यस वर्षकाे छठपूजा समापन
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार १५:२२:८
१७ कार्तिक, काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई यस वर्षको चार दिन लामो छठपर्व समापन भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो ।
उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।
गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली सिङ्गारेर छठघाट बनाइएको थियो । यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिङ्गारिएको थियो । यी छठघाटमा लाखौँ भक्तजनले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामा सूर्य उपापना पर्व अन्त्य गरेको छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष रामबाबु महासेठले जानकारी दिएका छन् ।
जनकपुरमा पनि उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न
आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले जनकपुरमा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुहरू त्यहाँको इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो ।
छठपर्वको अवसरमा स्थानीय बिदा
सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।
नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको छ । तर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।
स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिएका छन् । जिल्लाको सदरमुकाम परासीस्थित झरही नदी किनारलगायत जिल्लाका सातै स्थानीय तहमा रहेका नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अर्घ्य दिएर छठपर्व मनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि यःमरी उत्सव गरिने
मंसिर २३, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार