोर स्थितिमा रहेको नेपालको पर्यटन क्षेत्रको पछिल्ला वर्षको वृद्धिदरले सन् २०२० मा २० लाख पर्यटक भित्राउने सम्भव छ भन्ने अनुमान गर्न सकिने उनको भनाइ छ ।
“हाम्रो होटलको क्षमता हेरेर पर्यटक आगमनको सङ्ख्या दङ्गै पर्नुपर्ने स्थितिमा त होइन,” उनले भने, “यद्यपि यो वृद्धिदरले नेपालबारे विश्वमै सकारात्मक सन्देश भने दिनसक्छ ।” पाटाकै प्रतिवेदनअनुसार पर्यटक सङ्ख्यामा वृद्धिको हिसाबले मात्रै चीन अगाडि रहेको छ । चीनमा सन् २०१८ मा ७७ लाख बढी नयाँ पर्यटकले भ्रमण गरेका छन् ।
त्यसपछि टर्की, हङकङ, मकाउ र थाइल्यान्ड क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । सन् १९५१ मा स्थापना भएको पाटा एसिया प्रशान्त क्षेत्रको पर्यटन विकास र संरक्षणमा सक्रिय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार